काठमाडौं। आउँदो प्रतिनिधिसभा निर्वाचनमा शीर्ष नेताहरूलाई निर्वाचित नगराउन सामाजिक सञ्जालमा सञ्चालित अभियान हो ‘नो नट अगेन’। ‘नो नट अगेन’का नामबाट सञ्चालित अभियानमा शीर्ष नेतासहित भ्रष्टाचारको दाग लागेका र बुढा उम्मेदवारलाई योपटक नजिताउन अपिल गरिएको छ।
बहुदलीय व्यवस्थापछि लगातारजसो निर्वाचित भएका प्रमुख दलका नेताले जनताको निम्ति काम नगरेको, धेरै उमेर पनि भइसकेकाले फेरि जित्न नहुने भन्दै फेसबुकमा यो अभियानको सुरुवात भएको देखिन्छ। यसअघि पटक–पटक निर्वाचित भई कार्यकारी पदमा पुगेका व्यक्ति लक्षित यो अभियान बन्द गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
यस्ता गतिविधि निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै आयोगले कसुर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने चेतावनीसमेत दिएको छ।
नो नट अगेन’का नामबाट सञ्चालित फेसबुक तथा अरू सामाजिक सञ्जालका पेज बन्द गर्न आयोगले निर्देशन दिएपछि सामाजिक सञ्जालमा झनै आक्रामक प्रतिक्रिया देखिएको छ । ‘नो नट अगेन’ ट्विटरमा केही दिनयता ट्रेन्डिङमा छ ।
शहरका सीमित वर्ग र युवा पुस्ताभन्दा पर फैलिन नसकेको अभियान निर्वाचन आयोगको कारबाहीको चेतावनीले झन फैलाएको छ । अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै धेरैले आयोगको निर्णयको विरोध गरेका छन्।
भूमिगतरूपमा कसले चलाउँदै छ क्याम्पेन ?
सामाजिक सञ्जालका पुराना कन्टेन्ट केलाउने हो भने ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दर्ता हुनुभन्दा अघिदेखि नै यो अभियान सुरु भएको देखिन्छ।
‘नो नट् अगेन’ नामको सोसल मिडिया क्याम्पेन नेपालमा २६ जुलाईमा पहिलोपटक पोस्ट भएको देखिन्छ। जसमा प्रधानमन्त्री शेरबहादुर देउवासहित अरू पाँच पूर्वप्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनाल र माधव नेपालको तस्वीर राखेर हराउन अपिल गरिएको थियो। यसअघि एक वा सोभन्दा बढी पटक प्रधानमन्त्री बनिसकेकाले फेरि दोहोरिनु नहुने अभियानको तर्क थियो।
अभियानको क्रियाकलापलाई नजिकबाट नियालिरहेका आयोगका एक अधिकारीका अनुसार, अहिले फेसबुकमा सामग्री तयार गरेर विज्ञापन गरी धेरै व्यक्तिसम्म पुर्याउन खोजिएको छ।
सामाजिक सञ्जाल हेर्ने निर्वाचन आयोगको संयन्त्रले निर्वाचन आयुक्तहरूलाई गरेको ब्रिफिङ अनुसार यो अभियानमा स्वतन्त्र उम्मेदवारहरू, राजावादी समूह तथा विभिन्न एनजीओलाई आशंका गरिएको छ। तर, नाम भने बाहिर नल्याइएको आयोगका एक उच्च अधिकारी बताउँछन्।
ती अधिकारीले भने, ‘‘त्यो समूहको क्रियाकलाप र अभियान हेर्दा अदृश्य छन्। उनीहरूले आफ्नो पहिचान लुकाउन खोजेका छन्। सामाजिक सञ्जालमा कन्टेन्ट साभार गर्ने तथा पोस्ट सेयर गर्नेले आफ्नो रियल पेजबाट गरे पनि कन्टेन्ट बनाउनेहरू भूमिगतरूपमा क्रियाशील छन्।’’
अभियानको क्रियाकलापलाई नजिकबाट नियालिरहेका आयोगका एक अधिकारीका अनुसार, अहिले फेसबुकमा सामग्री तयार गरेर विज्ञापन गरी धेरै व्यक्तिसम्म पुर्याउन खोजिएको छ। अब अभियान आक्रामक बन्दै गएमा उम्मेदवारविरुद्ध गलत सूचना र घृणाजन्य अभिव्यक्ति फैलिन सक्ने देखिन सक्छ।
को-को छन् ‘नो नट अगेन’को निशानामा ?
अहिलेका नेतृत्व असफल भएको भन्दै यो पुस्तालाई बिदाइ गर्नुपर्ने यो अभियानको उद्देश्य रहेको सामाजिक सञ्जालमा प्रकट हुन्छ। यस्ता अभियानको मुख्य निशानामा पूर्वप्रधानमन्त्री, मन्त्री, धेरैपटक जितेका बुढा नेतालगायत रहेको सामाजिक सञ्जालमा देखिन्छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतलाई हराउन भन्दै सामाजिक सञ्जालमा अभियान नै चलाइएको छ। यसबाहेक पटकपटक मन्त्री भइसकेकाहरू जो अहिले उम्मेदवार छन् उनीहरूलाई पराजित गरौँ भन्ने आह्वान पनि गरिएको छ ।
उनीहरूमा महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, ईश्वर पोखरेल, कमल थापा, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, मीनबहादुर विश्वकर्मा, सुजाता कोइराला, गगन थापा, सुवास नेम्बाङ, महेश बस्नेत, पम्फा भुसाल, प्रेम आले, विनोद चौधरी, गोकुल बाँस्कोटा, ईश्वर पोखरेल, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेतालाई पनि हराउन आह्वान गरिएको छ ।
निशानामा यस्ता व्यक्ति भए पनि उनीहरूको बदलामा कसलाई मत दिने भन्नेमा अभियानकर्ता मौन देखिन्छन् । केही युवा नेता पनि यसको निशानामा परेपछि अभियानलाई लिएर कतिपयले प्रश्न उठाएका छन् ।
क्याम्पेनवालालाई समात्न निर्वाचन आयोगको ताकेता
कुनै उम्मेदवारलाई भोट हालौँ भनेर मत माग्न पाइने भए पनि कुनै उम्मेदवारको नाम किटेर उनीहरूलाई पराजित गरौँ भनेर प्रचार-प्रसार गर्नु गलत भएको निर्वाचन आयोगको तर्क छ।
निर्वाचन आयोगले यस्ता पेजमार्फत दलका नेताविरुद्ध हुने घृणाजन्य अभिव्यक्ति अनुगमनका लागि प्रहरीको साइबर ब्युरोलाई पत्र पठाइसकेको छ।
‘नो, नट अगेन’ अभियान मात्रै होइन, व्यक्तिगतस्तरबाट पनि कसैले कसैको चरित्र हत्या गर्ने नियत राखेर अभिव्यक्ति दिनुहुँदैन।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘‘उम्मेदवारका बारेमा स्वच्छ बहस गर्न पाइन्छ। तर घृणाजन्य अभिव्यक्ति, दुष्प्रचार र लाञ्छना लगाउन पाइँदैन, चरित्र हत्या गर्न मिल्दैन। ‘नो, नट अगेन’ अभियान मात्रै होइन, व्यक्तिगत स्तरबाट पनि कसैले कसैको चरित्र हत्या गर्ने नियत राखेर अभिव्यक्ति दिनुहुँदैन।’’
यस्ता क्रियाकलापले प्रचलित कानुनको उल्लङ्घन हुने भएकाले विद्युतीय कारोबार ऐन अनुसार कारबाहीका लागि समेत अनुरोध गरिएको आयोगका प्रवक्ता पौडेलले बताए।
भूमिगत क्याम्पेनवाला, भेट्ला त प्रहरीले ?
निर्वाचन आयोगले ‘नो नट अगेन’ नामको फेसबुक पेज, ग्रुप तथा अरू सामाजिक सञ्जाल चलाउनेलाई कारबाही गर्न पत्राचार गरेपछि प्रहरीले अनुसन्धान थालेको छ। तर आयोगले अनुसन्धान गर्न भनेको एक साता पुग्न लाग्दा कुनै क्लु भेट्न सकेको छैन।
न त यो क्याम्पेनको सुरुवातकर्ता पत्ता लगाउन सकेको छ, न त अहिले तीव्र रूपमा फैलाउने समूहको पहिचान नै गर्न। सामाजिक सञ्जालमा छ्यापछ्यापती भएको ‘नो नट अगेन’ नामका फेसबुक पेज, ट्विटर ह्यान्डल कसले चलाइरहेको छ भन्ने नजिक पुग्न प्रहरी सकेको छैन।
साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले यो विषय अहिले अनुसन्धानकै चरणमा रहेकाले धेरै बोल्न नमिल्ने बताउँछन्। उनले भने ‘‘उम्मेदवारलाई लाल्छना लगाउने तथा घृणा फैलाउने कार्य सामाजिक सञ्जालमा बढेको भन्दै निगरानी बढाउन र अनुसन्धान गर्दै कारबाही प्रक्रिया थाल्न पत्र आएको छ। अहिले अनुसन्धानकै क्रममा छौँ । आयोगको पत्रअनुसार कानुनबमोजिम कारबाही हुन्छ।’’
#NoNotAgain नया राम्राहरुलाई भोट पूराना भ्रस्टहरुलाई फालौँ को संदेश अझै गाऊहरु र शहरहरुमा प्रचार बढाई बुझाउनू पर्यो।
यो #NoNotAgain campaign सुरु गर्नेहरुलाई धन्यबाद। Thank you for starting this campaign #NoNotAgain to vote for new good candidates & throw tried, tested & failed candidates. Let’s spread the message further. This will benefit the Nation.
#NoNotAgain नया राम्राहरुलाई भोट पूराना भ्रस्टहरुलाई फालौँ को संदेश अझै गाऊहरु र शहरहरुमा प्रचार बढाई बुझाउनू पर्यो। यो #NoNotAgain campaign सुरु गर्नेहरुलाई धन्यबाद। हामी सबै साथ दिन्छौं र दिउ। Thank you for starting this campaign #NoNotAgain to vote for new good candidates & throw tried, tested & failed candidates. Let’s spread the message further. We all support this and let’s all support. This will benefit the Nation.