सुर्खेत २

पूर्व सहकारीमन्त्री थानी र सहकारी अभियन्त्ता विसीबीच रोचक प्रतिस्पर्धा

६ पटक चुनाव लडेका थानीको हार र जितको श्रृङ्खलामा यो पटक जित्ने पालो

पूर्व सहकारीमन्त्री थानी र सहकारी अभियन्त्ता विसीबीच रोचक प्रतिस्पर्धा

सुर्खेत। आगामी निर्वाचमा प्रतिनिध सभा क्षेत्र नं २ बाट नेपाली कांग्रेसका नेता हृदयराम थानी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत विसीसँग प्रतिस्पर्धा गर्दैछन्।

सुर्खेतमा सधैं प्रभावशाली नेताका रुपमा रहेका पूर्व गरिबी निवारण तथा सहकारीमन्त्री थानीसँग एमालेले सहकारी अभियान्त्ता विसीलाई उम्मेदवार बनाएको छ।

थानी सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनाव लड्दै छन्। ०५१ सालमै संसदीय चुनाव लड्ने अवसर पाएका थानीको लगातार चार वटा चुनावमा एमालेका यामलाल कँडेलसँग हार्ने र हराउने खेल चल्यो। संघीयता आएपछि कँडेल मुख्यमन्त्री बन्ने दाउमा प्रदेशतिर झरे।

२०७४ को चुनावमा थानी नयाँ प्रतिस्पर्धी नवराज राउतसँग चुनाव हारे। वाम गठबन्धनको साझा उम्मेदवार बनेका एमालेका रावतले थानीलाई हराए। यो बेला रावत प्रदेशको समानुपातिकमा छन्। थानी २०७३ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहकारी मन्त्री भएका थिए।

एमाले उम्मेदवार पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरिरहेका छन्। उनी जिल्ला सहकारी संघ, सुर्खेतका अध्यक्ष पनि हुन्। सुर्खेत २ (१) मा सत्ता गठबन्धनबाटै २ उम्मेदवार मैदानमा छन् नेकपा एकीकृत समाजवादीका शिवप्रसाद उपाध्याय र नेपाली कांग्रेसका कालीप्रसाद शाक्य । गठबन्धनबाट शाक्य भने पनि यहाँ समाजवादीले पनि उम्मेदवार उठाएको छ।

सुर्खेत २(२) मा भने गठबन्धनबाट माओवादी केन्द्रका बिन्दमान विष्ट मात्र उम्मेदवार छन्। ०७४ को चुनावमा आफैंलाई पराजित गर्न भूमिका खेलेका माओवादी नेताहरू यो पटक थानीको साथमा छन्। तर थानीलाई आफ्नै पार्टीभित्र अन्तरघात होला कि भन्ने डर भने कायमै रहेको उनी निकट नेताहरू बताउछन्।

यस्तो छ अंक गणित

सुर्खेत २ मा तीन दशकदेखि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ। दुवै दलको अवस्था उस्तै देखिन्छ। २०४८ को आम निर्वाचनमा एमालेका बालाराम शर्मालाई पराजित गर्दै कांग्रेसका शिवराज जोशी विजयी भए।

०५१ को मध्यावधि निर्वाचनमा थानीलाई एमालेका यामलाल कँडेलले पराजित गरे। ०५६ को संसदीय चुनावमा कांग्रेसले पुनः वर्चश्व जमायो। जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेद्वार विजयी भए। सुर्खेत २ बाट थानीले उनै कँडेललाई पराजित गरे। ०६४ मा पहिलो संविधानसभा निर्वाचनमा भने थानीलाई पराजित गर्दै एमालेका कँडेल नै विजयी भए।

०७० को निर्वाचनमा जिल्लाका ३ वटै क्षेत्रमा कांग्रेसले जित हासिल गर्‍यो । कांग्रेसका थानीले उनै कँडेललाई पराजित गरे। ०७४ मा कँडेलले प्रदेश रोजेपछि बाम गठबन्धनको बलमा रावतले थानीलाई पराजित गरे। सुर्खेत २ मा चौकुने, बराहाताल गाउँपालिका र पञ्चपुरी, वीरेन्द्रनगर नगरपालिकाका १४ वटा वडा पर्दछन्।

वैशाख ३० को स्थानीय निर्वाचनमा चौकुने माओवादीले जितेको छ। पञ्चपुरी नगरपालिका र बराहाताल गाउँपालिका कांग्रेसले जितेको छ भने वीरेन्द्रनगर एमालेले जितेको छ। स्थानीय निर्वाचनमा वडाध्यक्ष उम्मेदवारहरुले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस र एमालेवीच एक हजार मत अन्तर देखिन्छ।

वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले ३० हजार ६१२ मत पाउँदा एमालेले ३१ हजार ४०७ मत पाएको छ। माओवादीले ११ हजार ७३१, राप्रपाले ३ हजार ५२७, एकीकृत समाजवादीले २ हजार ९१ मत पाएको छ। सत्ता गठबन्धन दलको मत जोड्दा थानीलाई सहज देखिन्छ। उनी पुराना, प्रभावशाली र जनतामाझ भिजेका उम्मेदवार हुन्। तर विसी पनि नयाँ र लोकप्रिय भएकाले थानीलाई चुनाव सहज नभएको कांग्रेस नेताहरू बताउँछन्।

एमालेका उम्मेदवार रहेका लामो समयदेखि सहकारी अभियन्ता भएको र अहिले पनि स्वच्छ छवि भएका कारणले आफूले जित्ने दाबी गर्छन्। थानी र विसीका चुनावी मुद्दा एकै प्रकार रहेका छन्। वीरेन्द्रनगरलाई नमुना सहर बनाउने, खानेपानी समस्या समाधान गर्ने कृषि, पर्यटन, प्रविधि, जलविद्युत् र सडक सञ्जाल दुवैको चुनावी एजेण्डा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved