गगन थापाले ‘प्रधानमन्त्री बन्छु’ भनेर हिँड्दा पार्टीको पक्षमा माहोल बन्दैन- कांग्रेस प्रवक्ता महत

म यसको नेतृत्वमा जान चाहन्छु भन्ने जसलाई लाग्छ उहाँले (गगन थापाले) त्यहाँ प्रधानमन्त्रीमा उम्मेदवारी दिन पाइहाल्नु हुन्छ नि। त्यसकारण अहिले त्यसका बारेमा बाजा बजाएर हिँड्नुपर्ने कुनै आवश्यकता ठान्दिनँ। त्यसले कुनै पार्टीको पक्षमा माहोल बन्ने र पार्टीको हित हुने मैले देख्दिनँ।

नेपालभ्युज

गगन थापाले ‘प्रधानमन्त्री बन्छु’ भनेर हिँड्दा पार्टीको पक्षमा माहोल बन्दैन- कांग्रेस प्रवक्ता महत

निर्वाचनको मौन अवधि सुरु हुन केही दिन मात्र बाँकी छ । मौन अवधिमा चुनावी प्रचार गर्न नपाइने भएकाले उम्मेदवारहरू मतदाता भेटघाटको चटारोमा छन् । उम्मेदवारहरू नजिता आ–आफ्नो पक्षमा पार्न प्रचार-प्रसार अभियानलाई तीव्रता दिइरहेका छन् ।

अघिल्लो चुनावमा माओवादीसँग बाम गठबन्धन गरेको एमालेले धेरै स्थानमा जितेको थियो। वाम गठबन्धनकै कारण कांग्रेसले धेरै स्थानमा नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएन। तर, यसपटक भने एमाले विरासत जोगाउने र कांग्रेस एमालेको विरासत भत्काउने दाउमा लागेका छन्। काग्रेसले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमोर्चासँग गठबन्धन गरेको छ। उता एमालेले भने जनता समाजवादी पार्टी (जसपा) र राप्रपा, राप्रपा नेपाललगायतका केही साना शक्तिसँग तालमेल गरेको छ।

दलहरूबीचको आ-आफ्नो दाबीका बीच कांग्रेस प्रवक्ता डा . प्रकाश शरण महतसँग गरिएको कुराकानी।

प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार नभएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सबैले भोट दिने अवस्था कस्तो छ ? समानुपातिकमा मत हाल्ने कुरामा पनि मतदाता दोधारमा छन्, निर्वाचन परिचालनमा कसरी काम भइरहेको छ?

१६५ प्रत्यक्ष निर्वाचन क्षेत्रको प्रतिनिधि सभातर्फमा ९१ ठाउँमा हामी लडेका छौँ। त्यस्तै प्रदेश सभामा पनि त्यही अनुपातको अवस्था छ।

समग्रमा हेर्दा हाम्रो उम्मेदवार नै नभएको, कहीँ प्रतिनिधि सभामा नभएको, तल दुईवटैमा नभएको, कहीँ माथि नभएको प्रदेश सभामा पनि एउटा नभएको गर्दा ६१ ठाउँमा हाम्रो उम्मेदवार छैन। त्यसो हुनाले निर्वाचन प्रक्रियामा सामान्यतया के हुने गर्थ्यो भने प्रत्यक्ष उम्मेदवारले नै त्यो मतदाताहरूलाई परिचालन गरेर मतदान केन्द्रमा पुर्‍याउँथ्यो।

त्यहाँ उम्मेदवार नभएको हुनाले पार्टीले केन्द्रीय प्रतिनिधि खटाएको छ। त्यहाँको सम्पूर्ण पार्टी पङ्क्तिलाई परिचालन गर्ने। किनकि, समानुपातिकमा त रूखमै मतदान गर्ने हो। प्रतिनिधिसभामा पनि रूखमै मतदान गर्ने हो। ३३० नै प्रदेश सभामा पनि रुखमै मतदान गर्ने हो। ४० प्रतिशत सिट समानुपातिकबाट चुनिन्छ।

समग्ररूपमा केन्द्रबाट आह्वान गरेका छौँ। समानुपातिकतर्फ १६५ नै प्रतिनिधि सभामा, ३३० नै प्रदेश सभामा रूखमै मतदान गर्ने हो। त्यसमा कुनै गठबन्धन छैन। प्रत्यक्ष तर्फ मात्रै गठबन्धन हो। यिनै कुराहरू बुझाइरहेका छौँ।

मतदाताले आफ्नो उम्मेदवार नभएको ठाउँमा भोट लिने, दिने गर्न गाह्रो छ, यसमा अझै पनि जोडबल पुगिरहेको छैन भन्ने रिपोर्टिङ छ, त्यस्तो ठाउँमा नेतृत्वले के गरिरहेको छ ?

मूल समस्या भनेको मतदान केन्द्रमा गइसकेपछि एक-अर्कालाई भोट हाल्दैनन् भन्ने भन्दा पनि आफ्नो पार्टीको उम्मेदवार नभएको ठाउँमा मतदान केन्द्रमा मतदातालाई पुर्‍याउने चुनौतीपूर्ण काम हो। पार्टीको संयन्त्र लगाएर त्यो चुनौतीलाई सामना गर्छौँ भन्ने हामीलाई विश्वास छ।

ल ठीक छ हाम्रो दलको उम्मेदवार छैन, तर विपक्षी ओलीजीको नेतृत्वको उम्मेदवारलाई दिनुभन्दा या विभिन्न रूप, रङ्गमा त्यही प्रवृत्तिलाई सहयोग गर्ने, स्वतन्त्रका रंग, अनेक रंग, रूपमा प्रकट भएका छन्।

प्रवृत्ति एउटै हो। तिनीहरूलाई दिनुभन्दा त हाम्रो पार्टीको सहयोगी गठबन्धनको उम्मेदवारहरूलाई दिनु हामी सबैको लागि कल्याण हुन्छ भन्ने कुरा बुझाउन गाह्रो हुन्न।

केही निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी कायम नै रह्यो, अहिले नेतृत्वले ती उम्मेदवारका विषयमा के सोचिरहेको छ ? कारबाहीले मात्रै केही नहुने भयो भोट काटिने भएपछि ?

अधिकांश ठाउँमा उहाँहरूले फिर्ता लिनुभयो। उहाँहरूलाई हामीले चित्त बुझाउन, व्यवस्थापन गर्न सफल भयौँ। बाँकी जुन ठाउँमा विद्रोह कायम रह्यो त्यहाँ कारबाहीको प्रक्रिया अगाडि बढेर निलम्बन, निष्कासन भइसकेको अवस्था छ।

उनीहरू पार्टीमा नरहिसकेपछि पार्टीका समर्थक, शुभचिन्तक, मतदाताहरूले त्यही रूपमा उनीहरूले हेर्दैनन्। त्यस कारण उहाँहरूले क्षति गराउने सम्भावना अत्यन्त न्यून भएर जान्छ। कत्ति पनि हुँदैन भन्ने त कुरो भएन। केही थोरै त अवश्य पनि हुन्छ। अरू दलमा पनि त्यस्तो हुन्छ।

कांग्रेसले यो निर्वाचनबाट कति सङ्ख्यामा विजय प्राप्त गर्छ ?

समग्रमा हामी सु–स्पष्ट बहुमत प्रतिनिधि सभामा पनि ल्याउँछौँ, समानुपातिक र प्रत्यक्ष जोडेर र प्रदेश सभाहरूमा पनि सात वटै प्रदेशहरूमा हामी सु–स्पष्ट बहुमत ल्याउँछौँ।

सरकार गठबन्धनकै बन्छ भने प्रधानमन्त्री को हुन्छ भन्ने ठूलो चासो छ, तपाईंहरूको पार्टी सभापति नै हो कि ? गठबन्धन दलका अन्य शीर्ष नेताहरूले इच्छा व्यक्त गरेको सुनिन्छ, अझ पार्टी भित्रका केही युवा नेताले आफूलाई तयार गरेको समाचार आइरहेको छ, तपाईँहरूको बुझाइ र तयारी के हो ?

१६५ सिटमा ९१ सिट कांग्रेसले लडेको छ। बाँकी ४ दलले ७४ सिट लडेको छ। त्यसबाट नै नेतृत्वदायी भूमिका नेपाली कांग्रेसकै हो भन्ने स्वाभाविक नै छ। कांग्रेसको स्वाभाविक नेतृत्व वर्तमान प्रधानमन्त्री र कांग्रेस सभापति देउवाजी नै हुनुहुन्छ भन्ने पनि स्पष्ट छ। अस्ति प्रचण्डजीले नै भन्नुभयो नि कि नेतृत्वको समस्या नै छैन हाम्रो बीचमा।

मेरो पनि इच्छा होला तर शेरबहादुरजीले यो कारणले यसो गरौँ भनेपछि मैले नाइँ गर्दिनँ। खालि यसलाई औपचारिक रूपमा घोषणा हुने कि नहुने, गर्ने कि नगर्ने भन्ने कुरा मात्रै हो। तर, स्वाभाविक नेतृत्व नेपाली कांग्रेसको। र स्वाभाविक नेपाली कांग्रेसको नेतृत्व शेरबहादुरजीको हो।

गगन थापालगायतका नेताहरूले दिएको अभिव्यक्तिकै कुरा गरौँ, प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्ने कुरा होस् चाहे संसदीय दलमा म लड्छु भनेर बाहिर आएका कुराहरू, त्यस्ता कुराहरूले निर्वाचन अघि केही न केही महत्त्व राख्छन् यसलाई कसरी लिनुभएको छ ? 

संसदीय प्रक्रिया छ। त्यहाँ जो कोहीलाई पनि जसलाई म यो हुन चाहन्छु, म यसको नेतृत्वमा जान चाहन्छु भन्ने जसलाई लाग्छ उहाँले (गगन थापाले) त्यहाँ प्रधानमन्त्रीमा उम्मेदवारी दिन पाइहाल्नु हुन्छ नि।

त्यसकारण अहिले त्यसका बारेमा बाजा बजाएर हिँड्नुपर्ने कुनै आवश्यकता ठान्दिनँ। त्यसले कुनै पार्टीको पक्षमा माहोल बन्ने र पार्टीको हित हुने मैले देख्दिनँ।

त्यस कारण मैले के बुझ्न सकेको छैन भने यो कुरो भनिरहनुपर्ने आवश्यकता के कारणले परेको छ ? स्वयम् पार्टीको नेतृत्व गरिरहनुभएको सभापति अहिले प्रधानमन्त्री पनि हुनुहुन्छ। उहाँले भनिरहनुभएको छ। भनिसकेपछि अरुलाई होइन म हुन्छु, म हुन्छु भनिरहनुपर्ने आवश्यकता किन पर्‍यो त्यो मलाई थाहा छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved