उदयपुरका विवेक दाहाललाई साउदी अरबमा मृत्युदण्ड दिइयो, माफीका लागि सरकारले गरेको प्रयास असफल

हत्यामा दोषी ठहर भएका दाहालको माफीका लागि नेपाल सरकारले लामो समयदेखि प्रयास गरिरहेको थियो । तर रियादस्थित नेपाली दूतावासलाई समेत कुनै जानकारी नदिइ जुवेल जेल प्रशासनले दाहाललाई मृत्युदण्ड दिएको हो । उनको शव साउदीकै कुनै स्थानमा गाडिएको जानकारी दूतावासलाई जेल प्रशासनले गराएको छ ।  

नेपालभ्युज

उदयपुरका विवेक दाहाललाई साउदी अरबमा मृत्युदण्ड दिइयो, माफीका लागि सरकारले गरेको प्रयास असफल
सांकेतिक तस्वीर

काठमाडौं । उदयपुरका विवेक दाहाललाई साउदी अरबमा मृत्युदण्ड दिइएको छ । साउदीमा हत्या अभियोगमा दोषी ठहर भएर १५ वर्षदेखि जेलमा रहेका दाहाललाई हालै मृत्युदण्ड दिइएको नेपाली दूतावासले पुष्टि गरेको छ । मृत्युदण्डपछि उनको शव समेत परिवारलाई दिइएन ।

दाहालको माफीका लागि नेपाल सरकारले लामो समयदेखि प्रयास गरिरहेको थियो । तर रियादस्थित नेपाली दूतावासलाई समेत कुनै जानकारी नदिइ जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्ड दिएको हो । उनको शव साउदीकै कुनै स्थानमा गाडिएको जानकारी दूतावासलाई जेल प्रशासनले गराएको छ ।

दाहाल २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्यामा दोषी ठहर भएका थिए । र अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । उँट हेरचाह गर्ने कामका लागि सन २००६ मा साउदी अरब पुगेका दाहालले सुतिरहेको बेला साथीहरुमाथि आक्रमण गर्दा विष्टको मृत्यु भएको थियो । अर्का सुडानी नागरिक घाइते भएका थिए ।

तर पीडित राजेन्द्र विष्टको परिवारलाई दाहालको परिवारले ब्लडमनीबापत रकम दिएपछि नेपाली दूतावासले जुवेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो । उपचारपछि स्वदेश फर्केका सुडानी नागरिकले भने माफी दिएनन् । दाहालमाथि पशु करणीको अर्को मुद्दा पनि लगाइएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई माफी दिन आग्रह गरेर साउदी राजालाई पत्र पठाएकी थिइन् भने गत मार्चमा नेपाल आएका साउदीका परराष्ट्र मन्त्रीसमक्ष पनि सरकारले आग्रह गरेको थियो । तर यि सबै बेवास्ता गर्दै साउदीले दाहाललाई मृत्युदण्ड दिएको हो ।

नेपाली दूतावासका अधिकारीहरु भने दाहालले माफी पाउनेमा ढुक्क थिए । एक्कासी मृत्युदण्ड कार्यान्वयन भएको खबर पाएपछि अहिले दूतावासका अधिकारी पनि स्तव्ध भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved