ती १० किताब जसले मेरो जीवनमा नयाँ मोड ल्याए

राज्य, समाज र अर्थतन्त्रका विभिन्न पाटा पक्षलाई बुझ्न गैरआख्यान लेखन र पठनको आफ्नै क्षमता र परम्परा हुनुपर्दछ । यहाँ म त्यस्ता १० किताबको चर्चा गर्दै छु– जसले मेरो वैचारिक तथा बौद्धिक विकासक्रममा धेरै ठूलो असर पारेका थिए ।

ती १० किताब जसले मेरो जीवनमा नयाँ मोड ल्याए

काठमाडौं । ‘किताब’ त धेरैखाले हुन्छन् तर, यहाँ ‘गैरआख्यान’लाई भन्न खोजिएको हो । ती पुस्तकको चर्चा गर्न खोजिएको हो, जो दर्शन, इतिहास, अर्थशास्त्र, समाजशास्त्र, राजनीतिआदि विषयमा गरिएका खोज, अनुसन्धान र तर्क प्रणालीमा आधारित हुुन्छन्।
यस्ता किताबले मान्छेको बौद्धिक, वैचारिक विकासक्रममा ठूलो अर्थ र महत्त्व राख्दछ। मान्छेको चिन्तन प्रणालीलाई प्रभावित र आकारित गर्दछ। कतिपय देशमा ती राज्य र समाजको चिन्तन प्रणालीलाई नै बदल्ने आधार बन्दछन्।

विश्वका अन्य देशको तुलनामा हामीकहाँ ‘गैरआख्यान’ लेखन र पठन संस्कृति निकै कमजोर छ । विश्व विद्यालयका कोर्स बुकलाई छोड्ने हो भने गैरआख्यान ‘बेस्ट–सेलर’ असाध्यै सीमित छन् । डा. हर्क गुरुङ, डा. राजेश गौतम, डा. चैतन्य मिश्रजस्ता औलामा गन्न सकिने लेखक देखिन्छन् ।

अरू देशमा कतिपय राजनीतिज्ञले समेत यस्ता गैरआख्यान लेख्ने गर्दछन् । नेपालमा भने त्यस्ता राजनीतिज्ञ पनि सीमित छन् । यसले हाम्रो बौद्धिक, वैचारिक रुचि, लगाव र क्षमतास्तर कमजोर छ भन्ने देखाउँछ । राज्य, समाज र अर्थतन्त्रका विभिन्न पाटा पक्षलाई बुझन् गैरआख्यान लेखन र पठनको आफ्नै क्षमता र परम्परा हुनुपर्दछ । यहाँ म त्यस्ता १० किताबको चर्चा गर्दै छु– जसले मेरो वैचारिक तथा बौद्धिक विकासक्रममा धेरै ठूलो असर पारेका थिए ।

१. राज्य र क्रान्ति 

यो किताब रुसी अक्टोबर क्रान्तिका नेता भ्लादिमिर इल्युच लेनिनको हो । लेनिनको पहिलो रचना ‘गाउँका गरिबहरूलाई’ पढेको थिएँ । पछि संकलित रचनाका सबै भाग खोजेर पढेँ । लेनिनका प्रत्येक निबन्ध कुनै खास विषयका राजनीतिक ‘थेसिस’ जस्ता छन् ।
त्यसमा भाषिक प्रवाह र तर्क प्रणालीको तीव्रता र संगति हुन्छ। प्रत्येक ‘थेसिस’ ले निश्चित दृष्टिकोणलाई अघि सार्दछन् ।

लेनिनीय दृष्टिकोणलाई बुझ्न अर्थशास्त्रमा ‘रुसमा पुँजीवादको विकास’, पार्टी निर्माणबारे ‘एक पाइला अघि, दुई पाइलापछि’, संघवादबारे ‘उत्पीडित राष्ट्रियताहरूको मुक्तिको सवाल’ निकै गतिला छन् । मलाई मनैदेखि हल्लाउने उनको पुस्तिका भने ‘राज्य र क्रान्ति’ हो ।

यो पुस्तिकामा उनी राज्यमा क्रान्तिको अपरिहार्यतालाई जोडदार ढंगले प्रस्तुत गर्दछन्। साथै, क्रान्तिको प्रक्रिया विस्तारै कसरी साम्यवादसम्म पुग्दछ भन्ने प्रष्ट पार्न खोज्दछन् । यसमा उनी वर्गविहीन, राज्यविहीन, मुनाफाविहीन समाजको परिकल्पनाको पक्षपोषण गर्दछन् र त्यो व्यावहारिक रुपमा नै सम्भव छ भन्ने तर्क गर्दछन् । लेनिनको यो तर्क प्रणालीमा आज म विश्वास गर्दिनँ । तर, पुस्तिका भने निकै बेजोड लाग्दछ ।

२. विचार विज्ञान

खप्तड स्वामीको नाम पहिलोपटक सुन्दा उनी कुनै धर्म गुरु वा आध्यात्मिक अभ्यासकर्ता होलान् भन्ने लागेको थियो । तर, जब विचार विज्ञान पढे, उनी त एक बेजोड वैज्ञानिक विचारक रहेछन् भन्ने लाग्यो । नेपालको सुदूरपश्चिमको पहाडी खप्तड क्षेत्रमा जीवनको ठूलो अंश बिताएका स्वामीले यो किताब नेपालमै हुँदा लेखेको हुनुपर्दछ ।

यो पनि एउटा सानो पुस्तिका हो, धेरै ठूलो किताब हैन । तर, यसले मानव जीवनमा विचारको स्थान, प्रवाह र वैज्ञानिकतालाई बहुआयामिक ढंगले प्रस्तुत गर्दछ । कुनै आध्यात्मिक, धार्मिक वा नैतिक पद्धतिका रूपमा हैन, विचारलाई वैज्ञानिक र साश्वत पद्धतिका रूपमा स्थापित गर्दछ ।

यो पुस्तिकाबाट अझ प्रष्ट हुन्छ कि मानव जीवनको सार विचार हो । यसको आफ्नै वैज्ञानिक प्रक्रिया छ । मलाई लाग्छ– हरेक नेपालीले एकपटक यो किताब पढ्नै पर्दछ ।

३. संभोग से समाधि तक

ओशो साहित्यमा सयौं किताब छन् । करिब एक दर्जन जति मैले पनि पढेको हुँला । तीमध्ये ‘अष्टबक्र गीता’ र ‘समाजवाददेखि समाधान’ पनि मलाई खुबै मनपर्ने हुन् तर, खै किन सबैभन्दा बढी प्रभाव ‘संभोग से समाधि तक’ को परेको थियो ।
मैले यो किताब हिन्दीमै पढेको हुँ, सायद त्यतिखेर नेपाली अनुवाद थिएन ।

यो किताबबाट मैले पहिलो पटक ‘समयविहीनता’, ‘अहंविहीनता’ ‘बुद्धत्व’ र ‘साक्षीभाव’ जस्ता मानसिक प्रवर्गहरूको अनुबोध गरेको थिए । ‘वैकल्पिक राजनीतिका सात सिद्धान्त’ भन्ने पुस्तिका लेख्दा लोकतान्त्रिक संहिताको सिद्धान्त र अहं व्यवस्थापनको सिद्धान्तको रूपरेख तयार गर्न यो पुस्तकले निक्कै ठूलो सहयोग गरेको थियो ।

यस किताबमा सिग्मन्ड फ्राइड र कार्ल गुस्ताभ युङजस्ता मनोविज्ञानशास्त्रीका तर्क र अनुसन्धानलाई ओशोले पूर्वीया आध्यात्मिक दर्शनसँग मिसाएर एक बेजोड बौद्धिक ज्ञानमाला निर्माण गरेका छन्।

४. पुँजी

कार्ल मार्क्सको ‘पुँजी’ का भीमकाय ठेली देख्दै अत्यास लाग्थ्यो । अंग्रेजीमा पढ्न खोज्थे, पटक्कै बुझ्दिनथें । त्यो बेला नेपालीमा अनुवाद भएको थिएन । पुँजी पनि मैले हिन्दीमै पढेको हुँ। पुँजीका सबै भाग छिचोल्न र टिपोट बनाउन मलाई करिब ६ महिना लागेको थियो ।

संसारका अधिकांश कम्युनिष्ट नेता कार्यकर्ताले ‘कम्युनिस्ट। घोषणापत्र’ पढेका हुन्छन् तर, ‘पुँजी’ पढेका हुँदैनन् । यो निकै क्लिष्ट पुस्तक हो । यसलाई राम्ररी पढ्न र छिचोल्न त्यति सजिलो पनि छैन । त्यसका लागि निक्कै ठूलो धैर्यता चाहिन्छ । ‘पुँजी’ पढी सक्दा ‘कम्युनिस्ट घोषणापत्र’ मात्र पढेर बनेका धारणा बद्लिन्छन् ।

अर्थतन्त्रका सामयिक आयाम र पुँजीमा कार्ल मार्क्सले व्यक्त गरेका धारणा बीच कयौं विरोधाभाष र विसंगति बुझ्न सजिलो हुन्छ । ‘पुँजी’ को अध्ययनले मान्छेलाई ‘कट्टर कम्युनिस्ट’ भइरहने अनुमति दिँदैन। राजनीतिक र दार्शनिक आयामबाट मान्छे अर्थशास्त्रीय आयाममा प्रवेश गर्दछ, त्यसको जटिलता र विकासक्रम राजनीतिक आन्दोलनको सरल तथा एकलरेखीय विक्रासक्रम भन्दा निक्कै भिन्न र जटिल भएको बोध नगरिकन कसैलाई सुखै छैन ।

५. हिस्ट्री अफ फिलोसफी

ब्रटोल्ड रसेलको ‘हिस्ट्री अफ फिलोसफी’ अंग्रेजीमै पढेको हुँ । यो इन्टरनेटमा अहिले पनि सहज उपलब्ध छ । दर्शनशास्त्रको विश्वव्यापी विकासक्रमलाई बुझ्न यसले निकै ठूलो मद्दत गर्दछ । तर, यसमा पूर्वीया दर्शन र बीसौं शताब्दिका दार्शनिक विकासक्रमको भने खासै चर्चा छैन ।

६.नववामपन्थ

रसेलको किताबले जहाँनेरबाट छोडछ, त्यही नेरबाट यो किताबले विश्वको दार्शनिक तथा वैचारिक विकासक्रमलाई पक्रिन्छ । यो किताब मैले काठमाडौंका सडकमा पुराना किताब बेच्नेसँग कतै किनेको थिएँ । दुई भारतीय लेखक छन् यसका, तीनको नाम अहिले मैले बिर्सें।

यो कुनै गम्भीर पुस्तक नभएर एक प्रकारको ‘रिसर्च पेपर’ जस्तै हो । तर, यसले मेरो जीवनमा निकै ठूलो अर्थ राख्यो । यसले ‘पुरानो वामपन्थ’ र ‘नयाँ वामपन्थ’ बीच सीमारेखा कोर्ने प्रयत्न गर्दछ । सन् १९५० यताको विश्व परिवेशमा वैचारिक विकासक्रमबारे विभिन्न प्रकारले बुँदागत वर्गीकरण गर्ने प्रयत्न गर्दछ । ‘पुरानो बामपन्थ’ को धङधङीबाट मुक्त भइनसकेका मानिसका लागि यो निकै ठूलो सन्दर्भ स्रोत बन्न सक्दछ ।

७. द सेकेन्ड सेक्स

सिमोन दि बाउभियरको ‘द सेकेन्ड सेक्स’ ले महिलावादका सबै प्रकारलाई यसरी धुजाधुजा पारेर ‘अस्तित्ववादी महिलावाद’ लाई स्थापित गर्दछ, यो पढ्नुअघि मैले यस्ता तर्कहरूको कल्पना पनि गरेको थिइनँ । त्यसमा पनि त्यो भाग जहाँ बाउभियरले फ्रेडरिख एंगेल्सको ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ सम्बन्धि तर्कलाई खण्डन गर्दै महिला मुक्ति, सर्वहारा मुक्ति र साम्यवादको अवधारणासँग समकक्ष नभएर सामानान्तर भएको तर्क गर्दछिन्, त्यो बिल्कुलै अर्थपूर्ण र बेजोड लाग्दछ ।

सोभियत कम्युनिस्ट पार्टी र सोभियत सत्तामा किन एउटा महिला पार्टी महासचिव र महिला राष्ट्रपति जन्मिएन भन्ने प्रश्नलाई पक्रिँदै उनी महिलामुक्ति साम्यवादी शासनसत्तामा पनि सम्भव नभएको निष्कर्ष निकाल्छिन् । एंगेल्सको महिलामुक्ति सर्वहारा वर्गमुक्तिकै एक अंश हो भन्ने धारणालाई बाउभियर खण्डन गर्दै भन्छिन्–‘महिलामुक्ति अस्तित्वको स्वतन्त्र महापरियोजना हो ।

सर्वहारा वर्गले बुर्जुवा वर्गबाट मुक्ति खोजेजस्तो महिलाले पुरुषबाट मुक्तिको चाहना राख्दिनँ । सर्वहारा संघर्ष र महिला संघर्षको चरित्र नै फरक छ ।’ अस्तित्ववादी महिलावादका अनेक आयामलाई बुझ्न यो जतिको गतिलो किताब सायदै अरु होला ।

८. विश्व इतिहास कि झलकिंया

जवाहरलाल नेहरूले जेल बस्दा लेखेका विश्व इतिहासका मुख्य घटनाहरूको क्रमबद्ध विश्लेषण हो यो । यो इतिहास हैन, इतिहासमाथिको विश्लेषण हो । विश्व इतिहासका विभिन्न घटनाले कहाँनेर, कहिले कसरी कस्ता-कस्ता मोड ल्याए, मानव सभ्यतामा त्यसको कस्तो प्रभाव पर्‍यो भन्ने बुझ्न यो जतिको गतिलो किताब अहिलेसम्म मैले अरू कुनै फेला पारेको छैन ।

त्यसो त नेहरूको ‘डिस्कभरी अफ इन्डिया’ पनि उत्तिकै बेजोड छ तर, त्यसलाई भन्दा मैले ‘विश्व इतिहास कि झलकिंया’ लाई बढी महत्त्व किन दिन्छु भने यसले विश्वको बृहत् आयामलाई सरल र सजिव चित्रण गरी सहज स्मरणीय मात्र बनाउँदैन, इतिहासबाट लिनुपर्ने शिक्षा र पाठलाई पनि उत्तिकै गतिलो गरी रेखांकन गर्दछ ।

९. क्यापिटालिज्म, सोसलिज्म एन्ड डेमोक्रेसी

अर्थशास्त्री जोसेफ सुम्पिटरको यो किताब, दर्शन, राजनीति र अर्थशास्त्रको त्रिवेणी हो । मूलतः यो किताबले मार्क्सोत्तर युगको चिन्तन प्रणालीको आधारशीला खडा गर्दछ । विशेषतः त्यो बेला सर्वहारा राज्य कि बजार अर्थतन्त्र भन्ने बहस तीव्र थियो । सुम्पिटरको यो किताबले यी दुवै अवधारणाको निरर्थकतालाई सिद्ध गर्न खोज्दछ ।

आज स्केन्डभियन मुलुकले समाजवादको नाम नलिइकन लोकतन्त्र र बजार अर्थतन्त्रकै माध्यमबाट समाजवादका अभिष्टलाई जसरी कार्यान्वयन गरेका छन, र ती मानवीय विकासका दृष्टिकोणले साम्यवादी वा पुँजीवादी मुलुकभन्दा सफल देखिएका छन्, त्यसको वैचारिक आधारशीला यस पुस्तकमा फेला पर्दछ ।

मूलतः ‘थ्योरी अफ क्रिएटिभ डिस्ट्रक्सन’ यो किताबको सार हो ।

१०. फ्रम थर्ड बल्ड टु फस्ट : द सिंगापुर स्टोरी : १९६५–२०००

आधुनिक सिंगापुरका निमार्ता लि क्वान युको आत्मकथा हो यो । कतिपयले यसलाई ‘विकास र संमृद्धिको बाइबल’ पनि भन्दछन्। एउटा सानो र गरिब टापु करिब ३ दशकमा तेस्रो विश्वबाट पहिलो विश्वमा कसरी पुग्यो भन्ने बुझ्न यो किताब निकै महत्त्वपूर्ण छ ।

पछिल्लो समय अफ्रिकाको रुवान्डाले सिंगापुर मोडेल अवलम्बन गर्न खोजिरहेको छ । त्यसले प्रारम्भिक सफलता समेत हासिल गरिरहेको छ । सानो, टापु र नगरराज्यको कथा भएको हुँदा यो मोडेल नेपालका लागि उपयुक्त नभएको कतिपयले ठान्दछन् तर, त्यो बुझाइ सत्य हैन ।

सिंगापुर सफलताका थुप्रै कुरा नेपालसँग मिल्दोजुल्दो छन् । विशेषतः समावेशिता, भूराजनीति सञ्चालनको कौशल, प्रयोजनवादी आर्थिक नीति र स्वच्छ राजनीतिका सन्दर्भमा यो ‘बाइबल’ नै हो । यसको पवित्रतामा शंका गर्नुपर्ने कुनै ठाउँ छैन।

सिंगापुर किन बन्यो भन्ने प्रश्नको उत्तर खोज्न यो किताब पढिन्छ तर नेपाल किन बनेन भन्ने प्रश्नको उत्तर पनि त्यहाँ छ । भलै कि गोर्खा रेजिमेन्टको सन्दर्भमा बाहेक त्यसमा नेपालको नाम कहिँ कतै उल्लेख छैन । सिंगापुरले के के गर्दै गयो र बन्यो भनेर सूची बनाउने हो भने बितेका ३३ वर्षमा नेपालले त्यो कुनै पनि कुरा गरेको वा गर्न खोजेको देखिन्न ।


Comment

One thought on “ती १० किताब जसले मेरो जीवनमा नयाँ मोड ल्याए

  1. डम्बर सर (कमरेड) अरु पनि यस्तै प्रेरणादायी र सिक्न लायक लेख-रचनाको अपेक्षा छ है, हजुर…आरिनि हौ चुम्मे…?!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved