काठमाडौं। नेकपा एमाले डडेलधुराले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न पठानिसंह बोहोराको एकल नाम सिफारिस गरेर पठाएपनि उनले टिकट भने प्रदेश सभाको पाएका छन्। उनी ०७४ को निर्वाचनमा पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
बोहोरा प्रदेश मन्त्री पनि भएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा एमालेले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ। एमालेले बोहोरालाई पछि हटाएर नेपाली कांग्रेस (वीपी) का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने भएको छ।
मल्ल यसअघिको निर्वाचनमा कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। पछिल्लो समय देउवासँग रुष्ट बनेका मल्ल नेपाली कांग्रेस छोडेर वीपी कांग्रेसका प्रवेश गरेका छन्।
करिब तीन दशकसम्म देउवासँगै रहेका मल्लले यो पटक भने उनीसँगै प्रतिस्पर्धा गर्ने भएका छन्। वीपी कांग्रेसले गत स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो।
त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको छ। प्रदेशसभातर्फ भने दुबै क्षेत्रमा एमालेले उम्मेदवारी दिने भएको छ।
पठानसिंह बोहोरा र गजेन्द्र शाही एमालेबाट प्रदेश तर्फका उम्मेदवार बन्ने भएका छन्। डडेलधुरामा २०४८ सालदेखि लगातार प्रतिनिधिसभामा देउवा निर्वाचित हुँदै आएका छन्।
Facebook Comment
Comment