नेपाल जस्ता मुलुकको विकासमा थिंक ट्यांकहरुको भूमिका

पच्चीस सय वर्ष पहिलेको क्रमिक उद्विकासको प्रारम्भिक युगमा वुद्ध मार्फत विश्वलाई नयाँ चेत र ज्ञान दिनसक्ने नेपालले यो एसियन सेन्चुरीमा नयाँ ज्ञान उत्पादन गर्ने कैंयौं ‘नयाँ वुद्ध’ हरु उत्पादन गर्न सक्छ । खाँचो छ दूरदृष्टियुक्त राजनीतिक नेतृत्व, सामुहिक राष्ट्रिय अठोट र सही स्रोत परिचालन र व्यवस्थापनको ।

नेपाल जस्ता मुलुकको विकासमा थिंक ट्यांकहरुको भूमिका

यस्ता प्राज्ञिक जमघटमा तपाईहरुसँग अन्तरक्रिया गरिरहँदा मलाई अक्सर लाग्ने गर्दछ, यदि म पनि राजनीतिको बाटोमा नलागेको भए यसैगरी तपाईहरु जस्तै प्राज्ञिक कर्महरु अध्ययन, अनुसन्धान, ज्ञान उत्पादन र प्रसारणमा लाग्ने छलफल, अन्तरक्रिया र वहसमा सहभागी हुने र यस्तै ज्ञानकर्म गर्ने संस्थामा काम गरिरहेको हुने थिएँ ।

तर म हुर्केको समयमा देशमा राजनैतिक स्वतन्त्रता थिएन, लोकतन्त्र थिएन र त्यो प्राप्त गर्नु प्राथमिक काम थियो । त्यसैले मैले राजनीतिको बाटो समातें । किनभने उन्नत प्राज्ञिक कर्मको लागि, विभिन्न थरि ज्ञान उत्पादनको लागि, विभिन्न विचार फल्नफूल्नको लागि देशको राजनीतिले सही बाटो पक्रन जरुरी छ । र पूर्ण लोकतन्त्र आवश्यक छ । त्यसैले हाम्रो पुस्ताको संघर्ष लोकतन्त्र अर्थात संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिमै केन्द्रित रह्यो ।

म अहिले ६८ बर्षको भएँ । मैले मेरो जीवनलाई पछाडि फर्केर हेर्दा ठूलो उथलपुथलकारी परिवर्तन देख्छु । एउटा गाउँको निम्न मध्यम वर्गीय परिवारमा जन्मेर त्यहिंको स्कूलमा पढेर देशको प्रमुख कार्यकारी पदमा पुगें । जनयुद्धदेखि शान्ति प्रक्रियासम्म र संविधान निर्माणको काममा समेत नेतृत्वदायी भूमिका निर्वाह गरें । मेरै जीवनकालमा महत्वपूर्ण परिवर्तन भए । म जन्मेको दशकमा नेपालीको सरदर आयू ३५ बर्षको थियो, अहिले दोब्बर अर्थात ७०-७२ वर्ष भएको छ । हाम्रो आयू दोब्बर हुनु भनेको चानेचुने परिवर्तन होइन ।

म जन्मेको दशकमा नेपालीको सरदर आयू ३५ बर्षको थियो, अहिले दोब्बर अर्थात ७०-७२ वर्ष भएको छ । हाम्रो आयू दोब्बर हुनु भनेको चानेचुने परिवर्तन होइन ।

हाम्रा पूर्खाको कैयौं पुस्तासम्म त्यो सम्भव भएको थिएन । देशभित्र चरम गरिबीमा वस्ने परिवारको संख्या पनि उल्लेख्य घटेको छ । साक्षरता र आधारभूत स्वास्थ्यमा पहुँच उल्लेख्य बढेको छ । कोभिडकै भ्याक्सिनको कुरा गर्दा हाम्रो देशको भ्याक्सिनेसन दर लगभग विकसित देशकै हाराहारीमा छ । मैले टुकिको उज्यालोमा पढें तर आज देशको ९० प्रतिशत भन्दा बढि मान्छेले विजुली बाल्छन् । जसको कारण गाँउ र शहरमा समेत मानिसको जीवन अघिल्लो पुस्ताको भन्दा निकै सहज र सुविधासम्पन्न भएको छ ।

इन्टरनेट, फोनको पहुँचले कैयौं दिन हिडेर गर्नपर्ने काम एकैछिनमा हुने भएको छ । म भन्दा अघिका कैयौं पुस्ताले मोटरसम्म देखेनन् तर आज यो नेपालको ७६ जिल्लामा पुगेको छ । त्यस अर्थमा म आफूलाई भाग्यमानी पुस्ता मान्दछु किनभने मैले मेरो जीवनकालमा राजनैतिक परिवर्तन मात्रै देखिनँ, यस्ता थुप्रै आर्थिक सामाजिक परिवर्तन पनि भोगें ।

हाम्रो जीवनमा देखिएको यो परिवर्तन हामी अघिका नेपाली पुस्ताको तुलनामा भिमकाय परिवर्तन त हो तर हाम्रा छिमेकी देशको तुलनामा सानो हो । विकसित देशको प्रगतिको गतिसँग तुलना गर्दा त्यो निकै सुस्त हो । विश्वको औसत वार्षिक प्रतिव्यक्ति उत्पादन १३ हजार डलर पुग्दा हाम्रो १३ सय मात्र पुग्दैछ । अर्थात् हामी वाँकी विश्व भन्दा दश गुणा पछाडि छौं । हामीले गरिबी, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, समानता, शुसासनको क्षेत्रमा थुप्रै आधारभूत काम गर्न अझै बाँकी नै छ । तर जुन परिवर्तन हामीले भोग्यौं, देख्यौं र देखिराखेका छौं । त्यसको पछाडि मलाई लाग्छ, मानवजातिले उत्पादन गरेको ज्ञान, विज्ञान र नवप्रवर्तनको ठूलो हात छ, जसको लागि तपाईहरु जस्ता प्राज्ञिक बौद्धिक व्यक्ति र अनुसन्धान संस्थाको महत्वपूर्ण भूमिका छ ।

थिंक ट्यांकको औचित्य

मानव प्रगतिको लागि, देशको समृद्धि र विकासको लागि ज्ञान र विज्ञानको महत्वपूर्ण भूमिका हुने कुरालाई महसुस गरेर अर्थमन्त्री हुँदा मैले नेपाल विज्ञान तथा प्रविधी प्रतिष्ठान (नाष्ट) को बजेटलाई तीन गुणा बढाउने काम गरेको थिएँ । देशको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिविविलाई सेन्टर अफ एक्सलेन्स्को रुपमा अघि बढाउने योजना अगाडि सारेको थिएँ । यो नीति अनुसन्धान प्रतिष्ठानको अवधारणा मेरै प्रधानमन्त्री कालमा सुरु भएको र पछिल्लो सरकारले त्यसलाई लागु गरेको हो । त्यसकारण म देशको सर्वाङ्गीण विकास गर्न बनाइने नीति र निर्णयमा प्रमाणको, ज्ञानको उत्पादन अपरिहार्य हुने र त्यसको लागि पिआरआई जस्तो थिंक ट्याकको उल्लेख्य भूमिका हुने कुरामा प्रष्ट छु ।

हामी पहिलो औद्योगिक क्रान्तिको समयको समस्या र अहिलेको चौथो औद्योगिक क्रान्ति र सूचनाक्रान्तिको समयको चुनौति एकैसाथ सामना गर्नुपर्ने अनौठो परिवेशमा बाँचिरहेका छौं ।

अहिलेको नेपाल थुप्रै चुनौतिका विचमा खडा छ । एकातिर हामीले प्राप्त गरेको ठूलो राजनैतिक उपलब्धी गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतालाई जोगाउँदै देशको गरीबी, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, समानता, सुशासनको समस्यालाई हल गर्नुछ । जनताको जीवनस्तर र आत्मसम्मान उकास्नु छ । अर्कातिर मानव विकासको क्रममा वाईप्रडक्ट बनेर आएको विश्वव्यापी समस्याहरु जलवायू परिवर्तन, जैविक विविधता तथा वातावरणीय ह्रास, प्रदुषण, जसले मानवजातिकै अस्तित्वमाथि प्रश्नचिन्ह खडा गरेको छ, त्यसलाई पनि सँगसँगै हल गर्नु छ ।

त्यो सँगै आर्टिफिसियल इन्टेलिजेन्स, रोवोट, अटोमेसन, साइवर सेक्यूरिटी, साइवर र जैविक आतंकवाद जस्ता प्रविधीले ल्याएको चुनौति पनि सामना गर्नुछ । त्यसैले हामी पहिलो औद्योगिक क्रान्तिको समयको समस्या र अहिलेको चौथो औद्योगिक क्रान्ति र सूचनाक्रान्तिको समयको चुनौति एकैसाथ सामना गर्नुपर्ने अनौठो परिवेशमा बाँचिरहेका छौं ।

यी सबै चुनौति हल गर्न हामीलाई समय सान्दर्भिक नीति कार्यक्रम र निर्णयहरु लिनु र त्यसलाई कठोर रुपमा कार्यान्वयन गर्दै जानुको विकल्प छैन् । त्यसैले नेपालको सन्दर्भमा र विश्वव्यापी रुपमा पनि यतिखेर नीति सहयोगी ज्ञानको उत्पादन, प्रसारण र प्रयोग अझै अपरिहार्य बनेको छ । त्यसको लागि अनुसन्धान र अध्ययन गर्ने पिआरआई लगायतका ज्ञानसँग सम्बन्धित संस्थाको सवलीकरण र विस्तार जरुरी छ ।

थप कुरा अहिले इन्टरनेट र सामाजिक सन्जालको जमानामा फेक न्यूज, मिसइन्फरमेसन, फल्स इन्फरमेसनको बाढीले सत्यको अस्तित्वमाथि प्रश्न चिन्ह खडा गरेको छ । पोष्ट ट्रुथको जमानामा वास्तविक सत्यको उद्घाटन झनै महत्वपूर्ण छ । त्यसैले सत्यको खोजी र त्यसको प्रचारप्रसारको लागि हाम्रा ज्ञान निर्माण गर्ने संस्थाहरु पहिलेभन्दा बढि सबल, सक्षम र फूर्तिलो भएर लाग्नु पर्ने आवश्यकता छ ।

कस्तो ज्ञान ? कसको लागि ज्ञान ?

मैले ज्ञान उत्पादनको महत्व बारे त कुरा गरें तर जब हामी ज्ञान उत्पादनको कुरा गर्छौं, त्यतिबेला कस्तो ज्ञान ? र कस्को लागि ज्ञान ? भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ । मेरो विचारमा हामीले उत्पादन गर्ने ज्ञान उपयोगी ज्ञान (यूजेवल नलेज) हुन जरुरी छ । हुन त ज्ञानको उपयोग नहुने भन्ने कुरै हुँदैन तथापि अध्येताले उपयोगी ज्ञानका तीन मुख्य अवयवहरु हुनुपर्ने बताएका छन् । ज्ञान उपयोगी बन्न पहिलो विश्वसनीयता (क्रेडिविलिटी), दोश्रो प्रासंगिक (रिलेभेन्स) र तेश्रो त्यसको वैधता (लेजिटिमेसी) हुनपर्छ । विश्वंसनीय ज्ञान उत्पादन गर्नको लागि हामीले प्रयोग गर्ने तथ्यांकहरु भरपर्दो मात्रै होइन, हामीले अपनाउने अनुसन्धानको विधिहरु मजवुत (रोवुष्ट) हुन जरुरी छ ।

अहिले विश्वमा विभिन्न रुपका कट्टरपन्थ, रुढीवाद, पपुलिज्म हावी हुँदै गइरहेको सन्दर्भमा राज्यको नीति निर्माणसंग सम्वन्धित ज्ञान उत्पादनका केन्द्रले वैज्ञानिक र वस्तुपरक चिन्तन पद्धति र दृष्टिकोण अपनाउनैपर्छ । पपुलिष्ट शासक र नोकरशाहीतन्त्रले क्षणिक लाभका निम्ति असत्य, अवैज्ञानिक कर्मनिम्ति दिने दबाबबाट मुक्त हुनैपर्छ ।

अहिलेको संसारमा विज्ञानको क्षेत्रको सबैभन्दा ठूलो समस्या भनेको अनुसन्धानको नतिजाको रिप्रोडिसिविलिटी (पुनर्उत्पादन्) नहुनु हो । अर्थात एउटाले प्रकाशित गरेको अनुसन्धानको नतिजा अर्कोले दोहर्‍याउँदा उस्तै नतिजा नआउने हुनु हो । विज्ञान त सार्वभौम हुनुपर्ने हो । तर अनुसन्धानमा रिप्रोडिसिविलिटीको अभावमा त्यो हुन सकेको छैन । त्यसैले हाम्रा अनुसन्धान संस्थाले अनुसन्धानकर्मलाई जारी राख्दा भरपर्दो तथ्यांक र विधीसँगै अनुसन्धानका आचार र नैतिक मान्यतालाई कडाईका साथ अवलम्बन गर्न जरुरी छ । त्यसो भएन भने हामीले उत्पादन गरेको ज्ञान र प्रमाण विश्वसनीय नहुने र त्यही ज्ञान वा प्रमाणमा आधारित नीति हावादारी हुने संभावना हुन्छ । र संस्थाको अस्तित्वप्रति नै प्रश्नचिन्ह खडा हुन्छ ।

अहिले विश्वमा विभिन्न रुपका कट्टरपन्थ, रुढीवाद, पपुलिज्म हावी हुँदै गइरहेको सन्दर्भमा राज्यको नीति निर्माणसंग सम्वन्धित ज्ञान उत्पादनका केन्द्रले वैज्ञानिक र वस्तुपरक चिन्तन पद्धति र दृष्टिकोण अपनाउनैपर्छ । पपुलिष्ट शासक र नोकरशाहीतन्त्रले क्षणिक लाभका निम्ति असत्य, अवैज्ञानिक कर्मनिम्ति दिने दबाबबाट मुक्त हुनैपर्छ । वैज्ञानिक दृष्टिकोण भनेको तथ्यबाट सत्य खोज्ने, जीवन र जगत निरन्तर गतिशील र परिवर्तनशील छन् भन्ने वुझ्ने, तिनको आधारभूत नियम विपरितहरुको एकत्व (यूनिटी अफ अपोजिट्स) हो भन्ने वुझ्ने, भौतिक र सामाजिक जगतका स्थूल र सूक्ष्म तहका गतिका नियमहरु वुझ्ने र मुख्य रुपमा सिद्धान्तलाई व्यवहारसँग जोड्ने नै हो । त्यसको अभावमा अधिकांश थिंक ट्यांकका उत्पादन अप्रशोधित वा विशृंखलित सूचना (इन्फर्मेसन)का संकलन मात्र हुने र ती ज्ञान (नलेज), वुद्धि-विवेक (विजडम) र प्रवोधन (एनलाइटनमेन्ट)को तहमा नपुग्ने हुन्छन् ।

हुन त म वैचारिक हिसाबले खुल्ला अनुसन्धान (फ्रि इन्क्वाइरि) र प्राज्ञिक स्वतन्त्रता (एकेडेमीक फ्रीडम) को पक्षघरता राख्ने व्यक्ति हुँ । तर हाम्रो जस्तो सीमित स्रोत र साधन भएको देशमा भएका प्राज्ञिक व्यक्ति र संस्थालाई त्यो सुविधा अहिल्यै प्राप्त छैन । किनभने ज्ञान उत्पादनको उद्यम एकदमै खर्चिलो छ । र कहिलेकाँहि अहिले उत्पादन गरेको ज्ञानको महत्व वा फाइदा तत्कालै नहुने पनि अवस्था हुनसक्छ । त्यसैले हामी जस्तो सीमित स्रोत र साधन भएको देशमा त्यो समय अझै आईनसकेको जस्तो लाग्छ । पिआरआई जस्तो जनताको करले चल्ने सरकारी संस्थानलाई त्यो सुविधा झनै छैन । त्यसैले हामीले हामीलाई मनमा लागेको, उत्सुकता भएको विषयमा भन्दा पनि नेपालको लागि चाहिने, जनताको समस्या हल गर्ने, देशले हाल भोगिरहेको विकास, समृद्दि र अन्य वैश्विक चुनौतिहरुलाई सामना गर्ने खालको ज्ञान उत्पादनमा ध्यान दिन जरुरी छ । जसले देशले लिने निर्णयहरुमा प्रत्यक्ष सघाउन सकोस् । हाम्रा संस्थानहरुले निर्माण गर्ने नीतिहरुमा सहयोगी भूमिका खेल्न सकोस ।

ज्ञान उत्पादनसँगै ज्ञानको प्रसारण पनि महत्वपूर्ण छ । अझ सत्यले खुट्टामा जुत्ता हाल्न नपाउँदै असत्यले पृथ्वीको फन्को मारिसक्ने अहिलेको समयमा सत्यतथ्य कुराको प्रसारण झनै् महत्वपूर्ण छ ।

आजको दुनियाँमा ज्ञान निर्माणको प्रक्रिया एकांगी हुँदैन । त्यो सरोकारवालाबीच वृहद छलफल र अन्तरक्रियाबाट परिस्कृत हुँदै आउन जरुरी छ । त्यसैले हाम्रा थिंक ट्यांकले उत्पादन गर्ने ज्ञान पहिलेका ऋषीमुनिले जसरी जंगलमा गएर तपस्या गरेर निकाल्ने भन्दा पनि सरोकारवालाहरु जस्तै नीतिनिर्माणमा संलग्न संस्थाहरु, व्यक्तिहरु, जनताका प्रतिनिधीहरु इत्यादिको प्रत्यक्ष संलग्नतामा ज्ञानको सह—उत्पादन (को क्रियसन), सह—रचना (को डिजाइन) र सह—व्यवस्थापन (को म्यानेजमेन्ट) भएमा मात्रै त्यसले वैधता प्राप्त गर्नसक्छ । वैध ज्ञानको स्वीकार्यता र प्रभावकारीता बढी हुन्छ । त्यसैले म नीति अनुसन्धान प्रतिष्ठानलाई अनुसन्धान, विश्लेषण र संश्लेषण गर्दा यी कुरामा विचार पुर्‍याउन ध्यान आकृष्ट गर्न चाहन्छु ।

म यहाँ कुनै पार्टीको नेत्तृत्वको हिसाबले भन्दा पनि आफूले देखेका, पढेका, सुनेका आधारमा व्यक्तिगत तबरले आफ्ना धारणा राखिरहेको छु । मैले थिंक ट्यांकले गर्नुपर्ने मुख्य काम उपयोगी ज्ञान उत्पादनको बारेमा बताएँ । ज्ञान उत्पादनसँगै ज्ञानको प्रसारण पनि महत्वपूर्ण छ । अझ सत्यले खुट्टामा जुत्ता हाल्न नपाउँदै असत्यले पृथ्वीको फन्को मारिसक्ने अहिलेको समयमा सत्यतथ्य कुराको प्रसारण झनै् महत्वपूर्ण छ । हुन त सत्य कुराहरु अपाच्य, अरुचीकर हुन्छन्, त्यसैले ती कमै भाइरल हुन्छन् तथापि हामीले आफ्ना अनुसन्धानका नतिजाहरुको प्रसारणमा त्यसको संकथन निर्माणमा आधुनिक प्रविधीको प्रयोग (सामाजिक सन्जाल, यूवा पाठकले मनपराउने हिसाबको प्याकेजिंग) लाई पनि ध्यान दिन जरुरी छ ।

तर सँगै थिंक ट्यांकले आफ्ना कुराहरु प्रसारण गर्दा अनावस्यक पक्षपोषण (एडाभेकेसी) बाट जोगिन उत्तिकै जरुरी छ । किनभने ज्ञान उत्पादन र कुनै कुराको वकालत भनेका फरक कुरा हुन् । ज्ञान उत्पादन गर्ने संस्था नै वकालत र पृष्ठपोषणमा उत्रदा प्रश्न आउन सक्छ । आजको यो छलफल पनि ज्ञानको प्रसारण गर्ने एउटा प्रक्रिया वा विधि हो । नीति प्रतिष्ठानले आगामी दिनमा पनि यस्ता कामलाई झनै प्राथमिकतामा राख्नेछ भन्नेमा म आशावादी छु ।

तेश्रो कुरा, थिंक ट्यांकले विज्ञको उत्पादन पनि गर्दछ । कुनै सरकारी, गैह्र सरकारी वा निजी थिंक ट्याकमा केही बर्ष कुनै निश्चित विधामा काम गरेपछि व्यक्तिको दक्षता र क्षमतामा निखारता आउँछ, विचार परिष्कृत हुन्छ र उ तत् विषयको विज्ञ बन्दछ । त्यस्तो व्यक्तिले समाजलाई देशलाई र अन्य ज्ञान उत्पादन गर्ने संस्थानहरुलाई पछि सम्म पनि योगदान गरिरहन सक्छ । त्यसैले भर्खरै कलेजबाट निस्केका यूवा अध्येतालाई विज्ञ बनाउने काममा पनि पिआरआई जस्ता संस्थाले भूमिका खेल्नेमा म विश्वस्त छु ।

समावेशीताले संस्थामा उत्कृष्ठता थप्छ, काम गर्ने शैलीमा फेरवदल ल्याउँछ । आजको दुनियाँमा समावेशीता भनेको सामाजिक न्यायको प्रश्न मात्रै होइन, उत्कृष्टताको लागि चाहिने अत्यावश्यक तत्व हो ।

चौथो कुरा, थिंक ट्यांकहरुबाट उत्पादित ज्ञान, प्रमाण र सत्यले शक्तिमा बसेकाहरुलाई प्रमाणमा आधारित कुराहरु गरेर जनउत्तरदायी बनाउन पनि सहयोग गर्छ । र पिआरआईले निष्पक्ष सत्यको वकालत गरेर त्यसको लागि भूमिका निर्वाह गर्न सकोस भन्ने कामना गर्दछु ।

थप मैले यहाँ उठाउनै पर्ने कुरा थिंक ट्यांक भित्र समावेशीताको प्रश्न पनि हो । हाम्रा थिंक ट्यांकहरु समावेशी हुनु पर्दछ । अझ हाम्रो जस्तो जातीय, क्षेत्रीय, लैंगिक आदि विविधतायुक्त समाजमा त त्यो झनै जरुरी छ । समावेशीता थिंक ट्यांकको बनोट, त्यहाँ भित्रका सदस्यहरुको चरित्र र पृष्ठभूमीमा मात्रै होइन, उनीहरुले गर्ने अध्ययन र अनुसन्धानको विषयमा पनि हुन जरुरी छ । समावेशीताले संस्थामा उत्कृष्ठता थप्छ, काम गर्ने शैलीमा फेरवदल ल्याउँछ । आजको दुनियाँमा समावेशीता भनेको सामाजिक न्यायको प्रश्न मात्रै होइन, उत्कृष्टताको लागि चाहिने अत्यावश्यक तत्व हो । त्यसैले म तपाईहरुलाई नीति प्रतिष्ठानको काम, कारवाही, अध्येताहरुको छनोटमा समावेशीतालाई हृदयदेखिनै आत्मसात गर्न र संस्थाको मूल मान्यतामा समावेशी चरित्र राख्नको लागि आग्रह गर्दछु ।

के गर्ने ?

भनिन्छ, देशको अवस्थाको प्रतिनिधित्व विश्वविद्यालयहरुले गर्छन् । हाम्रो देशको अवस्था यस्तो हुनमा हाम्रा विश्वविद्यालय र प्राज्ञिक संस्थाको अवस्था गतिलो नहुनु पनि हो । हुन त देशको अवस्थाको छाप हाम्रा प्राज्ञिक संस्थामा परेको हो या प्राज्ञिक संस्था गतिलो नभएकोले देश यस्तो भएको हो भनेर विवाद गर्न सकिन्छ । तथापि मैले अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालय अन्तरगतको लाउडर इन्स्टिच्यूटले बर्षेनी प्रकाशित गर्ने विश्वभरीका थिंक ट्यांकहरुको अवस्थाको प्रतिवेदन ग्लोवल गो टू थिंक ट्यांक इन्डेक्स रिपोर्ट २०२० हेरेको थिएँ । उक्त रिपोर्टमा हाम्रो देशका थिंक ट्यांकको अवस्था दक्षिण एशियामै सबैभन्दा कमजोर थियो ।

त्यहाँ नेपालका १९ थिंकट्याकहरु मात्रै समावेश थिए । ती मध्ये धेरैजसो गैह्रसरकारी हिसाबले चलेका थिए । र केही त्रिविवि भित्रका थिंक ट्यांक पनि थिए । त्रिविवि भित्रका ती थिंकट्यांकहरुमा गनिने सेडा, सिनास, रिकाष्ट, सेरिडका यतिखेर गतिविधी शुन्य भएका छन् । त्यसैले हामीले हाम्रा थिंकट्याकले के काम गर्ने भन्ने प्रश्नको साथै थिंकट्यांकलाई कसरी दिगो बनाइराख्ने, जोगाइराख्ने भन्ने कुरामा पनि ध्यान दिनु उत्तिकै जरुरी छ ।

हामीले हाम्रा सरकारी, गैह्रसरकारी, निजी तवरले चलेका थिंकट्याकंलाई जोगाउन, उनीहरुलाई आर्थिक, कानुनी हिसाबले सहयोगी बाताबरण बनाउन आवश्यक छ । नेपाल विज्ञान प्रविधी तथा नवप्रवर्तन नीतिले सुझाएको राष्ट्रिय अनुसन्धान कोष निर्माणको लागि मैले जनप्रतिनिधीको हिसाबले र व्यक्तिगत तवरमा वर्तमान शिक्षा विज्ञान तथा प्रविधी मन्त्री र अर्थमन्त्रीसँग कुरा पनि गरेको हुँ तर त्यो कोष अझै स्थापना हुन सकेको छैन । म आशावादी छु त्यस्तो वातावरण चाँडै बन्नेछ ।

हामी कहाँ कति संस्थाहरु होलान् ? जुन वैश्विक उत्कृष्टताको कसीमा दरिएका हुन् । कति व्यक्तिहरु होलान् जसको गुगल स्कलर जस्ता प्राज्ञिक योगदानको मापन गर्ने सूचांकहरुले विश्वस्तरको देखाएको होस् ? मेरो अवलोकनमा त्यो संख्या लगभग नगन्य छ ।

नेपाल जलवायू, जैविक, साँस्कृतिक, धार्मिक र भाषिक विभिन्न विविधताले भरिएको देश हो । जहाँ विविधता हुन्छ त्यो ठाँउ ज्ञानको खोजको लागि उर्वर हुन्छ । हाम्रो लोकतान्त्रिक पद्धति, नेपालीहरुको वेलकमीङ् स्वभाव, विदेशीलाई भिसा लगायतका प्रक्रियाको सहजताको कारण यो देश विश्वभरका जलवायू, वातावरणीय, सामाजिक, साँस्कृतिक अध्येताको लागि निकै उर्वर प्रयोगशाला नै हो ।

(१९६० को दशकमा भारत सट्टा नेपाल) हाम्रा थिंक ट्यांकले विदेशका थिंक ट्यांकसँग विश्वविद्यालयहरुसँग, अध्ययन अनुसन्धानमा सहकार्यलाई बढाई आफ्नो क्षमता बढाउने र आफ्नो अध्ययनको दायरालाई विश्वव्यापी बनाउन जरुरी छ । हामी कहाँ कति संस्थाहरु होलान् ? जुन वैश्विक उत्कृष्टताको कसीमा दरिएका हुन् । कति व्यक्तिहरु होलान् जसको गुगल स्कलर जस्ता प्राज्ञिक योगदानको मापन गर्ने सूचांकहरुले विश्वस्तरको देखाएको होस् ? मेरो अवलोकनमा त्यो संख्या लगभग नगन्य छ । त्यसैले हामीले हाम्रो व्यक्तिगत र संस्थागत क्षमतालाई पनि चाँडै विकास गर्न जरुरी छ ।

देशका नीति योजना बनाउँदा र विभिन्न विषयहरुमा महत्वपूर्ण निर्णय लिँदा थिंक ट्यांकहरुको सुझाव लिने चलन मुलतः अमेरिकाबाट सुरु भएको भएतापनि यतिखेर यो चलन विश्वभर नै छ । सन् १९२० को दशक अर्थात आजभन्दा सय वर्ष अगाडि कार्नेगी एन्डाओमेन्ट फर इन्टरनेसनल पीस लगायत केही औंलामा गनिने थिंक ट्याँक मात्र थिए । सन १९५० सम्म पश्चिमी शहर केन्द्रित केही सय आसपास थिए । अहिले विश्वभर छरिएका आठ हजार भन्दा बढी थिंक ट्याँक छन् ।

तीमध्ये सवभन्दा धेरै अर्थात दुई हजार जति अमेरिकामा छन् भने दोस्रो धेरै पाँच सय जति चीनमा छन् । यसबाट देशको आर्थिक विकास र समग्र प्रगतिको सोझो सम्वन्ध स्तरीय थिंक ट्यांकहरुसँग भएको सहजै पुष्टी हुन्छ ।
पछिल्लो समयमा चीन र भारतमा देशको विकास योजना, विदेश नीति, सुरक्षा रणनीति, अन्तराष्ट्रिय सम्बन्ध, सुचनाप्रविधी, गरिबी, जनस्वास्थ्य, वातावरण आदि विषयमा अध्ययन अनुसन्धान गर्ने थिंक ट्यांकहरुको संख्या उल्लेख्य रुपमा बढेको छ । संसारभर र हाम्रै छिमेकमा पनि थिंक ट्यांकको महत्वलाई बढावा दिइरहेको सन्दर्भमा हामीले हाम्रा पुराना थिंक ट्यांकलाई सबलीकरण गर्ने, क्षमता बढाउने, उनीहरुलाई चुस्त, नयाँ परिवेशमा अनुकुलनशिल बनाउने कार्यमा  ढिलो भइसकेको छ । साथै नयाँ नयाँ विषयमा केन्द्रित, नयाँ थिंक ट्यांकहरु बनाउनु पनि जरुरी छ ।

तत्काल यी विषय केन्द्रित

  •  ढिलो र अपुरो रुपमा प्राप्त लोकतन्त्रलाई पूर्णता दिने र लोकतन्त्रको सबलीकरण गर्न आवस्यक संस्था, संरचना, नीति, विधि निर्माण गर्ने विषय केन्द्रित
  •  तीन तहका संघीय संरचना केन्द्रित
  • अर्थतन्त्रलाई तेस्रो विश्वबाट पहिलो विश्वमा फड्को मार्ने विषय केन्द्रित्
  • मडारिदो शितयुद्ध र देशको जटील भूराजनीति केन्द्रित
  • पर्यावरण, विज्ञान प्रविधि केन्द्रित, आदि थिंक ट्यांकहरुलाई विशेष प्राथमिकता दिनुपर्ने हुन्छ ।

त्यसको लागि हामीले नेपाल बाहिर रहेका थुप्रै र प्राज्ञिक, बौद्धिक गैह्र आवासीय नेपालीको क्षमता, दक्षता र सन्जाल पनि प्रयोग गर्न सक्नुपर्दछ । म आफैले केही वर्ष पहिले अमेरिका जाँदा त्यहाँका प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान केन्द्रहरु काम गर्ने धेरै नेपालीलाई भेटेको छु । कतिपय अनुसन्धान केन्द्रका निर्देशक नेपाली रहेको पाएको छु ।  विदेशका राम्रा विश्वविद्यालय र अनुसन्धान केन्द्रसँग जोडिएका नेपालीहरु केही समययता स्वदेशमै बसेर अनुसन्धान कार्यमा लाग्नु सराहनीय छ । उनीहरुलाई हामीले प्रोत्साहन गर्नैपर्छ ।

म त भन्छु नेपालमा हाल संचालित थिंक ट्यांकहरुको एउटा विहंगम सर्वेक्षण गरौं । उनीहरुले गरेका काम, उनीहरुको वर्तमान अवस्था, उनीहरुले भोगेका चुनौति र दिगोपनको बारेमा राम्रो अनुसन्धान गरेर नेपाली थिंक ट्यांकहरुको क्षमता र दक्षताको म्यापिङ गरौं । र थिंक ट्यांक स्थापना, संचालन, स्वायत्ता र दिगोपनाको बारेमा दिर्घकालीन रणनीति बनाऔं ।

यसनिम्ति राज्यले एउटा छाता ऐन नै बनाएर संघ र प्रदेश स्तरमा सक्षम, सवल, स्वायत्त थिंक ट्यांकहरुको वृहद् संजाल निर्माण गर्दै जाने वातावरण बनाइयोस् । आलोचनात्मक चेत, सत्तामाथि औंलो ठड्याउने स्वतन्त्रता, साधन श्रोतको सहज सुनिश्चितता नभइ थिंक ट्यांकहरु आकाशको फल मात्र हुन्छन् भन्ने नविर्सौं ।

अन्त्यमा
अहिलेको शताब्दी ज्ञान र विज्ञानको हो । ज्ञान विज्ञान उत्पादन गर्ने त्यसको प्रचारप्रसार र प्रसारण गर्ने संस्थाहरुलाई बेवास्ता गरेर देशले प्रगति गर्न सक्दै सक्दैन । छिपछिपे ज्ञानको टापटिपे गफ दिएर नेता बन्ने राजनीतिज्ञहरु, आफ्नो एकांगी विज्ञता र प्रशासनिक हैसियतको भरमा नीति निर्माणको ठेक्का लिने कर्मचारीतन्त्र, तीन वर्षमा तीन सय दिन तालावन्दी गरेर तलवभत्ता खाइरहने विश्वविद्यालयका अगुवाहरु र लाभको नियुक्तिको खोजीमा नेताको ढोका चाहार्ने वुद्धिजीवीहरु रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी परिरहनेछ ।

त्यस्तो अवस्थालाई हामीले फेर्नै पर्छ । के गर्ने हाम्रो विडम्बना तपाईहरु जस्ता थिंक ट्यांकले आफ्नो काम स्वतन्त्र ढंगले गर्ने अवस्था नेपालमा अझै बनिसकेको छैन । तपाईहरुले थप आफ्नो अस्तित्वको लागि, आफ्नो स्वायत्तता र उपस्थितिको लागि पनि लडिरहनु परेको छ । ज्ञान उत्पादन गर्ने र नीति अनुसन्धान गर्ने संस्थाहरु नोकरशाही नियन्त्रण, हस्तक्षेपबाट मुक्त हुनैपर्छ । तिनीहरुको गठन प्रक्रिया, कार्य संचालन, श्रोत सुनिश्चितता र स्वायत्तता ऐनद्वारा नै ग्यारेन्टी गरिनुपर्छ । त्यसको लागि मेरो पूर्ण ऐक्यवद्धता छ ।

पच्चीस सय वर्ष पहिलेको क्रमिक उद्विकासको प्रारम्भिक युगमा वुद्ध मार्फत विश्वलाई नयाँ चेत र ज्ञान दिनसक्ने नेपालले यो ज्ञान विज्ञानको उच्च विकास भएको एसियन सेन्चुरीमा नयाँ ज्ञान उत्पादन गर्ने कैंयौं ‘नयाँ वुद्ध’ हरु उत्पादन गर्न सक्छ । खाँचो छ दूरदृष्टियुक्त राजनीतिक नेतृत्व, सामुहिक राष्ट्रिय अठोट र सही स्रोत परिचालन र व्यवस्थापनको । आउनुहोस, यो विद्तसभाबाट त्यो अठोटको थालनी गरौं । मेरो जीवनको अन्तिम कालखण्ड यसैमा समर्पित हुनेछ ।
बार्षिक उत्सवको अवसरमा तपाईहरुलाई धेरै शुभकामना छ ।

(९ असोज आइतबार नीति अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवमा व्यक्त विचार)

3 thoughts on “नेपाल जस्ता मुलुकको विकासमा थिंक ट्यांकहरुको भूमिका

  1. विद्वता ज्ञान , अनुभब, शिक्षा सबै राजनीति भएको मुलुक मा कहाँ बाट थिङ्ग ट्यांक को भूमिका रहन्छ ? खै मैले त कुरा बुझिन।

  2. यस्तो अवस्था ल्यौनेमा त बाबुराम भट्ट राइको नै ठूलो हात छ । उनले जानिजानी यस्तो मुलुक बनाएका रहेछन ?? अब उनले र प्रचन्ड्ले माफी माग्नु पर्दैन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved