काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरू संसदमा जान जरुरी नभएको बताएका छन्।
शुक्रबार राजधानीमा भएको सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराइले पुराना पुस्ताले धेरै लोभलालच गर्न नहुने बताउँदै पूर्वप्रधानमन्त्री भइसकेका नेताहरुरू फेरि लर्कोलगाएर संसदमा जान जरुरी नभएको बताएका हुन्।
भट्टराईले देश र जनताको लागि त्याग र बलिदान गर्न पनि सक्नुपर्ने बताए। उनले भने,‘पदमा बसेर मात्रै पदै सबै थोक हो भनेर मान्छे महान हुँदैन। देश र जनताको लागि त्याग र बलिदान गर्न पनि सक्नुपर्छ। त्याग र बलिदान गर्ने व्यक्तिको नै इतिहासले मुल्याङकन गर्छ। हाम्रो पुस्ताले बढी लोभलालच गर्नुहुँदैन। सबैले छोड्न त भएन अर्को पुस्तालाई हस्तान्तरण गर्न पनि केही समय लाग्छ। पाँच-छ जना पूर्वप्रधानमन्त्री भइसकेको साथीहरू अब हामीले फेरि त्यहाँ लर्को लागेर संसदमा गइराख्न हुँदैन। अब हामीले नयाँ पुस्तालाई विस्तारै अगाडि ल्याउनुपर्छ।’
उनले कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी गराएरै आफू चुनाव नलडेको बताए।
भट्टराईले सत्ता गठबन्धनलाई मंसिर ४ को चुनावमा जिताएर फेरि पाँच वर्ष स्थिर सरकार बन्ने अवस्थामा लैजानुपर्ने बताए। उनले निर्वाचिन जितेर सुशासन र समृद्धिका लागि काम गर्नुपर्ने पनि बताएका थिए।
Facebook Comment
Comment