रवीन्द्र मिश्र: मनुज चौधरीदेखि राप्रपा उपाध्यक्षसम्म

राजनीतिक स्वार्थका लागि 'वैकल्पिक राजनीति'माथि खेलवाड

मिश्रको राप्रपा प्रवेश भने स्वाभाविक हो । एक ‘मोडरेट कन्जर्भेटिभ’ पार्टीको अपेक्षा राख्ने मान्छेका लागि ‘वैकल्पिक राजनीति’ कहीँ कतै सुहाउँदो थिएन । त्यो कृत्रिम कुरा थियो । तर, राप्रपा प्रवेश गरेर पनि मिश्रले ‘वैकल्पिक राजनीति’ का नाममा गरेका नाटक र अन्तरध्वंश बिर्सन मानिसलाई सजिलो हुने छैन ।

रवीन्द्र मिश्र: मनुज चौधरीदेखि राप्रपा उपाध्यक्षसम्म

काठमाडौं। लेखक, पत्रकार तथा साझा पार्टीका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र बुधबार विधिवत् रूपमा राप्रपा प्रवेश गरेका छन्। उनलाई प्रवेश गराउन राप्रपाले राष्ट्रिय सभागृहमा एक कार्यक्रम नै आयोजना गर्‍यो। मिश्रको प्रवेशपछि राप्रपा नेता-कार्यकर्ता उत्साहित देखिन्थे। त्यसपछि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने– ‘अब राप्रपा पहिलो पार्टी हुन्छ।’

राप्रपालाई ‘पूर्व पञ्च र राजावादी’ को पार्टी भन्ने गरिन्छ। यो पार्टीमा अधिकांश निर्दलीय पञ्चायती व्यवस्था र शाहवंशीय राजतन्त्रसँग पृष्ठभूमि वा विरासत जोडिएका परिवारका मानिस लाग्ने प्रचलन छ। मिश्रको परिवार सक्रिय राजनीतिमा नभए पनि कुनै न कुनै प्रकारले अपदस्त शाहवंशीय राजपरिवारसँग जोडिँदै आएको थियो। तसर्थ, मिश्र राप्रपा प्रवेश गर्ने आशंका उनी राजनीतिमा प्रवेश गरेदेखि नै प्रबल थियो।

आफ्नै दाबी झुटो, अरुको आशंका सही सावित

राजनीतिमा प्रवेश गर्नुअघि मिश्र एक प्रतिभाशाली टिप्पणीकार र खरो पत्रकार मानिन्थे। बीबीसी नेपाली सेवाको जागिर छोडेर उनी राजनीतिमा आएका हुन्। रेडियोमा उनी नेताहरूलाई खरा, ठाडा र आक्रामक प्रश्न सोध्थे। त्यसले स्रोतामाझ एक निर्भीक तथा जनमुखी प्रश्नकर्ताको छवि निर्माण गरेको थियो।

तर, जब मिश्रले बिबिसी नेपाली सेवाको जागिर छाडेर साझा पार्टीं स्थापना गरे– आफ्नो राजनीतिक विचार र स्पेसलाई वैकल्पिक राजनीति भन्न थाले। भारतको अरविन्द केजरिवालको आम आदमी पार्टीसँग तुलना गर्दै साझा पार्टीको ‘ब्रान्डिङ’ गर्न थाले।

मिश्रले ‘वैकल्पिक राजनीति’ को कुरा गर्नु धेरैलाई कृत्रिम लाग्थ्यो। ‘वैकल्पिक राजनीति’ को मान्यता र उनको पृष्ठभूमि, विचार र राजनीतिक अडानबीच कुनै संगति थिएन। अधिकांशले शंका गर्थे–‘वैकल्पिक राजनीतिमा मिश्रको दुईचार दिनको चुरिफुरी मात्रै हो, अन्ततः उनी राप्रपा प्रवेश गर्नेछन्।’

मिश्र स्वयं भने आफूबारेका यस्ता टिप्पणी र आंशंकालाई अस्वीकार गर्थे। तर, अन्ततः उनीबारेको आशंका सही साबित भयो, उनी आफैँ आफ्नो बारेमा झुटो  सावित भए। अन्तिममा राप्रपा प्रवेश गरेरै छाडे।

आशंकाको आधार : मनुज चौधरी

मानिसले आफ्नो अन्तरआत्माको आवाज केही दिन कृत्रिम तरिकाले लुकाउन सक्ला, तर, जीवनभरि त्यो काम असम्भव जस्तो हुन्छ। कुनै न कुनै तरिकाले मनको कुरा बाहिर निस्किहाल्छ। राजनीतिमा प्रवेश गर्नुअघि उनले मनुज चौधरीको छद्म नाममा लेख्थे। त्यसैमध्येको एक लेखमा उनले राजतन्त्रको पैरवी र प्रतिरक्षा गर्दै लेखेका थिए।

मिश्रको राजनीतिक उद्देश्यमाथि आशंका गरिनुको मुख्य कारण उनको त्यही मनुज चौधरीवाला लेख थियो। त्यो लेख त्यतिबेला प्रकाशित भएको थियो, जब नारायणहिटी दरबार हत्याकाण्डपछि नेपाली समाज राजतन्त्र कि गणतन्त्रको तीव्र बहस र ध्रुवीकरणको चरणमा प्रवेश गरेको थियो।

मिश्रको छद्म लेखले राजतन्त्र जोगिन सम्भव थिएन, जोगिएन पनि। तर, त्यो लेख उनी ‘राजावादी’ हुनको अभिलेख र प्रमाण बन्न पुग्यो, जुन कुरा मिश्र लुकाउन चाहन्थे, अन्ततः लुकेन।

त्यसो त साझा पार्टी खोल्दा उनले जुन तामझाम गरेका थिए– त्यसको आर्थिक स्रोत के हो भन्ने प्रश्न पनि उनीमाथि उठेको थियो। पूर्वराजा ज्ञानेन्द्र शाह र प्रभाकार शमशेर परिवारको व्यावसायिक  सम्बन्धबारे समाज बेखबर थिएन। साझा पार्टीको स्थापना र सञ्चालनमा प्रभाकर शमशेर परिवारको सहयोग छ भन्ने समाचार पनि उनी कुनै दिन राप्रपा प्रवेश गर्न सक्ने बलियो आधार मानिन्थ्यो।

उनी राप्रपा प्रवेश गर्न सक्ने तेस्रो आधार भने स्वयं उनको पारिवारिक पृष्ठभूमि थियो। उनी स्थापित निबन्धकार तथा चित्रकार मनुजबाबु मिश्रका छोरा हुन्, जो राजतन्त्रका कट्टर समर्थक थिए।

विवेकशीललाई धोका

मिश्रको राप्रपा प्रवेशले ‘वैकल्पिक राजनीति’ भन्नेहरूको विश्वसनीयता त घट्यो नै, सबैभन्दा बढी धोका विवेकशील नेपाली दललाई भयो। विवेकशील नेपाली दलका संस्थापक उज्ज्वल थापा थिए, जसले २०७० को दोस्रो संविधानसभा निर्वाचनदेखि ‘कुकुर’ चिन्ह लिएर वैकल्पिक राजनीतिको भिन्नै अभ्यास र पैरवी गरिरहेका थिए।

साझाको भन्दा विवेकशीलको विश्वसनीयता बढी थियो। उज्ज्वल थापाले आफू पृष्ठभागमा बसेर मिलन पाण्डे, रन्जु दर्शना, पुकार बम, निर्देश सिलवालजस्ता दर्जनौँ युवालाई अगाडि ल्याए। २०७४ को स्थानीय निर्वाचनमा साझा पार्टीका उम्मेद्वार किशोर थापाले भन्दा विवेकशील दलकी रन्जु दर्शनाले काठमाण्डौंको मेयरमा धेरै भोट ल्याइन्।

त्यसपछि, साझा र विवेकशील बीच एकता हुनु पर्ने सार्वजनिक माग बढ्न थाल्यो। अनौपचारिक जनदबाबको कारणले यी दुई पार्टी एक हुन बाध्य त भए तर, मिश्रको राजनीतिक स्वार्थ लुकेको थिएन। उनी विवेकशीलको लोकप्रियतालाई समेत उपयोग गर्दै छिट्टै ठूलो पार्टीको नेता हुन चाहन्थे। तसर्थ, एकीकृत पार्टीको नेतृत्व उनले कुनै हालतमा छोड्न चाहेनन्।

विवेकशील नेपाली दलका संस्थापक नेता उज्ज्वल थापा मिश्रसँग निरास हुँदै विते। कोरोना महाव्याधिको चरमोत्कर्ष कालमा उनको निधन भयो। उनी मिश्रबाट वैकल्पिक राजनीतिलाई धोका हुनेमा प्रष्ट थिए। फेरि एकता नहोस र विवेकशील दल आफ्नै शुद्धता, मौलिकता र भिन्न अस्तित्वसहित अघि बढोस भन्ने चाहन्थे।

तर, मिश्र र मिलन पाण्डेको प्रयत्नले यी दलबीच फेरि एकता भयो। तर, त्यो एकता पनि टिक्न सकेन। मिश्रसँगको एकता र विभाजनको अनावश्यक घनचक्करले विवेकशील नेपाली दलको पनि वैकल्पिक राजनीतिको छवि कमजोर भयो। अन्ततः अध्यक्ष नै पार्टीलाई अलपत्र छोड्दै राप्रपा प्रवेश गर्दिए।

पहिलो एकता परीक्षण : दोस्रो एकता भ्रम

साझा र विवेकशील दलको पहिलो एकताबाट नै धोकाको अनुभूति गरेका विवेकशील दलका केही नेता कार्यकर्ता भने दोस्रो एकतामा सामेल भएनन्। उनीहरूले भिन्नै नेपाल विवेकशील पार्टी गठन गरे र कुकुर चिन्हको विरासत बोकिरहे।

कर्मा तमाङ, विजयबाबु शिवाकोटी, अजिता राई, सुदर्शन विक्रम कार्कीलगायत उज्ज्वलकालीन विवेकशील अभियन्ताले यो अभियान अहिले पनि धानिरहेका छन। उनीहरुको अनुभव र बुझाईमा मिश्र र साझा पार्टीसँगको विवेकशील दलको पहिलो एकता परीक्षण थियो।

त्यसका लागि कसैलाई दोष लगाउन मिल्दैन। तर, दोस्रो एकता भने बिल्कुलै भ्रम र अनावश्यक थियो। मिश्रबाट वैकल्पिक राजनीतिलाई न्याय हुँदैन भन्ने कुरा पहिलो एकताको अवधिमै प्रष्ट भइसकेको थियो।

मुमारामको पूर्वानुमान

राजनीतिक विश्लेषक मुमाराम खनाल माओवादी आन्दोलन हुँदै नयाँ शक्ति पार्टीमा थिए। तर, नयाँ शक्ति पार्टीभित्र उनको डा. बाबुराम भट्टराईसँग कुरा मिलेन। उनले नयाँ शक्ति पार्टी छोड्दै साझा पार्टी निर्माणमा रवीन्द्र मिश्रलाई साथ दिए।

मुमारामले मिश्रसँगका राजनीतिक सहकार्यका तिक्त अनुभूति बेलाबखत सार्र्वजनिक रूपमै व्यक्त गर्ने गरेका छन्। उनका भनाइमा –‘साझा पार्टी गठनको समयदेखि नै मिश्रमा राजावादी रुझान थियो तर, युवा पुस्तामा वैकल्पिक राजनीतिको भ्रम दिन उनी त्यो बेला आफ्ना मनका एजेन्डा थाती राख्न राजी भए।’

विवेकशील–साझा पार्टीको लुम्बिनी बैठकपछि भने खनालले मिश्र जुनकुनै बेला राप्रपा प्रवेश गर्छन् भन्ने अनुमान गरिसकेका थिए। तसर्थ, उनीलगायत संस्थापक नेता डा. सूर्यराज आचार्यले मिश्रको साथ छोडिदिए। खनाल र आचार्यले मात्रै हैन, त्यसपछि साझा पार्टीका दर्जनौं संस्थापक नेताले एकपछि अर्को गर्दै पार्टी छोडे।

वैचारिक संघर्ष र पार्टी कब्जाको प्रयास

त्यसले मिश्रलाई झनै निरास र खिन्न बनायो। अन्ततः मिश्र ‘मार्ग परिवर्तन’ गर्दै ‘विचारभन्दा माथि देश’ भन्ने दस्तावेज ल्याउने मुडमा पुगे। अर्थात् वैकल्पिक राजनीतिको स्पेसबाट आफ्नो राजनीतिक करिअर बन्ने सम्भावना जब उनले देख्न छोडे, उनी आफ्नो पुरानो मनुज चौधरीवाला विचार र एजेन्डामा फर्किए।

त्यसपछि विवेकशील साझा पार्टीको अस्तित्व झनै संकटग्रस्त हुँदै गयो। मिलन पाण्डे, केशव दाहाल, रन्जु दर्शनालगायतले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ नामक दस्तावेज प्रस्तुत गर्दै मिश्रलाई वैचारिक चुनौती दिए।

गत स्थानीय चुनावमा पार्टीको कमजोर हालतका कारणले मिश्र पार्टी छोड्न बाध्य भए। तर, मिलन पाण्डे समूह पनि पार्टीबाट निकालियो। मिश्र र पाण्डे दुवै पक्षले विवेकशील साझा पार्टी कब्जा गर्ने प्रयत्न गरेका थिए तर, पार्टी वैधानिकता मध्यमार्गी तेस्रो धारको हातमा पुग्यो। आज त्यसको नेतृत्व समीक्षा बाँस्कोटा, सञ्जिब भट्टराई र प्रकाशचन्द्र परियारजस्ता नेताले गर्दैछन्। तेस्रो धारका निर्देश सिलवालले भरखरै पार्टी परित्याग गरेका छन्।

विवेकशील साझाका एक कार्यकर्ता भन्छन्–‘पार्टी अब नाम मात्रको बाँकी छ, त्यही तराजुको क्रेजले कति समानुपातिक भोट आउला भन्ने मात्रै हो, अन्यथा मंसिरको चुनावपछि विवेकशील साझा विघटनमा जान्छ।’

मिलन पाण्डेको शुभकामना र आक्रोश

विवेकशील साझा पार्टीमा मिश्रले अध्यक्ष र संयोजकको शक्ति साझेदारी गरेका मिलन पाण्डेले ‘विश्वास गर्नु’ अपराध हो कि ‘विश्वासघात गर्नु’ अपराध भन्ने प्रश्न उठाउन कहिल्यै छोड्ने छैनन्। आफ्नो राजनीतिक विश्वासको आधारतत्व नै ‘इमान्दारिता’ बनाएका मिश्रले यसको कुनै उत्तर दिन सक्ने छैनन्।

मिश्रको राप्रपा प्रवेशपछि पाण्डेले लामो फेसबुक स्टाटस पोष्ट गरेका छन्। त्यसमा शुभकामना र आक्रोश दुवै झल्किन्छ। उनले भनेका छन्–‘वैकल्पिक राजनीतिमा एउटा अध्याँरो अध्यायको अन्त्य यहीँ यसरी नै भयो।’

अर्कोतिर उनी भन्छन्–‘राप्रपाका नयाँ युवा नेता रवीन्द्रजीलाई मनैबाट शुभकामना।’ उनले मिश्रलाई गज्जबको व्यंग्य कस्न छोडेका छैनन्–‘नेपाली राजनीतिमा एउटा समस्या छ भन्नु हुन्थ्यो, मेनु हेर्ने, हेर्ने, अनि मःम, चाउमिन नै रोज्ने। तर,  विकल्प दिन हिँडेको मानिसले मःम चाउमिन नै रोज्नुभयो, त्यो पनि बासी।’

मिश्र राजनीतिको पाठ

रवीन्द्र मिश्रले छोटो समयमै भोगेको राजनीतिक उतारचढावले प्रष्ट गर्दछ कि राजनीति, पत्रकारिता, कविता लेखन र परोपकार कार्यजस्तो हैन। राजनीतिका आफ्नै प्रकारका जटिलता हुन्छन्। राजनीति कुनै वैचारिक कपट र रणनीतिको विषय मात्र पनि हैन। राजनीति गर्न एक भिन्नै आत्मविश्वास र प्रतिबद्धता चाहिन्छ।

राजनीति ‘कन्फ्युजन’ मा हैन, ‘कन्भिक्सन’ ले गर्ने चिज हो।

राप्रपा प्रवेश गरेर मिश्र त्यसको वरिष्ठ उपाध्यक्ष हुँदैछन्। मिश्रको राप्रपा प्रवेश भने स्वाभाविक हो। एक ‘मोडरेट कन्जर्भेटिभ’ पार्टीको अपेक्षा राख्ने मान्छेका लागि ‘वैकल्पिक राजनीति’ कहीँ कतै सुहाउँदो थिएन। त्यो कृत्रिम कुरा थियो। तर, राप्रपा प्रवेश गरेर पनि मिश्रले ‘वैकल्पिक राजनीति’ का नाममा गरेका नाटक र अन्तरध्वंश बिर्सन मानिसलाई सजिलो हुने छैन।

राप्रपामा जानु नै थियो त सुरुवात भै जाँदा हुन्थ्यो, वैकल्पिक राजनीतिको स्पेश, पवित्रतालाई किन बिटुल्याउनु पर्थ्यो ? यो प्रश्नले उनलाई जीवनभरि खेदिरहने छ। विवेकशील दलको मौलिकतालाई एकताका नाममा किन बदनाम गर्नु पर्थ्यो भन्ने प्रश्नले पनि उनलाई लखेट्न छोड्ने छैन।

राप्रपाभित्र उनका लागि अर्को यमानको प्रश्न खडा छ– यो पार्टी मिश्रले सोचेजस्तो एक ‘मोडरेट कन्जर्भेटिभ’ हो कि ‘रियल कन्जर्भेटिभ’ ? पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, दीपक बोहरा, बुद्धिमान तामाङजस्ता महापूर्व पञ्चहरू यतिका दिनदेखि त्यहाँ गुच्चा खेलेर पक्कै बसेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved