इरानको स्याटेलाइट रकेट परीक्षणप्रति अमेरिका चिन्तित

नेपालभ्युज

इरानको स्याटेलाइट रकेट परीक्षणप्रति अमेरिका चिन्तित

काठमाडौं। अमेरिकाले शनिबार इरानले गरेको स्याटेलाइट रकेटको परीक्षण महत्त्वपूर्ण चिन्ताको विषय भएको बताएको छ । अमेरिकी विदेश मन्त्रालयले यो परीक्षणले इरानलाई आणविक हतियार प्रयोग गर्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्रसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न निषेध गर्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको जनाएको छ ।

इरानको रिभोलुसनरी गार्ड्सले यो रकेटले दूरसञ्चार उपग्रहलाई पृथ्वीको सतहबाट करिब पाँच सय किलोमिटर टाढाको कक्षमा राख्ने बताएको छ । इरान र पश्चिमाहरू बीचको आणविक सम्झौताको वार्ता तत्कालका लागि रोकिएको छ ।

शनिबार इरानको रिभोलुसनरी गार्ड्सले स्याटेलाइट रकेटको परीक्षण गरेको थियो । इरानको सरकारी मिडियाले यसबारे जानकारी दिएको हो । अमेरिकाले इरानको यो कदमलाई ‘अनावश्यक र अस्थिर’ बताएको छ ।

अमेरिकाले उपग्रहहरूलाई कक्षमा राख्न प्रयोग गरिने ब्यालिस्टिक प्रविधिलाई परमाणु हतियारलाई पनि लञ्च गर्न सकिन्छ भन्ने मान्यता राखेको छ । तर, इरानले त्यस्तो कुनै नियत नभएको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved