सी तेस्रो कार्यकालका लागि महासचिव, ली खछ्याङलाई ली छ्याङले विस्थापित गरिदिए

सीपीसीको २०औँ महाधिवेशनमा के-के भयो ?

चीनका दुईवटा लक्ष्यलाई पनि सीपीसीको विधानमा राखिएको छ। सन् २०३५ मा समाजवादी आधुनिकिकरणलाई आधारभूत रूपमा साकार बनाउने र सन् २०५० सम्म चीनलाई समाजवादी आधुनिक बलियो देश बनाउने लक्ष्यलाई विधानमै अटाइएको छ।

सी तेस्रो कार्यकालका लागि महासचिव, ली खछ्याङलाई ली छ्याङले विस्थापित गरिदिए

बेइजिङ । एक साता चलेको चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको २०औँ महाधिवेशन सम्पन्न भएको छ। गत असोज ३० गते आइतबार सुरु भएको महाधिवेशन कात्तिक ५ गते शनिबार बेइजिङस्थित जनबृहत सभाभवनमा सम्पन्न भएको हो।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य र केन्द्रीय अनुशासन निरीक्षण आयोगका सदस्यहरू सम्मिलित पहिलो पूर्ण बैठकले पार्टीको महासचिव, २५ सदस्यीय पोलेटब्युरो समिति र ७ पोलेटब्युरो स्थायी समितिको चयन गरेर आइतबार मध्यान्ह पत्रकार सम्मेलन गर्दै महाधिवेशनको मैझारो गरेको हो।

तेस्रो कार्यकालमा सी चिनफिङ

महाधिवेशनबाट सी चिनफिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि महासचिव निर्वाचित भएका छन्। चिनियाँ नेता तङ स्याओफङले बसालेको थितिअनुसार चीनमा दुई कार्यकालपछि पार्टी नेताहरू स्वतः हट्ने परम्परालाई तोड्दै सी तेस्रो कार्यकालका लागि महासचिव निर्वाचित भएका हुन्।

सी चिनफिङ अगाडिका हुचिन थाओ र च्याङ चमिनले दुई कार्यकाल महासचिव भएर पार्टी नेतृत्वबाट अवकास लिएका थिए। सन् २०१८ को फेब्रुअरीमा पार्टी विधान संशोधन गर्दै दुई कार्यकालको सीमा हटाइएको थियो। त्यही बेलादेखि सी चिनफिङ तेस्रो कार्यकालका लागि पनि महासचिव हुनेछन् भन्ने अनुमान गरिएको थियो।

चीनमा सीपीसीको महासचिव नै राष्ट्रपति हुने भएकाले सी चिनफिङ आगामी मार्चदेखि तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति पनि हुनेछन्। राष्ट्रपति तथा प्रधानमन्त्री लगायतका राजकीय पदहरुमा राष्ट्रिय जनकंग्रेसको अधिवेशनले नियुक्त गर्दछ।

सीपीसीको तेस्रो महासचिव भएपछि सी चिनफिङलाई माओ चतोङपछिकै सर्वशक्तिमान नेताका रूपमा हेरिएको छ। सन् २०१२ को नोभेम्बरमा सम्पन्न सीपीसीको १८ औँ महाधिवेशनबाट सी चिनफिङ महासचिव बनेका थिए। सन् २०१७ मा सम्पन्न १९ औँ महाधिवेशनमा सी चिनफिङ लगायतका मुख्य नेताहरु कायम रहेकाले त्यसलाई स्वाभाविक मानिएको थियो।नेतृत्व चयनमा यसपटक केही अचम्म लाग्ने निर्णय भएका छन्। वर्तमान प्रधानमन्त्री तथा पार्टी नेतृत्वमा दोस्रो उच्च तहमा रहेका ली खछ्याङले अवकाश लिएका छन्। उमेरमा उनी सी चिनफिङभन्दा दुई वर्ष कान्छा छन्। अहिले ६७ वर्षमा रहेका ली खछ्याङ प्रचलनमा रहेको ७ माथि र ८ बाहिर भन्ने सिद्धान्तमा पुन पार्टी नेतृत्व पङ्तिमा रहन सक्थे। ७ माथि ८ बाहिर भनेको महाधिवेशनको समयमा ६७ वर्ष वा त्योभन्दा कम उमेरको नेता बढुवा वा पदमा कायम रहन सक्छ र ८ बाहिर भनेको महाधिवेशनको समयमा ६८ वर्ष अथवा त्योभन्दा बढी उमेरको नेता स्वतः अवकाशमा जान्छ भन्ने हो।

सीपीसीको महाधिवेशनले प्रत्यक्षरूपमा महासचिव र पोलेटब्युरो समिट तथा पोलेटब्युरो स्थायी समिति चयन गर्दैन। महाधिवेशनले मुख्य गरी चारवटा काम गर्दछ। पहिलो केन्द्रीय समितिका सदस्य तथा केन्द्रीय वैकल्पिक सदस्यहरुको निर्वाचन गर्दछ। दोस्रो काममा केन्द्रीय अनुशासन निरीक्षण आयोगका सदस्यहरुको निर्वाचन गर्दछ। तेस्रो काममा पार्टीको विधान संशोधन गर्दछ। र चौथो काममा महासचिवबाट प्रस्तुत प्रतिवेदन पारित गर्दै पाँच वर्षका लागि पार्टीको नीति स्पष्ट पार्दछ। यस बाहेकका नियमित कामहरू पनि महाधिवेशनले गर्दछ।

महाधिवेशन शनिबार नै सम्पन्न भए पनि महासचिव, पोलेटब्युरो समिति र पोलेटब्युरो स्थायी समिति आइतबार बसेको २०औँ सीपीसीको पहिलो पूर्ण बैठकले निश्चित गरेपछि महाधिवेशन सम्पन्न भएको घोषणा गरिएको हो।

सात सदस्यीय पोलेटब्युरो स्थायी समितिमा शीर्ष स्थानबाट क्रमशः सी चिनफिङ, ली छ्याङ, चाउ ल ची, वाङ हु निङ, छाइ छी, तिङ स्ये स्याङ र ली सी रहेका छन्। सात सदस्यमा रहेका ली छ्याङ, छाइ छी, तिङ स्य स्याङ र ली सी पहिलोपटक स्थायी समितिमा परेका हुन्। यी चार जनाले प्रधानमन्त्री ली खछ्याङ, राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चानशु, उपप्रधानमन्त्री वाङ याङ र हान चङलाई विस्थापित गरेका हुन्।
आइतबार सम्पन्न पहिलो पूर्ण बैठकमा २०औँ केन्द्रीय समितिका २०३ सदस्य तथा १६८ वैकल्पिक सदस्यहरू सहभागी भएका छन्। त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका सदस्यहरु पनि उक्त बैठकमा सहभागी भएका छन्।

भाग्यमानी नेता ली छ्याङ

सन् १९५९ जुलाई २३ तारिखका दिन चीनको दक्षिणपूर्वमा पर्ने चच्याङ प्रान्तको रुइआनमा जन्मिएका ली छ्याङ चिनियाँ नेतामा सबैभन्दा भाग्यमानी मानिएका छन्। १९औँ केन्द्रीय समितिमा पोलेटब्युरो सदस्य निर्वाचित भएका ली शाङहाईका पार्टी सचिव हुन्। उनी सन् २०१७ देखि शाङहाईका पार्टी सचिव छन्। शाङहाई केन्द्रीय सरकारको अधिनमा रहेको नगरपालिका हो। चीनमा बेइजिङ, थिआनचिन, शाङहाई र छोङछिङ चर सहर केन्द्रीय सरकारको अधिनमा रहन्छन्। यी नगरपालिकाको पार्टी सचिव सामान्यतः सीपीसीको पोलेटब्युरो सदस्य हुने गर्दछ।
शाङहाईको सचिव हुनुभन्दा अगाडि ली छ्याङ सन् २०१६ देखि एक वर्ष चियाङसु प्रान्तका पार्टी सचिव थिए भने सन् २०१२ देखि २०१६ सम्म चच्याङ प्रान्तका पार्टी सचिव थिए। आइतबार सम्पन्न सीपीसीको २० औँ महाधिवेशनबाट उनी सात सदस्यीय पोलेट ब्युरो स्थायी समितिमा परेका छन्। उनी स्थायी समितिमा महासचिव सी चिनफिङपछि दोस्रो वरीयतामा परेपछि ली छ्याङलाई भाग्यमानी चिनियाँ नेता मानिएको हो।
स्थायी समितिमा पहिलो वरीयताको व्यक्ति पार्टी महासचिव तथा राष्ट्रपति हुने गर्छ भने दोस्रो वरीयतामा परेको व्यक्ति प्रधानमन्त्री हुने गर्छ। आगामी मार्चमा हुने चिनियाँ राष्ट्रिय जनकंग्रेसको अधिवेशनले नयाँ प्रधानमन्त्री नियुक्त गर्ने गर्दछ।

 

सीपीसीका पूर्ण बैठकहरुको आफ्नै किसिमको कार्यभार रहेको छ। पहिलो पूर्ण बैठकले पार्टीको नेतृत्व चयन गर्दछ। आइतबार बेइजिङमा सम्पन्न २०औँ सीपीसीको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठकले सीपीको महासचिव तथा पोलेटब्युरो र पोलेटब्युरो स्थायी समितिका सदस्यहरु चयन गरेको छ। यही बैठकले सी चिनफिङलाई तेस्रो कार्यकालका लागि सीपीसीको महासचिव चयन गरेको हो।

आगामी फेब्रुअरीमा हुने दोस्रो पूर्ण बैठकले चिनियाँ राज्य परिषदका राजकीय महत्वपूर्ण पदमा रहने व्यक्तिहरु छनोट गर्दछ। जसमा चीनको प्रधानमन्त्री चिनियाँ राष्ट्रिय जनकग्रेसको अध्यक्ष तथा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष चयन गर्दछ। त्यसैगरी, आगामी अक्टोबरतिर आयोजना हुने सीपीसीको तेस्रो पूर्ण बैठकले चीनको आगामी वर्षको नीति तथा कार्यक्रम तय गर्दछ।

उक्त नीति तथा कार्यक्रम त्यसपछिको चिनियाँ राष्ट्रिय जनकंग्रेसको अधिवेशनमा प्रधानमन्त्रीले वाचन गर्ने चलन छ। प्रधानमन्त्री नियुक्त भएको एक वर्षपछि मात्र पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउने भएकाले तेस्रो पूर्ण बैठकले नीति तथा कार्यक्रम तय गर्दछ।

यसलाई यसरी बुझ्न सकिन्छ। आगामी मार्चसम्म चीनका प्रधानमन्त्री ली खछ्याङ रहन्छन्। मार्चको पहिलो साता आयोजना हुने चिनियाँ राष्ट्रिय जनकंग्रेसको अधिवेशनको उद्घाटन सत्रमा वर्तमान प्रधानमन्त्री ली खछ्याङले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दछन्।

आगामी मार्चदेखि चीनको प्रधानमन्त्री बन्ने लाइनमा रहेका ली छ्याङ यसकारण पनि भाग्यमानी नेता हुन् किनभने उनी अहिलेसम्म केन्द्रीय सरकारको कुनै सरकारी पदमा काम गरेका छैनन्। सामान्यतः चीनमा प्रधानमन्त्री हुनका लागि उपप्रधानमन्त्री भएर काम गरेको अनुभव हुन आवश्यक हुन्छ।

सन् १९४९ मा चौ एनलाई कुनै सरकारी पदको अनुभव बिना प्रधानमन्त्री बनेका थिए। त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीले क्रान्ति गरेर सत्ता लिएकाले त्यस अगाडि सरकारी पदमा बसेर अनुभव लिएको व्यक्ति छान्न सम्भव थिएन। चौ एनलाईपछि केन्द्रीय सरकारमा नबसी सोझै प्रधानमन्त्री बन्ने दोस्रो नेताका रुपमा ली छ्याङ दरिँदै छन्।

विधानमा संशोधन

सीपीसी २०औँ अधिवेशनले पार्टीको विधानमा पनि केही विषयमा मूलभूत संशोधन गरेको छ। पार्टीको १९औँ महाधिवेशनदेखि नयाँ युगमा सी चिनफिङको चिनियाँ विशेषतायुक्त समाजवादी विचारलाई पार्टीको विधानमा समेट्ने निर्णय गरेको छ। पार्टीको विधानमा राखिएको संघर्षका लक्ष्यहरूको अभिव्यक्तिलाई सुधार गरेर ‘चीनको आर्थिक र सामाजिक विकासको रणनीतिक लक्ष्य’ भनी स्पष्ट पारिएको छ।

चीनका दुईवटा लक्ष्यलाई पनि सीपीसीको विधानमा राखिएको छ। सन् २०३५ मा समाजवादी आधुनिकिकरणलाई आधारभूत रूपमा साकार बनाउने र सन् २०५० सम्म चीनलाई समाजवादी आधुनिक बलियो देश बनाउने लक्ष्यलाई विधानमै अटाइएको छ।

सीपीसीको २०औं महाधिवेशनले प्रस्तुत गरेको ‘चिनियाँ शैलीको आधुनिकीकरणले चिनियाँ राष्ट्रको महान् पुनरूत्थानलाई अघि बढाइने’ नीतिलाई पार्टीको केन्द्रीय कार्यका रूपमा समेटिने विषयलाई विधानमा राख्ने निर्णय गरेको छ।

新华社照片,北京,2022年10月22日
中国共产党第二十次全国代表大会在京闭幕
10月22日,中国共产党第二十次全国代表大会在北京人民大会堂胜利闭幕。这是习近平、李克强、栗战书、汪洋、王沪宁、赵乐际、韩正、王岐山、胡锦涛在主席台上。
新华社记者 鞠鹏 摄

पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्र लगायतका विषयलाई पार्टीको विधानमा समावेश गर्ने निर्णय पनि भएको छ। शान्ति, विकास, समता, न्याय, लोकतन्त्र र स्वतन्त्रता विषयक सम्पूर्ण मानवजातिका साझा मूल्य मान्यतालाई विस्तार गर्ने, दीर्घकालीन शान्ति, सार्वभौमिक सुरक्षा, साझा समृद्धि, खुलापन र समावेशी र स्वच्छ तथा सुन्दर विश्वको निर्माण गर्ने विषयलाई सीपीसीको विधानमा लेख्ने निर्णय महाधिवेशनले गरेको छ।

पार्टीको आत्मनिर्माणको सन्दर्भमा पार्टीको मुख्य निकायको कडाइका साथ सञ्चालन गर्ने जिम्मेवारीलाई तथा पर्यवेक्षणको जिम्मेवारीलाई सुदृढ बनाउने विषयलाई पनि पार्टीको विधानमा लेख्ने निर्णय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved