सल्यानमा ज्वालालाई शाहको अड्चन, त्रिपक्षीय प्रतिस्पर्धामा कसले मार्ला बाजी ?

सल्यानमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रकाश ज्वाला, नेकपा एमालेका राजेन्द्रवीर राय र नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्रबहादुर शाहबीच प्रतिस्पर्धा हुने देखिएको छ । तीन मध्ये कसले बाजी मार्ला त ? यस्तो छ विगतको अंक गणित । 

सल्यानमा ज्वालालाई शाहको अड्चन, त्रिपक्षीय प्रतिस्पर्धामा कसले मार्ला बाजी ?

सुर्खेत। सल्यानमा आगामी मंसिर ४ गते हुने हुने निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था देखिएको छ । वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रकाश ज्वाला, नेकपा एमालेका राजेन्द्रवीर राय र नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्रबहादुर शाहबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

राय २०७४ सालपछि एमालेमा प्रवेश गरेका हुन् । ज्वाला तीनपटक सल्यानबाट जनप्रतिनिधि बनिसकेका छन् । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका शाहले पनि यसअघि दुईपटक जित र दुईपटक पराजय भोगेका छन् । सल्यानमा प्रतिनिधिसभाको एउटा मात्रै क्षेत्र छ । सात जना उम्मेदवार मैदानमा छन् ।

राप्रपाबाट नेत्रलाल श्रेष्ठ, नेकपा मालेबाट भीमबहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवनराज देवकोटा, र स्वतन्त्र जुद्धबहादुर सिंह पनि उम्मेदवार छन् । तर, मुख्य प्रतिस्पर्धा भने तीनजनाकै बीचमा हुने अनुमान गरिएको छ ।

ज्वाला : तीनपटक जित, दुईपटक पराजित 

सत्ता गठबन्धन दलबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सल्यानबाटै तीनपटक जितिसकेका छन् । २०५१ को आम निर्वाचनमा सल्यान क्षेत्र नं. १ बाट चुनाव लडेर हारेका थिए । त्यसबेला कांग्रेसका राजेन्द्रबहादुर शाहले ज्वालालाई हराएका दिए । अहिले तिनै शाह स्वतन्त्र उम्मेदवार बनेका छन् । २०५६ को निर्वाचनमा भने ज्वालाले बदला लिएर र शाहलाई हराए ।

२०६४ को संविधानसभा निर्वाचनमा एमालेबाट ज्वाला सल्यान क्षेत्र नं. १ मा चुनाव लडे र माओवादीका टेकबहादुर बस्नेतसँग पराजित भए । २०७० को संविधानसभा निर्वाचनमा भने उनी क्षेत्र नं. १ छोडेर क्षेत्र नं. २ बाट उठे । त्यसबेला उनले माओवादीका भीमप्रकाश शर्मालाई हराए । २०७४ मा भने उनी प्रदेशमा झरे । प्रदेश सभा (ख) बाट उठेर उनले तेस्रोपटक जित निकाले ।

अहिले सल्यानमा एकीकृत समाजवादीको राम्रै उपस्थिति छ । त्यसैले, ज्वाला जित्नेमा ढुक्क रहेको बताउँछन् । ‘जिल्लामा गठबन्धन दलको अवस्था मजवुत छ ।’ उनले भने, ‘यहाँबाट हामी जित्नेमा कुनै शंका छैन् । मतदान अगाडि नै हामी विजयी भइसकेका छौं ।’

शाह : तीनपटक हारे, दुईपटक जिते

सत्ता गठबन्धन दलको भागवण्डामा सल्यानको सिट एकीकृत समाजवादीको भागमा परेपछि कांग्रेसका राजेन्द्रबहादुर शाहले असन्तुष्टि जनाए । त्यसपछि उनी पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रूपमा उठे । उनी योसहित छैटौं पटक चुनाव लड्दै छन् ।

उनी २०४३ सालको राष्ट्रिय पंचायत सदस्यको निर्वाचन समेत लडेका थिए । त्यसबेला मरिचमान सिंहसँग पराजित भएका थिए । दोस्रोपटक २०४८ को निर्वाचनमा सल्यान क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा विजयी बने । २०५१ मा पनि नेकपा एमालेका प्रकाश ज्वालालाई हराए ।

२०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका टेकबहादुर बस्नेतसँग उनी पराजित भएका थिए । लामो सयमदेखि सल्यानमा कांग्रेसको राजनीति गरेका कारणले आफू विजयी हुने उनको दाबी छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरे पनि आफूलाई कुनै असर नगर्ने शाहले बताए । ‘गठबन्धन एउटा जाल मात्र हो । जनताले मलाई मन पराएका छन् ।’ उनले भने,‘लामो समयदेखि राजनीति गरेका कारण मैले जित्ने आधार तयार छ ।’

प्रदेशमा पराजित राय, प्रतिनिधिसभामा लड्दै

नेकपा एमालेबाट उम्मेदवार बनेका राजेन्द्रवीर राय २०७४ सालको निर्वाचनमा प्रदेशसभा ‘ख’ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उठेर पराजित भएका थिए । राय राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै कमल थापा नेतृत्वको राप्रपा नेपालमा थिए । एमालेमा प्रवेश गर्नुअघि उनी राप्रपा नेपालको उपाध्यक्ष थिए । एमालेमा प्रवेश गरेपछि उनले प्रतिनिधिसभाको टिकट पाएका छन् ।

उनले ०७४ सालको निर्वाचनमा सल्यान प्रदेश सभा ‘ख’ मा ६ हजार ५४ मत ल्याएका थिए । लामो समयदेखि राजनीतिमा रहेका कारण एमालेबाट आफूले जित्ने रायको दाबी छ । ‘काठमाडौं, धरानमा बालेन र हर्कको के संगठनको मत थियो र ? यहाँ हाम्रो संंगठन पनि छ । म बालेन र हर्क जस्तै गरेर जित्दै छु’, उनले भने, ‘त्यो कुरा मंसिर ४ गतेपछि थाहा पाउनुहोला ।’

विगतको अंक गणित र सम्भावित परिणाम

२०७४ सालको चुनावमा सल्यानमा वाम गठबन्धनबाट माओवादीका टेकबहादुर बस्नेत उम्मेदवार थिए । उनी ४० हजार ८९७ मत ल्याएर निर्वाचित भए । कांग्रेसका राजेन्दबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका थिए । त्यतिबेला स्वतन्त्र उम्मेदवार उमाकान्त खनाल २ हजार ९२१ र मालेका बलबहादुर गिरीले २ हजार २९२ मत ल्याएका थिए ।

गत वैशाखको स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षले पाएको मतको आधारमा जिल्लामा कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेसले ३३ हजार ६१६ मत ल्याएको छ । यस्तै माओवादी केन्द्रले २६ हजार ७१३ र एमालेले २६ हजार ६२८ मत ल्याएको थियो । प्रतिनिधिसभा क्षेत्र पाएको एकीकृत समाजवादीले ९ हजार ४६७ मत पाएको थियो ।

यो हेर्दा गठबन्धनको अत्यधिक मत देखिन्छ । राप्रपाबाट प्रवेश गरेकालाई टिकट दिएको भन्दै एमालेमा असन्तुष्टि देखिन्छ । तर, कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका शाहका कारण प्रकाश ज्वालालाई केही घाटा हुन सक्छ । उनले कांग्रेसका आधामात्रै मत पाए पनि जित निकाल्न सक्छन् ।

रायलाई भने पार्टीभित्रैबाट पूर्ण समर्थन छैन । एमालेका असन्तुष्ट मत ज्वालातिर जान सक्छन् । शाहले भने कांग्रेसका केही हजार मत लैजाने अनुमान गरिएको छ । त्यसैले सल्यानमा ज्वाला नै बलियो देखिन्छन् । उनलाई चौथोपटक चुनाव जित्नबाट रोक्न एमालेलाई निकै कठिन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved