ठूलो भागको खोजीमा मधेसवादी दल

जसपा बालकोट छिरेपछि लोसपा छिर्‍यो बालुवाटार

नेपालभ्युज

जसपा बालकोट छिरेपछि लोसपा छिर्‍यो बालुवाटार

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सत्ता गठबन्धनमा सहभागी हुन कांग्रेससँग छलफल थालेको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँच दलीय गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग नजिकिएपछि लोसपा नेपालले सत्ता गठबन्धनमा सहभागी हुन छलफल थालेको हो।

आजै लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन्।

उनीहरूले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको बताइएको छ। सिट बाँडफाँटमा लोसपाको माग कति हो, त्यसको बारेमा पनि छलफल हुने भनिएको छ। नेताहरू बालुवाटारबाट छलफल गरेर फर्केपछि अहिले लोसपाको केन्द्रीय कार्यालयमा शीर्ष नेताको बैठक बसिरहेको छ।

यसअघि एमालेसँग चुनावी तालमेल गर्ने भनि लोसपाले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो। तर सिट बाँडफाँटमा कुरा नमिलेपछि एमालेसँग चुनावी गठबन्धन नगर्ने निर्णयमा लोसपा पुगेको थियो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा जारी छ।

बैठकमा जसपा सहभागी छैन। कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनका आधारमा चार दलले आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट टुंग्याउने गरी नेताहरू निर्णायक छलफलमा छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले तोकेको छ।

त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्नेछ। यसका लागि अब भोलिसम्म समय बाँकी रहेकाले पनि आजै बाँडफाँट सक्न चार दल लागेका हुन्।

सत्ता गठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको बताइएको छ।

सत्ता गठबन्धनले बढीमा १६ सिट मात्र दिने भनेपछि जसपाले गठबन्धन छोडेर एमालेसँग तालमेल बारे छलफल अघि बढाएको हो। जसपाले गठबन्धनबाट बाहिरिएको आधिकारीक घोषणा भने गरिसकेको छैन।

एमालेसँग जसपालले प्रतिनिधि सभामा २५ सिट पाउनुपर्ने दाबी गरेको बुझिएको छ। तर एमाले बढीमा २२ सिट दिन तयार भएको नेताहरूले बताएका छन्। एमाले यतिबेला राप्रपासँग तालमेलबारे छलफलमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved