काठमाडौं। सिट बाँडफाँट टुंग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ।
बिहानदेखि जारी बैठकमा जसपाका कुनैपनि नेताहरू सहभागी नभएको बुझिएको छ। मागे जति सिट नपाउने भएपछि जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ।
सिट बाँडफाँटको विषयमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठक बीचमै छाडेर जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट गएका थिए।
यादवको अनुपस्थितिमा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो। एमाले नेताहरूका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने प्रयास जारी छ।
प्रतिनिधिसभाका २६ सिट मागेको जसपालाई एमाले बढीमा २२ सिट दिन तयार भएको बुझिएको छ। यद्दपी औपचारिक सहमति भने भइसकेको छैन। प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने समय नजिकिदै गर्दा जसपाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमाले दुवैसँग चुनावी तालमेलका लागि दोहोरो संवाद सुरु गरेको थियो।
सत्ता गठबन्धनमा १६ सिट पाएको जसपाले त्यसमा चित्त नबुझाएपछि एमालेसँग चुनावी तालमेलको प्रक्रिया अघि बढाएको हो। बिहीबार साँझ नेकपा एमालेका शीर्ष नेता र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा चुनावी तालमेलका लागि दुवै पक्ष सकारात्मक भएको नेताहरुको भनाइ छ।
बिहीबार एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच चुनावी तालमेलबारे लामो छलफल भएको थियो।
Facebook Comment
Comment