आफ्नो कारणले आमालाई डिप्रेसन भएको भन्दै ‘डेमो नदेखाउने’ विजय शाहीको घोषणा

विजय शाही भन्छन्, ‘‘मैले डेमो देखाउँदा आमा खुसी हुनुहुन्थ्यो। तर, यो काम फेक भन्दै हल्ला चलेपछि आमा दु:खी हुनुभयो। मैले अरुलाई ढाँटेको र छलकपट गरेको भन्ने भ्रम आमालाई परेको छ। यसै कारणले उहाँ डिप्रेसनमा हुनुहुन्छ। यसैले, म अब डेमो देखाउँदिन।’’

नेपाल भ्युज

आफ्नो कारणले आमालाई डिप्रेसन भएको भन्दै ‘डेमो नदेखाउने’ विजय शाहीको घोषणा

काठमाडौं। आफूलाई मेमोरी किङको दाबी गर्दै आएका कालिकोटका युवा विजय शाहीले अबदेखि डेमो नदेखाउने अर्थात् ‘छिटो छिटो किताब नपढ्ने’ भएका छन्। करिब एक वर्षयता गुपचुप रहेका उनी आफैँले विगतमा गरेका जस्ता काम नदोहोर्‍याउने घोषणा गरेका हुन्।

वर्ष दिनअघि एउटा ठूलो पुस्तकलाई १० मिनेटमै पढेर सक्ने भन्दै छिटो छिटो पढेको जस्तो गर्दै युट्युबमा छाएका विजय शाहीको भिडिओ भाइरल भएको थियो। उनले आफ्नो प्रतिभा र क्षमता देखाएको दाबी गरे पनि धेरैले फेक भएको र अरुलाई उल्लु बनाएको भन्दै टिप्पणी गरेका थिए।

धेरैले त उनको यो काम ठगी हो भन्ने आशंका मात्र गरेनन् स्मरण शक्ति बढाइदिने भन्दै आफूसँग पैसा असुली गरेको भन्दै प्रहरीमा ठगीको उजुरी पनि हालेका थिए।

त्यसको वर्ष दिनपछि युट्युबर भोजराज थापालाई अन्तरवार्ता दिँदै विजय शाहीले आफ्नो कारणबाट आमा दु:खी भएको भन्दै त्यस्तो काम छाडेको बताए। यद्यपि उनले आफूसँग छिटो छिटो पढ्ने शक्ति कायमै रहेको दाबी गरे। उनले भनेका छन् ‘‘मसँग अझै त्यो शक्ति छ। तर, म अब छिटो छिटो किताब पढेर डेमो देखाउँदिनँ। कसैलाई सकाउँदिनँ पनि । किनकि, अब त्यो माहौल सकियो। मलाई सबैले फेक भने। फटाहा भने। म ज्यादै दु:खी छु।’’

आफ्नो कारणले आमालाई समेत डिप्रेसन भएको भन्दै आफू पनि डिप्रेसनबाट निको हुँदै गरेको विजय शाहीले बताए। आमाले यस्ता काम छाड्न आग्रह गरेकाले आफूले डेमो देखाउने काम गर्न छाडेको उनले बताए।

‘‘जब मैले डेमो देखाए आमा खुशी हुनुभएको थियो। तर मेरो काम फेक हो भन्ने हल्ला फैलिएपछि आमा दु:खी हुनुभयो। उहाँले यस्तो नगर्न भन्नुभयो। मैले अरुलाई ढाँटेको र छलकपट गरेको भन्ने भ्रम आमालाई परेको छ। यसैले मेरो कारणले आमा डिप्रेसनमा जानुभएको छ। म पनि केही समय डिप्रेसनमा थिए। अहिले अलि निको भएको छु। आमाले भनेअनुसार अब म डेमो देखाउँदिन। आमाको वचन मान्छु’’ उनले भनेका छन्।

मेमोरी किङमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम दर्ता भएको भन्दै मानिसलाई उल्लु बनाएका उनले मरेको फोटोसमेत सार्वजनिक गरेका थिए। मरेझैँ गरी सुतेर कात्रो ओडेको र नाकमा कपास कोचेको भिडिओ सार्वजनिक गरेपछि उनी झनै विवादमा आएका थिए। त्यसको वर्ष दिनपछि उनले अब विगतको जस्तो काम नगर्ने बताएका हुन्।

विजय शाहीले  छिटिछिटो पढ्ने र पढेको कुरा सम्झने फर्मुला सिकाइदिने भन्दै १ सय ५० जति विद्यार्थीसँग पैसा समेत उठाएका थिए। फर्मुला सिकेको खण्डमा सजिलै लोकसेवा आयोगमा नाम निकाल्न सकिन्छ भन्दै उनले प्रलोभन पारेको ठगिएका विद्यार्थीहरूले गुनासो गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved