अन्तर्वार्ता

पाँच वर्षमा गरेका काम नै मैले जित्ने आधार हो : प्रदीप ज्ञवाली

२०७४ सालको निर्वाचनमा ज्ञवालीले भण्डारीलाई पराजित गरेका थिए । तर त्यतिबेला वाम गठबन्धन भएकाले उनलाई जति सहज थियो, यससपटक त्यति नै कठिन छ । माओवादी अर्को गठबन्धनमा छ भने एमालेमा पनि विभाजन आएको छ । तर आफुले गरेका कामका आधारमा यसपटक पनि चुनाव जित्नेमा ढुक्क रहेको ज्ञवाली बताउँछन् ।

नेपालभ्युज

पाँच वर्षमा गरेका काम नै मैले जित्ने आधार हो : प्रदीप ज्ञवाली

काठमाडौं। गुल्मी क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवाली अहिले भोट माग्न व्यस्त छन् । गाउँ-गाउँमा पुगेर आफ्नो पहलमा गरिएका विकास आयोजनाका फेहरिस्त सुनाउँदै उनले मत मागिरहेका छन् ।

उनलाई सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले चुनौती दिएका छन् । राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने यी दुई नेताको प्रतिस्पर्धाले गुल्मी-१ को निर्वाचनको माहोल तातेको छ ।

२०७४ सालको निर्वाचनमा ज्ञवालीले भण्डारीलाई पराजित गरेका थिए । तर त्यतिबेला वाम गठबन्धन भएकाले उनलाई जति सहज थियो, यससपटक त्यति नै कठिन छ । माओवादी अर्को गठबन्धनमा छ भने एमालेमा पनि विभाजन आएको छ ।

तर, आफूले गरेका कामका आधारमा यसपटक पनि चुनाव जित्नेमा ढुक्क रहेको ज्ञवाली बताउँछन् । उम्मेदवार ज्ञवालीलाई नेपाल भ्युज मञ्चकर्मी प्रकाश बस्यालले चुनावसँग सम्बन्धित केही प्रश्न गरेका छन् । 

चुनावी अभियान कस्तो चल्दै छ ? 

अहिले हामीले ठूला ठूला सभा भन्दा पनि जनतासँग प्रत्यक्ष भेटघाटलाई तीव्रता दिएका छौँ । टोल-टोलमा कोणसभा गर्ने आफ्ना एजेन्डा राख्ने काम भइरहेको छ । अर्कोतर्फ जनताहरूसँग अन्तरक्रिया गरेर उनीहरुका कुरा सुन्ने र त्यसपछि आफ्ना प्रतिबद्धता राखिरहेको छु । निकै उत्साहकासाथ अभियान चलिरहेको छ ।

मतदाताहरूले कस्ता कुरा सुनाइरहेका छन् ?

मतदाताले दुईचार वटा कुरामा जोड दिएका छन् जस्तो भौतिक पूर्वाधारको माग गरिरहेका छन्, बाटोघाटो, बिजुली खानेपानी, विद्यालय भवन जस्ता पूर्वाधारका माग बढी छन् ।

त्यसपछि उत्पादन र रोजगारीको विषय पनि उहाँहरूले उठाउनुभएको छ । गाउँमा विकास पुगेको छ तर रोजगारी सिर्जना हुन सकेको छैन, युवाहरू विदेसिनुपरेको छ । यहाँका स्थानीयको चाहना भनेको गाउँमै रोजगारी सिर्जना होस्, उद्यमशीलता विकास होस् , आफ्ना उत्पादनले उचित बजार पाउन भन्ने छ । तेस्रो कुरा खासगरी सुशासनको विषय छ । जनताले पाउने सेवा सुविधा छिटो छरितो बनुन्, अड्डा अदालतमा पुग्दा झन्झट नहोस् भन्ने चाहना छ । मैले त्यसमा प्रतिबद्धता जनाइरहेको छु ।

तपाईंका एजेन्डा के-के छन् ?

एजेन्डा भनेको आर्थिक समृद्धि र विकास नै हो । यहाँका जनताले अनुभूति गर्न सक्ने गरी विकास गर्नु छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पर्यटन, विद्युतजस्ता महत्त्वपूर्ण क्षेत्रमा उल्लेख्य काम अगाडि बढाइएको छ ।

ती कामलाई पूर्णता दिनु छ । कालीगण्डकी करिडोर, रेसुङ्गा विमानस्थल, गर्जुरा पार्क, उनायचौरमा विद्युत सब स्टेसन, ५० शैयाको गुल्मी अस्पताल निर्माण, अक्सिजन प्लान्ट निर्माण, पीसीआर ल्याब स्थापना, पालिका स्तरमा १५ शैयाको अस्पताल, सडक पूर्वाधार, खानेपानीलगायत थुप्रै करोडौंका योजना सञ्चालन भइरहेका छन् ।ती कामलाई अझ व्यवस्थित बनाउनु छ । चीन र भारत जोड्ने ट्रान्जिट रुट र महत्त्वपूर्ण पर्यटकीय राजमार्गका रूपमा कालीगण्डकी करिडोर कालोपत्रे गर्ने काम पनि पूरा गर्ने मेरो एजेन्डा हो ।

जनताले फेरि पुरानै एजेन्डा लिएर आउनुभयो भनेका छैनन् ?

विकास भनेको निरन्तर गरिरहनुपर्ने काम हो । हामीले निकै ठूला सडक पूर्वाधारको काम थालेका छौँ । थालेका कामलाई पूर्णता दिनु छ । शिक्षा र स्वाथ्यका पूर्वाधार हामीले बनाइसकेका छौँ अब त्यसलाई गुणस्तरिय कसरी बनाउने भन्ने हाम्रो चिन्ता छ । त्यसैले म यो पटकपनि उम्मेदवार बनेको हुँ ।

प्रतिस्पर्धीको बीचमा आफुलाई कहाँ पाउनुभएको छ ?

मैले त्यस्तो चुनौती देखेको छैन । उहाँहरुको आधार भनेको गठबन्धन हो भने हाम्रो आधार भनेको लोकप्रियता र नीतिहरु हुन् । गठबन्धन हुँदा उहाँहरुले आफ्नै पार्टीका विचार जनताको बीचमा लैजान सक्नुभएको छैन । कुन पार्टीको नीतिअनुसार मुलुक अघि बढ्छ ? प्रधानमन्त्री को हुन्छ भन्ने आधारभूत प्रश्नको जवाफ पनि उहाँहरूसँग छैन । दोस्रो कुरा हामीले जे-जति काम गरेका छौँ त्यो प्रष्ट छ ।

प्रतिनिधिसभा सदस्यको रूपमा मैले पछिल्लो पाँच वर्षमा गरेका कामका विषयमा जनता आफैंले मूल्यांकन गरेका छन् । त्यसैले मैले ठूलो चुनौती देखेको छैन । मप्रति यहाँका जनताको विश्वास छ भन्ने बुझेको छु ।

तपाईंमाथि जिल्लामा ध्यान नदिएको तथा पार्टी अध्यक्षको गलत कदममा पनि सहयोगीको भूमिका खेलेको आरोप छ नि ?

पहिलो कुरा त म हरेक महिना जिल्लामा आएको छु । त्यसैले, याे उचित टिप्पणी होइन । अर्को कुरा राष्ट्रिय राजनीतिमा हुनु, सरकारमा प्रभावकारी भूमिका खेल्नु यी कुनै कमजोरीका विषय होइनन् । मैले जनताको बीचमा काम गरेको छु ।

हामीले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिँदा, चुच्चे नक्सा प्रकाशन गर्दा किन विरोध गर्नुपर्थ्यो ? आफ्ना पार्टीले गरेका राम्रा कामको विरोध गर्नुपर्छ भन्ने त छैन होला । अरु त पार्टीका आन्तरिक विषय हुन् । तीबारे पार्टीभित्र बहस हुन्छ, छलफल हुन्छ र एउटा निष्कर्ष निस्कन्छ ।

राष्ट्रियताको कुरा गर्नुभयो, तर नागरिकता विधेयक र एमसीसीको विषयमा तपाईंहरू मौन रहनुभयो नि ? 

हामीले हाम्रो घोषणापत्रमा नेपालीलाई मात्र नागरिकता भनेका छौँ, कुनै पनि विदेशीले नागरिकता पाउनुहुँदैन भन्ने हो । एमसीसीको विषयमा अनावश्यक हतियार बनाइएको हो ।

हिंजो जसले विरोध गर्नुभयो पछि आएर उहाँहरूले नै पास गर्नुभयो । यसलाई धेरै गिजोलेर व्यक्तिगत स्वार्थमा प्रयोग गर्न खोजिएको हो । हामीले त पहिल्यैदेखि पास गर्न भनेका थियौ‌ँ । यी कुरा जनाताले बुझिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved