काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले सान्त्वना जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । कर्णालीको यो तेस्रो हार हो ।
१५१ रनको लक्ष्य सुदूरपश्चिमले २९.४ ओभरमा ५ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले ४१ र शेर मल्लले अविजित ३४ रन बनाए । कर्णालीका लागि रविन्द्र शाहीले ३ र दिवान पुनले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको कर्णाली ३८.१ ओभरमा १५० रनमा अलआउट भयो । कर्णालीका लागि अर्जुन घर्तीले ७० र हिमान्शु शाहीले १२ रन बनाए । अर्जुनले ६९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।
सुदूरपश्चिमका लागि नारायण जोशीले ४ र हेमन्त धामीले ३ विकेट लिए । गजेन्द्र बोहोराले २ र मिलन बोहोराले १ विकेट लिए । सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ ।
Facebook Comment
Comment