पुस्तक विमर्श

‘बूढो समय’- संघर्षशील जीवनकथाका प्रतिविम्ब

कवि यथार्थका ‘एक्सपोजर’ मात्र होइनन्, यथार्थलाई बदल्न सामर्थ्य राख्ने स्रष्टा पनि हुन्। उनीहरूका बदल्ने आधार/हतियार हो– कविता। बाबुरामका कविताहरू पनि तिनै हतियार हुन्। तर अझै धार लगाएर चम्काउन र तिखो तुल्याउन भने बाँकी नै देखिन्छ।

नेपालभ्युज

‘बूढो समय’- संघर्षशील जीवनकथाका प्रतिविम्ब

कविता होस् वा साहित्यका अरू कुनै विधा, सामाजिक जीवन, चेतना र परिवेशबाट असंपृक्त रहन सक्दैन। सामाजिक चेतना अभिव्यक्त हुने क्रममा मानिसका दुःख, पीडा, छटपटी, सुखानुभूति र सङ्घर्षहरू अनिवार्य रूपमा सतहमा आउँछन्। साथै, विकसित एवं समृद्ध सांस्कृतिक चेतना पनि साहित्य लेखनमा आउन छाड्दैनन्।

युवाकवि बाबुराम श्रेष्ठ ‘यात्री’ पनि सामाजिक, सांस्कृतिक क्षेत्रमा देखिइरहेको परिवर्तनशील पक्षलाई रेखांकित गर्ने सर्जकमा गनिन्छन्। उनका सद्य प्रकाशित कविताकृति ‘बुढो समय’ मा उनले आफू बाँचिरहेको समाज र मानिसहरूका संघर्षशील जीवनकथाका प्रतिविम्बलाई उतार्न अग्रसर देखिन्छन्।

मानव जातिद्वारा रचित÷सिर्जित लाखौँ वर्षको गर्विलो इतिहासमा परिवर्तन सदैव उपल्लो तहमा स्थापित हुँदै आयो। परिवर्तनको गतिलाई न कसैले रोक्न सके, न परिवर्तनको लयलाई कसैले बदल्न नै सके। आफ्नै गति र लय पक्डेर निरन्तर परिवर्तनका रेखाहरू कोरिँदै आए। ‘बादलहरूको जुलुसमा’ जस्ता कवितामा उनी त्यही परिवर्तनबोधलाई स्वीकार्छन्, यसरी–

‘रविको पूर्वी आगमनसँगै
ऊ पहाड छिचोल्छ एकपछि अर्को
उभिन्छ फेरि अर्को
किनकि
पलपलमा उभिएको हुन्छ कठोर सत्य।’

ग्रामीण समाज र जीवनपद्धति दिनदिनै दुरूह बन्दै गइरहेका छन्। हुर्के–बढेका सन्ततिहरू उच्च शिक्षा अध्ययन गर्ने आकांक्षा बोकेर शहरतिर झर्नु नियमितताजस्तै भइसकेको छ। हात–खुट्टा दह्रा भएका युवाहरूले वैदेशिक रोजगारको बाटो समात्दै विदेशी भूमिमा पसिना बगाउनु अनिवार्यजस्तै भइसकेको छ। युवा पुस्ताको गाउँबस्तीसँगको अपनत्व क्रमशः टुट्दै गइरहेको छ। केवल गाउँबस्ती बुढ्यौलीका दिनहरू गन्दै बसिरहेका ज्येष्ठ नागरिकको वेदना सुस्ताउने थलो मात्र बन्न पुगेको छ। रित्तिँदै गएको ग्रामीण जीवन र त्यसले निम्त्याएको गहिरो असर र पीडा छरपस्ट पार्ने कविता हो– ‘जेठा बा’। आम नेपाली ग्रामीण बस्तीको यथार्थ यिनै हरफहरूले व्यक्त गर्छन्–

‘तिम्रो भागेका खुसीहरू सँगाल्न
र, हामीले हिँड्ने तारे खेत
हामी पौडने बुदरी खोला
हामीले टिप्ने ऐँसेलुका दानाहरू
हाम्रो वनपाखामा गम्कने आवाजहरू
घनीभूत पार्न–
स्वर्गझैँ लाग्ने टाकुरी
परदेशबाट फिर्ती हुनेछ यो छोरो
समयलाई जितेर
पर्ख जेठा बा।’

‘शहरले निलेको मान्छे’ मा शहरप्रति तिखो वितृष्णाभाव पोखिएको छ। निःसन्देह, शहरप्रति मानिसको आकर्षक दिनप्रतिदिन बढ्दो छ। अनेक रोजगारीका साथै विभिन्न सुविधाहरूको उपलब्धताका कारण शहर मानिसहरूको रोजाइमा पर्नु स्वाभाविकै हो। तर शहरको जीवन सोचेजस्तो सहज र सरल छैन। अचाक्ली महँगी, सवारी साधनको बढ्दो जाम, व्यस्त जिन्दगी– शहरको पर्यायजस्तै भइसकेको छ। यो कवितामा उनले शहरले मानव जीवनलाई एउटा यन्त्रशालाभित्र कैद पात्रमा बदल्दै लगिरहेको तितो यथार्थ पोखेका छन्।

अचाक्ली महँगी, सवारी साधनको बढ्दो जाम, व्यस्त जिन्दगी– शहरको पर्यायजस्तै भइसकेको छ। यो कवितामा उनले शहरले मानव जीवनलाई एउटा यन्त्रशालाभित्र कैद पात्रमा बदल्दै लगिरहेको तितो यथार्थ पोखेका छन्।

काठमाडौँलाई बिम्बात्मक धरातलमा उभ्याएर धेरै कविले रचना लेखे। काठमाडौँको सुन्दर अनुहारलाई भन्दा विरूपतालाई कोट्याउँदै लेख्नेहरूकै लहर बाक्लो रह्यो। यस्ता कविता अझै पनि रचिँदै छन्। ‘काठमाडौँहरू’ मा पनि कविले काठमाडौँका विसंगत पक्षहरूलाई केलाउने प्रयत्न गरेका छन्। उनी लेख्छन्–

‘गोधूलि साँझमा
तेजिलो मुस्कान छर्छन हिमालहरू
स्वस्थ हावा सुसेल्दै
हरियाली ओढ्छन् पहाडहरू
हिमाल र पहाडको फेदीमा
राजनीति गर्छन् काठमाडौँहरू।’

हामी बाँचिरहेको पृथ्वीमा मानव सभ्यता र संस्कृतिलाई सौन्दर्ययुक्त बनाउन शासक वर्गले जति मिहिनेत गरे, त्यो भन्दा कम मिहिनेत गरेका छैनन्– युगौँदेखि श्रममा घोटिँदै आएका श्रमशील वर्गले। कुनै दुईमत नहोला, यो संसारलाई सुन्दर र झकिझकाउ तुल्याउन श्रममा निर्लिप्त वर्गहरूकै योगदान रहँदै आयो। यदि श्रमजीवीहरूको पसिना नबगेको भए ताजमहल ठडिने थिएन, न त बन्ने थिए– पिरामिड, चीनको लामो पर्खाल, पिसाको झुकेको टावर, स्वेजनहर नै। ‘मकै पोल्ने आमै’ विश्वलाई सिँगार्ने तिनै श्रमिक वर्गका प्रतिनिधि पात्रका रूपमा उभिएकी छन्।

यदि श्रमजीवीहरूको पसिना नबगेको भए ताजमहल ठडिने थिएन, न त बन्ने थिए– पिरामिड, चीनको लामो पर्खाल, पिसाको झुकेको टावर, स्वेजनहर नै। ‘मकै पोल्ने आमै’ विश्वलाई सिँगार्ने तिनै श्रमिक वर्गका प्रतिनिधि पात्रका रूपमा उभिएकी छन्।

घामपानीको पीडा झेलेर सडक छेउमा मकै पोल्नु कुनै श्रमिकको रहर होइन, पक्कै पनि। त्यो त जीवन धान्ने उपक्रमले ब्युँताएको कर्म हो। मकै पोलेर जीवन गुजारा गर्ने एउटी निम्न वर्गीय महिलाप्रति उनले देखाएको काव्यिक सद्भावले उनको वर्गीय र वैचारिक दृष्टिकोण प्रष्ट हुन्छ। अर्थात् उनी श्रमशील वर्गकै पक्षधर हुन् भन्नेमा द्विविधा देखिँदैन।

‘सेतै कपाल फुलेर
अनुहारमा मुजा–मुजा परेको छ
हड्डीहरू खिएर
छालाहरू लमतन्न छन्
पसिना चुहिरहन्छ तप्प–तप्प
मिलाउन हिसाब–किताब
जिन्दगीको
खटिरहन्छिन् मकै पोल्ने आमै।’

राजनीतिक संकट चुलिएको बेला त्यसको तिखो असर र प्रभाव झेल्न केवल सर्वसाधारण जनता बाध्य हुन्छन्। राज्यको माथिल्लो तहमा आसिन रहेकाहरू हरेक हिसाबले सुरक्षित हुन्छन्। पिल्सिने त उही तल्लो वर्ग। ‘संकटकालको बेलामा’ ले विगतको द्वन्द्वकालीन समयको झल्को दिन्छ। संकटकालको बेला आम नागरिकले धेरै दुःख झेले। नागरिकले झेलेका अथाह दुःखको साक्षी यो कविता बन्न पुगेको छ।

‘सीमानाहरू’ पनि राजनीतिक कोटीकै कविता हो, उनको। दिनहुँ सीमाना मिचिँदा पनि आफूलाई देशभक्त ठान्नेहरूको आवाज मौन रहनुलाई उनी रहस्यमय ठान्छन्। यो कवितामार्फत उनीभित्र राष्ट्रिय चेतनाको पर्दा खुलेको प्रष्टै देखिन्छ।

नयाँ सडक निर्माण भएपछि ऐतिहासिक चिनो बोकेका धेरै पदमार्गहरू विस्मृतिका खाडलमा पुरिँदै गए। ‘सिरुवानीको उकालो’ पनि तिनैमध्ये एक हो। बीपी राजमार्ग बनेपछि सुनसानझैँ बनेको सिरुवानीको उकालोलाई सम्झिँदै कवि लेख्छन्,

‘उसका टाउकामा
ताँतीका ताँती गाडीहरू कुदिरहन्छन्
मोबाइलको क्यामरामा मात्र ऊ कैद भइरहेछ
यहाँका घरहरू कहाँ गए ?
पाटी, पौवाहरू कता बिलाए ?
टौवाहरू कता पलायन भए ?’

‘बुढो समय’ उनको शक्तिशाली कविता हो। वर्तमान समयको चित्र कोर्न सक्षम यो कवितामा संवेदनहीन बन्दै गइरहेको समाज र मानवीय सम्बन्धमा आइरहेको पहिरोको छाप प्रस्टै देख्न सकिन्छ। अन्धकारतिर धकेलिँदै गएको मानव समाज र संशयपूर्ण भविष्यतिर अंकित गर्दै उनी लेख्छन्–

बेकारका छन् आजभोलिहरू
स्वार्थमा रुमल्लिइएका छन्
ऊ पिच्च थुक्छ आजभोलिहरूलाई
जसले तानाबानाहरू कोठामा बुनेर
मान्छेका मनहरू बारम्बार भत्काइरहेछ
असन्तुलित जिन्दगीहरू बजारमा फिँजाएर
बेरोजगारी कारखानाहरू खोलिरहेछ
घर–घरको दूरी बढाइरहेछ।’

समाज र सर्जकबीचको राम्रो ‘ट्युनिङ’ बाट नै राम्रा रचना जन्मिने हुन्। त्यही ट्युनिङको प्रतिफलस्वरुप जन्मिएको कविता मान्न सकिन्छ– ‘कमरेडसँग’ लाई। विगतमा जनपंक्तिसँग भिजेर परिवर्तनको सुनौलो रेखा कोर्न उद्यत राजनीतिक व्यक्तिहरू सत्ताको बागडोर सम्हाल्न पुगेपछि ‘आफैँ बदलिन पुगेको’ आक्षेप झेल्न बाध्य छन्। सिंहदरबार छिरेपछि विगतमा ग्रामीण तहमा बाँडेका सपनाबाट आफैँ विमुख भएका दृष्टान्तहरू सुन्न पाइन्छन्। यो कवितामा भने परिवर्तनकारी शक्ति र पंक्तिप्रति आशावाद सल्बलाएको देख्न पाइन्छ–

‘नदीझैँ बेइमान होइनन् कमरेड
बिर्सँदैनन्–
हिँड्दाहिँड्दै बनाएका किनाराहरू
हातहरू फिँजाउँदै बाँडेका सपनाहरू
ढुंगा–बालुवासँग छाडेका यादहरू
समुद्र भेटेपछि
समुद्रमै बिलाउने रहर छैन उनको।’

कवि यथार्थका ‘एक्सपोजर’ मात्र होइनन्, यथार्थलाई बदल्न सामर्थ्य राख्ने स्रष्टा पनि हुन्। उनीहरूका बदल्ने आधार/हतियार हो– कविता। बाबुरामका कविताहरू पनि तिनै हतियार हुन्। तर अझै धार लगाएर चम्काउन र तिखो तुल्याउन भने बाँकी नै देखिन्छ।

अन्ततः बाबुरामका कविताहरू विषाक्त समय र परिवेशका बीच पनि हरेक मानिसभित्र व्याप्त जिजीविषालाई पहिचान गर्ने शक्ति–सामर्थ्य बोकेर उभिएका छन्। उनका कविताहरूले व्यक्तिगत जीवनका अनुभूतिलाई समयको उज्याला–अँध्यारा तहमा छाम्ने यथासम्भव कोसिस गरेका छन्। कुनै कुनै कविता कलात्मक–सौन्दर्यका हिसाबले निर्बल रहे पछि अधिकांश कविता सम्बल छन्।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved