खानपानमा होस गरौं ! नत्र दशैँ दशा बन्ला

दशैँ भन्नासाथ खानपान र मनोरञ्जन सँगसँगै जोडिने गर्दछ । तर, स्वास्थ्यको ख्याल नै नगरी मासुजन्य तथा चिल्लो पदार्थ बढी भएका परिकार सेवन गर्दा हृदयघात, मस्तिष्कघातजस्ता रोग निम्तिन सक्ने भएकाले सचेत रहन जरुरी छ । दशैंमा खाइने मासु, मदिरा तथा मिठाइमा पाइने ट्रान्सफ्याट मानिसका लागि निकै हानिकारक हुन्छ ।

नेपालभ्युज

खानपानमा होस गरौं ! नत्र दशैँ दशा बन्ला

दशैं भन्नासाथ खानपान र मनोरञ्जन संगसगै जोडिने गर्दछ । तर, स्वास्थ्यको ख्याल नै नगरी धेरै बेर वा धेरै पटक तताएको तेलमा तारेको मासुजन्य तथा वनस्पति घिउमा बनाएको मिठाइ तथा खानेकुराहरू र चिल्लो पदार्थ बढीभएका परिकार सेवन गर्दा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह र मोटोपन जस्ता रोग निम्तिन सक्ने भएकाले  सचेत रहन जरूरी छ । 

दशैमा खाने अत्याधिक मासु, मदिरा, धुम्रपान तथा मिठाइमा पाइने ट्रान्सफ्याट मानिसकालागि निकै हानिकारक छ ।

ट्रान्सफ्याट मिसिएका खाना खाँदा त्यसले मानिसको मुटुको रक्तनली, मिर्गौला र मस्तिष्कमा गम्भीर असर पुर्याउने गरेको र यसले मानिसको मृत्युदर बढाउन थालेको छ ।

बिश्वमा बर्षेनि करिव ५५०००० मानिसको ट्रान्सफ्याटको कारणले मृत्यु हुन्छ । तसर्थ २ प्रतिशत भन्दा वढि ट्रान्सफ्याट भएको व्यावसायिक रूपमा उत्पादन भएको खानेकुरामा प्रतिवन्ध लगाउन चाडैनै कानुन बनाउन खाध्य प्रबिधि तथा गुण नियत्रण विभाग लागि परेको छ ।

के हो ट्रान्सफ्याट ?
ट्रान्सफ्याटको ठ्याक्कै नेपाली अर्थ  नभएपनि यसलाई हामीले अति खराव चिल्लो भनेर बुझ्ने गरेका छौँ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानमा यसको नेपाली नाम अति खराब चिल्लो (अखचि) राख्ने कि भन्ने विषयमा छलफल भइरहेको छ । 

ट्रान्सफ्याटको स्रोत दुई प्रकारको हुन्छ । एउटा प्राकृतिक र अर्को कृत्रिम । प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ आदिमा पाइन्छ । कृत्रिम ट्रान्सफ्याट वनस्पति तेलमा पार्सियल हाइड्रोजनेसन गरेर कारखानामा बनाइन्छ ।

व्यापारिक दृष्टिकोणबाट लाभ लिन वनस्पति तेलमा हाइड्रोजिनेसन गरेर बाक्लो वनस्पति घिउ बनाइन्छ, यो कोठाको तापक्रममा जमेको हुन्छ, यो स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ ।

फ्याट अर्थात् फ्याटी एसिडको पनि कुरा गरौँ
फ्याट अर्थात् फ्याटी एसिड दुई किसिमका हुन्छन् स्याचुरेटेड र अनस्याचुरेटेड ।

पहिला हामी अनस्याचुरेटेड फ्याट वा तेलहरूलाई राम्रो भन्थ्यौ ।  त्यस्ता फ्याटको प्रयोग पनि धेरै नै ग¥यौँ । यो पनि दुई किसिमको हुदो रहेछ । एउटा पोली अनस्याचुरेटेड फ्याटी एसिड र अर्को मोनो अनस्याचुरेटेड फ्याटी एसिड ।

अव हामी कुरा गर्दै छौँ  मोनो अनस्याचुरेटेडको । तर यो पनि दुई किसिमको हुदो रहेछ । एउटा ट्रान्सफ्याट र अर्को सिसफ्याट । यसमध्ये ट्रान्सफ्याट धेरै हानिकारक छ ।
ट्रान्सफ्याटको  स्रोत एउटा प्राकृतिक हुन्छ भने अर्को कृत्रिम । प्राकृतिक स्रोतबाट पाउने ट्रान्सफ्याट त्यति धेरै हानिककारक मानिदैन । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ ।

दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई खानु सुरक्षित मानिन्छ । प्राकृतिक स्रोतमा ट्रान्सफ्याटको मात्र ५ देखि १५ प्रतिशत सम्म पाउँछौ  ।

तर दशैमा खाने अत्याधिक मासु, मदिरा, धुम्रपान तथा मिठाइमा पाइने ट्रान्सफ्याट मानिसकालागि निकै हानिकारक छ । व्यावसायिक रूपमा कृत्रिम उत्पादन गर्ने चिल्लोमा ट्रान्सफ्याटको मात्रा १५ देखि ६५ प्रतिशत सम्म हुन्छ ।

कृत्रिम रुपमा पाइने ट्रान्स फ्याटले व्यक्तिको शरीरमा अति नकारात्मक असर गर्दछ । कृत्रिम ट्रान्सफ्याटको मुख्य स्रोत धेरैबेर तताएको तेल, पटक पटक तताएको तेल तथा वनस्पति घिउमा हुन्छ ।

रुम टेम्प्रेचरमा जम्ने चिल्लो पदार्थहरुमा ट्रान्सफ्याटको मात्रा बढी छ भन्ने पुष्टि हुन्छ । यस्तो तेल वा घिउमा पकाएको खानेकुरामा अत्यधिक मात्रामा ट्रान्सफ्याट पाइन्छ । त्यस्तै, जंक फूड, बजारमा पाइने तयारी खानेकुरा, बेकरी आइटम, प्याकेटमा पाइने खानेकुरा, मिठाइका परिकार लगायतमा शरीरलाई चाहिनेभन्दा बढी ट्रान्सफ्याटको मात्रा हुन्छ । 

त्यस्तै, उद्योगबाट उत्पादित केही चिल्लो पदार्थहरु जसलाई पार्सियल्ली हाइड्रेजेनेटेड ओइल अर्थात् पीएचओ भनिन्छ, यस्ता खाद्यन्नमा केही मात्रामा हाइड्रोजनको अणु मिसाएर बनाइएको हुन्छ ।

यस्ता खाद्यपदार्थको स्वाद मिठो भए पनि स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै हानिकारक हुन्छन् । घरमा बनाएका खानेकुरामा पनि अत्यधिक रुपमा तारेको खानेकुरामा पनि ट्रान्स फ्याट हुनसक्छ ।

कृत्रिम ट्रान्सफ्याट हामीले दिनभरिमा खाने कुल फ्याटको २ प्रतिशत मात्र खानु उपयुक्त मानिन्छ ।  पहिले हामी अनस्याचुरेटेड फ्याट वा वनस्पति तेलहरुलाई राम्रो भन्थ्यौँ तर पछिल्ला अध्ययनहरुले पार्सियल हाड्रोजेनेसन  गरेको तेल सस्तो पनि, मिठो पनि र यि तेलहरू निकै खराव भएको देखाएको छ ।

त्यसमा ट्रान्सफ्याट धेरै हुन्छ । वनस्पति घिउमा ३५ देखि ६५ प्रतिशतसम्म ट्रान्सफ्याट भएको पाइन्छ । यो भनेको मानव स्वास्थ्यका लागि निकै खराब हो ।  स्वादिलो हुने भएकाले होटल तथा रेष्टुरेन्टहरुमा ट्रान्सफ्याटयुक्त खानेकुरा बढी बिक्रि हुन्छ ।

ट्रान्सफ्याटयुक्त खानेकुरा बढी समय टिक्नेभएकाले यसबाट व्यवसायीहरुले बढी नाफा कमाउछन् । ट्रान्सफ्याटले शरीरको राम्रो खाले कोलेस्ट्रोल घटाउँछ भने नराम्रो बढाउने गरेको देखिन्छ ।

राम्रो खालको एच डि एल कोलेस्ट्रोल धमनीमा जम्न दिँदैन भने नराम्रो एल डि एल कोलेस्ट्रोलले धमनीको भित्री भागमा धमनीलाई साँगुरो बनाउँदै जान्छ ।

यसरी ट्रान्सफ्याटले थुपारेको चिल्लोको भित्री पत्र फुट्छ र त्यसमा रगतमा भएको प्लेटलेट आएर जम्ने हुनाले मुटुको धमनीलाई टालिदिन्छ । त्यसपछि हृदयघात हुने गर्दछ ।

यसले मस्तिष्कभित्रको मसिनो धमनीमा पनि असर पु¥याउछ । मस्तिष्कभित्रको मसिनो धमनी अवरुद्ध हुँदा मस्तिष्कघात हुने गर्दछ ।

ट्रान्सफ्याटको प्रयोगको  कुरा गर्दा

दोस्रो विश्वयुद्धमा विश्वमा ट्रान्फ्याटयुक्त खाना मार्गारिनको अत्याधिक प्रयोग गरेको थियो ।

खाना सर्वसुलभ मूल्यमा सबैको पहुँचमा पु¥याउन ट्रान्सफ्याटको सहारा लिएको पाइन्छ । यो चलन विश्वभरका देशहरूले अवलम्बन गर्न थाले,  अहिले विश्वका सबैजसो देशमा यसले समस्या निम्त्याएको छ ।

यसले मुटु रोग लगायत अन्य धेरै रोग बढेको पाइएकाले अब यसबाट कसरी बच्ने भनेर सोच्ने समय आइसकेको छ । हाल विश्वका ४३ भन्दा बढी देशले प्रतिबन्ध लगाइसकेको छ ।

सबैभन्दा पहिले डेनमार्कले यसमा प्रतिबन्ध लगाएको थियो । सन् २००३ देखि २००८ सम्म डेनमार्क ‘ट्रान्सफ्याट’ नियन्त्रण गर्ने एक्लो मुलुक थियो ।डेनमार्कले नै ‘ट्रान्सफ्याट’का कारण युवाहरूमा हृदय घातको समस्या देखा परेको भन्ने रिपोर्ट विश्व स्वास्थ्य संघठनमा पेस गरेपछि विश्वस्वाथ्य सङ्गठनले ट्रान्सफ्याट’ नियन्त्रण गर्न आग्रह गर्न थालेको हो ।

नेपालमा अहिले ‘ट्रान्सफ्याट’को मापदण्ड निर्धारण गर्ने नीति नै छैन नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेपालमा ‘ट्रान्सफ्याट’ नियन्त्रणसम्बन्धी नीति तथा कानुन निर्माणमा आवश्यक पहल गरिदिन सरकार सँग आग्रह गर्दै आएको छ ।

यसरी घटाउन सकिन्छ  ट्रान्सफ्याटको प्रयोग ?
मानव शरीरकालागि घातक मानिने ट्रान्स फ्याट को मात्रा घटाउन आवश्यक छ । यसकालागि  सबै भन्दा पहिले आफुले खाने खानामा कति ट्रान्सफ्याट छ भनेर  बुझ्न जरुरी छ ।

बजारमा पाइने खानेकुरामा ट्रान्स फ्याटको प्रयोग थाहा पाउन प्याकेटको बाहिर टाँसिएको लेवलमा ट्रान्स फ्याटको मात्रा पनि लेखिएको हुन्छ । सकेसम्म  ट्रान्स फ्याट नभएको  खानेकुरा किन्ने त्यस्तै, घरमा बनाइने खानेकुरामा पनि तोरी, नरिवल, ओलिभ लगायत तेलको बढी प्रयोग गर्नुपर्ने  ।

त्यस्तै, गाई, भैँसीको घिउमा पकाइएका खानेकुरामा ट्रान्स फ्याटको मात्रा कम हुने हुँदा घरमा पनि थोरै घिउको प्रयोग गर्नु ट्रान्स फ्याटको प्रयोग घटाउने अर्को उपाय हो ।

रातो मासु, आइसक्रिम, बेकरीका परिकार जस्ता खानेकुराको प्रयोग कम गर्नु नै ट्रान्स फ्याट घटाउने उपाय हो ।

वनस्पति घिउमा बनाएको मिठाइ तथा खानेकुराहरू र धेरै बेर वा धेरै पटक तताएको तेलमा तारेको मासुजन्य तथा चिल्लो पदार्थ बढीभएका परिकार सेवन सकेसम्म नगर्दा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह र मोटोपन जस्ता रोगहरूबाट बच्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved