बेइजिङ डायरी

कसरी पुग्यो चीनको ग्रेटवालमा नेपालको रञ्जना लिपि

ग्रेटवालमा रञ्जना लिपि हुनुचाहिँ अलिक फरक छ। किनभने बौद्ध धर्मसम्बन्धी गुम्बाहरूमा मन्त्र लेख्नका लागि रञ्जना लिपिको प्रयोग एउटा अनिवार्य तत्व जस्तो बनेको छ। तर, ग्रेटवालमा नै रञ्जना लिपि देखिने कुराचाहिँ नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धमा निकै महत्वपूर्ण खुड्किलो हुन सक्छ। किनभने ग्रेटवालमा कुँदिएका रञ्जना लिपिसँग नेपाली महान् कलाकार अरनिकोको सम्बन्ध जोडिएको छ।

कसरी पुग्यो चीनको ग्रेटवालमा नेपालको रञ्जना लिपि

बेइजिङ।  कुनैबेला चेयरम्यान माओ चतोङले भनेका थिए ग्रेटवाल चढ्ने व्यक्ति बहादुर कहिन्छ। चीनलाई विश्वमा चिनाउने विभिन्न विशेष पहिचान ‘आइकन’ मध्ये ग्रेटवाल पनि एउटा हो। ग्रेटवाल चढ्न खासै समस्या भने छैन।

हिमाल आरोहण गर्न अथवा समुन्द्रमा डुबुल्की मार्नलाई पो साहस चाहिन्छ। ग्रेटवालै चढ्न त के ठूलो कुरा भयो र ! बेइजिङ आसपासमा गएर ग्रेटवाल चढ्नु काठमाडौंबाट नगरकोट अथवा चन्द्रागिरी गए जत्तिको मात्र हो। तै पनि माओ चतोङको भनाइलाई चिनियाँले अझै विशेष सूत्रका रुपमा लिन्छन्। फलस्वरूप ग्रेटवालको पर्यटकीय प्रवर्द्धनचाहिँ मज्जाले भएको छ।

बेइजिङ बसेर काम गर्न थालेको एक दशकमा बीसौँपटक ग्रेटवाल चढेको छु। माओ चतोङको भनाइअनुसार मेरो पहिचान बहादुर गोरखालीबाट बीसौँपटक ग्रेटवाल चढ्ने ‘बीस बहादुर’ भइसकेँ। ग्रेटवाल चढेर होइन ग्रेटवालमा नेपालको रञ्जना लिपि कुँदिएको देख्ताचाहिँ साँच्चै गर्विलो महसुस हुने रहेछ।

बेइजिङबाट ग्रेटवाल चढ्ने सबैभन्दा लोकप्रिय स्थान हो पातालिङ। यसो गमेर ल्याउँदा म पातालिङ ग्रेटवालमा मात्र १७ पटक पुगेको रहेछु। त्यसैगरी, चुयोङक्वान ग्रेटवालमा दुईपटक र मुथिआनयु ग्रेटवालमा एकपटक पुगेको रहेछु। म पुगेका यी तीन स्थानमध्ये सबैभन्दा सजिलो स्थानचाहिँ पातालिङ नै हो। विदेशी उच्चस्तरका पाहुनालाई चीनले यही ग्रेटवालको अवलोकन भ्रमण गराउने गर्दछ।

चुयोङक्वान ग्रेटवालको वर्तमान प्रवेशद्वार र सत्यमोहन जोशीको कृतिमा प्रकाशित उही प्रवेशद्वार

सन् २००४ मा पहिलोपटक मैले पातालिङ ग्रेटवालमा पाहिला राखेको थिएँ। सन् २००८ मा नेपालबाट युवा प्रतिनिधिमण्डलको चीन भ्रमण हुँदा हामी चुयोङक्वान ग्रेटवालमा पुगेका थियौँ। सन् २०१५ मा नेपालमा भूकम्प गएपछि सबैलाई प्रेरणा दिन खालको गीत ‘हामी उठ्नेछौँ’ को भिडियो छायाङ्कन गर्न मुथिआनयु ग्रेटवाल गएका थियौँ।

आजको आलेखमा भने चुयोङक्वान ग्रेटवाल र त्यहाँ देखिएको नेवारी भाषाको ‘रञ्जना लिपि’ कसरी पुग्यो भन्ने बारेमा चर्चा गर्दैछु।

चुयोङक्वान ग्रेटवाल अन्यत्रको भन्दा निकै ठाडो छ। तर, त्यहाँ चढ्दा लाग्ने थकाइभन्दा सिरानमा पुगेपछिको आनन्द अन्यन्त्रको भन्दा अनुपम मानिन्छ। ग्रेटवालको सिरानबाट देखिने दृश्य, पुछारमा देखिने निलो ताल, वरिपरीका डाँडाको मनोहर सौन्दर्य जस्ता कारणले यसको छुट्टै मज्जा छ। बेइजिङबाट ग्रेटवाल चढ्नका लागि सबैभन्दा नजिकै पर्ने स्थान पनि हो यो। विदेशी उच्च स्तरका पाहुनालाई चाहिँ सामान्यतः त्यहाँ लगिदैन किनभने यो निकै ठाडो छ। उमेरका हिसाबले पनि वृद्धवृद्धाका लागि यो स्थान त्यति उपयुक्त छैन।

चुयोङक्वान ग्रेटवालको प्रवेशद्वारमा रञ्जना लिपि

हामी युवा प्रतिनिधिमण्डलमा सहभागी भएकाले होला सन् २००८ मा यो ग्रेटवाल लगिएको थियो। पछि सन् २०१६ मे १३ तारिख शुक्रबार त्यस्तै अर्को नेपाली युवासँग म चुयोङक्वान ग्रेटवाल पुगेको थिएँ। नेपालबाट किशोर श्रेष्ठको नेतृत्वमा पत्रकार साथीहरु बेइजिङ घुम्न आएका थिए। उक्त समूहमा सबै युवा उमेरका भएकाले चीनको आतिथ्य संस्थाले चुयोङक्वान ग्रेटवाल छनोट गरेको हुन सक्छ।

खासमा उक्त दिन बिहान म नेपाली पत्रकारलाई भेटन बेइजिङस्थित हङकङ मकाउ सेन्टरको स्विस्टेल होटलमा साथी लक्ष्मी लम्सालसँग पुगेको थिएँ। त्यो दिन मेरो साप्ताहिक बिदा थियो। पत्रकार साथीहरूसँग भेटघाट गरेपछि उनीहरू ग्रेटवाल जाने तयारीमा जुटे। टोली नेता किशोर श्रेष्ठ ग्रेटवाल जाने मुडमा रहेनछन्। उनको ठाउँमा मलाई साथीहरूले लतारेर लगेका थिए।

चुयोङक्वान ग्रेटवालको ठाडो उकालो चढेर यताउता फोटो खिचेपछि म अलिक अगाडि झरेँ। सबै साथीहरू झरे तर मात्रिका पौडेल देखिएनन्। निकै ढिलो उनी खुट्टा खोच्याउँदै झरे। ओरालो झर्दा पौडेलजीले खुट्टा मर्काएछन्। भन्दै थिए ‘ग्रेटवालमा खुट्टा मर्काउनु पनि एउटा सुनौलो अवसर हो। बाँचुन्जेल कहिल्यै नबिर्सने भइयो। ग्रेटवालमा खुट्टा मर्काएर सबभन्दा बहादुर काम गरियो।’

चीनका लागि तत्कालीन नेपाली राजदूत लीलामणि पौडेल रञ्जना लिपिको फोटो खिच्दै

ग्रेटवालबाट झरेपछि बसमा चढेर अर्को गन्तव्य गृष्मप्रासाद (समर प्यालेस) जाने कार्यक्रम थियो। मात्रिका बसबाट झर्नै सकेनन्। उनलाई एक्लै बसमा छोड्न मेरो मनले मानेन। अरु साथीहरू समर प्यालेस हेर्न गए। मात्रिका र मचाहिँ बसमै गफिएर बस्यौँ।

दुईपटक चुयोङक्वान ग्रेटवाल पुग्दा पनि त्यहाँ रञ्जना लिपि कुँदिएको छ भन्ने मैले भेउ पाइन। सन् २०१८ को अक्टोबरमा चीनका लागि तत्कालीन राजदूत लीलामणि पौडेलसँग सहकर्मी लक्ष्मी लम्साल त्यही ठाउँमा पुगेर एउटा औपचारिक कार्यक्रममा सहभागी हुँदा रञ्जना लिपि भएको कुरा थाहा भएको हो। यस बारेमा राजदुत पौडेलसँग गम्भीर कुराकानी पनि भयो। चीनमा रञ्जना लिपि कहिले कसरी प्रवेश गर्‍यो भन्ने बारेमा खोज अनुसन्धान हुनुपर्ने र यसबाट दुई देशबीचको सांस्कृतिक सम्बन्धको ऐतिहासिक एउटा जग पत्ता लाग्नेमा हामीबीच सहमति पनि भयो।

नेपालबाट कहिले र कसरी रञ्जना लिपि चीनमा प्रवेश गर्‍यो भन्ने कुराको आधिकारिक इतिहास पाइँदैन। सम्भवतः सातौँ शताब्दीमा नेपालबाट रञ्जना लिपि चीन भित्रिएको हुन सक्छ। उक्त समयमा बेहुली बनेर नेपाली राजकुमारी भृकुटी तिब्बत जाँदा उनले थाङ्का बनाउने चित्रकारसँगै नेपाली कलाकार पनि तिब्बत लगेकी थिइन् भन्ने कुरा उल्लेख छ। ती कलाकारले तिब्बतमा रञ्जना लिपिलाई लोकप्रिय बनाएको हुन सक्छन्।

सन् २०१६ मा चुयोङक्वान ग्रेटवालमा पुगेका नेपाली पत्रकारको टोली

सन् २००६ मा नेपाली पत्रकारको टोलीमा सहभागी भएर तिब्बत भ्रमण गर्दा जताततै रञ्जना लिपि देखिएको थियो। खासमा बौद्ध गुम्बाका मानेहरुमा लेखिएका मन्त्र ‘ओम मणि पद्मे हूँ’ जहाँ पनि रञ्जना लिपिमै लेखेको देखिन्छ। सन् २०१७ मा चीनको पश्चिममा रहेको कान्सु प्रान्तको भ्रमण गर्दा त्यहाँ भएका बौद्ध गुम्बामा पनि रञ्जना लिपि भरपूर देखिएको थियो। सन् २०२१ मा छिङहाई प्रान्तका गुम्बा हेर्दा नेपाली कलाकौशलसँगै रञ्जना लिपिको विस्तारले नेपाल पुगेको जस्तै अनुभूति दिएको थियो। बेइजिङको पश्चिमपट्टि रहेको पाताछु मन्दिरमा बुद्धको दाँतलाई संरक्षण गरिएको छ। त्यहाँ पनि रञ्जना लिपि छ।

उल्लिखित स्थानमा रञ्जना लिपि हुनु र ग्रेटवालमा रञ्जना लिपि हुनुचाहिँ अलिक फरक छ। किनभने बौद्धधर्मसम्बन्धी गुम्बाहरुमा मन्त्र लेख्नका लागि रञ्जना लिपिको प्रयोग एउटा अनिवार्य तत्व जस्तो बनेको छ। तर ग्रेटवालमा नै रञ्जना लिपि देखिने कुरा चाहिँ नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धमा निकै महत्वपूर्ण खुड्किलो हुन सक्छ। किनभने ग्रेटवालमा कुँदिएका रञ्जना लिपिसँग नेपाली महान् कलाकार अरनिकोको सम्बन्ध जोडिएको छ।

बेइजिङ लगायतका चीनका मुख्य भूमिमा भने १३ औँ शताब्दीमा अरनिकोले रञ्जना लिपि ल्याएका हुन्। अरनिकोले बनाएको श्वेत चैत्य अगाडिको महाविहारका ठाउँ ठाउँमा रञ्जना लिपिमा ‘ओम मणि पद्मे हूँ’ लेखिएको देखिन्छ। महाविहारको सिलिङमा त निला अक्षरमा टल्किएका रञ्जना लिपि आकाशमा तारा चम्किरहे जस्तो देखिन्छन्।

चुयोङक्वान ग्रेटवालको माथिल्लो भागबाट लिइएको फोटो

अरनिकोको जन्म सन् १२४३ मा भएको थियो। उनको जन्मस्थान पाटनमा भएको मानिन्छ। उनी सन् १२६० मा नेपालबाट तिब्बत गए। अनि सन् १२६४ मा तत्कालीन चिनियाँ सम्राट कुब्लाई खाँलाई भेट्न राजधानी बेइजिङको उत्तरी क्षेत्रमा पुगे जुन हालको भित्री मङ्गोलिया प्रान्तमा पर्छ। सन् १२७१ मा सुरु गरेर १२७९ मा बेइजिङमा उनले श्वेत चैत्यको निर्माण गरे।

अरनिकोका छोराहरु पनि मूर्तिकला तथा चित्रकलामा निपुर्ण थिएँ। उनले आफ्नो सीप चिनियाँ शिष्यलाई पनि बाँडेका थिए। अरनिकोको मृत्यु सन् १३०६ मा बेइजिङमै भयो। उनको मृत्यु भएको लगभग ४० वर्षपछि सन् १३४५ मा चुयोङक्वाङ ग्रेटवालको प्रवेशद्वार निर्माण भएको थियो, जहाँ रञ्जना लिपि कुँदिएको छ।

यो प्रवेशद्वारको शैली, यसका कलाकृति र यसको स्वरुप बेइजिङको श्वेत चैत्यमा भएका कलाकृतिसँग धेरै मिल्दोजुल्दो छ। त्यसकारण अरनिकोले यो चुयोङक्वान प्रवेशद्वारको डिजाइन तयार पारेका हुन सक्छन्। अथवा, अरनिकोका छोरा र उनका शिष्यले बनाएका पनि हुनसक्छन्। जे भए पनि ग्रेटवालको विशाल चुयोङक्वान प्रवेशद्वारमा अङ्कित नेपाली कलाकृतिसँग अरनिकोको अन्योन्याश्रित सम्बन्ध छ।

चुयोङक्वान ग्रेटवाल क्षेत्रको रमणीय ताल

चुयोङक्वान ग्रेटवालमा भएको कला र रञ्जना लिपिका बारेमा सत्यमोहन जोशीद्वारा सिर्जित ‘कलाकार अरनिको’ कृतिमा तथ्यगत विश्लेषण सहित उल्लेख छ। यो कृति वि. सं. २०४४ सालमा प्रकाशन भएको हो।

सत्यमोहन जोशीको कृति ‘कलाकार अरनिको’ को पृष्ठ ११ र १२ मा ग्रेटवालमा रञ्जना लिपि र नेपाली शैलीका कला कुँदिएको बारेमा निम्नानुसारको विश्लेषण उल्लेख छ।

कलाकार अरनिकोको कला परम्परा र कला शैलीद्वारा विकसित नेपाल र चीनको मैत्री र सांस्कृतिक सम्बन्धको सम्वर्द्धनमा अर्को एउटा जीवित उदाहरण पनि छ। त्यो हो बेइजिङबाट विश्वप्रसिद्ध विशाल पर्खाल (ग्रेटवाल) हेर्न जाने बाटोमा पातालिङ डाँडाको फेदीमा ग्रेटवालनेर पुग्न लाग्दा चुयोङक्वानमा देखा पर्ने युनथाइको प्रवेशद्वार। प्रस्तरद्वारा निर्मित यो विशाल प्रवेशद्वारमा चार-पाँचजना घोडचढी मजासँग ओहोरदोहोर गर्न सक्छन्। यस प्रवेशद्वारको उपल्लो मण्डपमा तीनवटा श्वेत चैत्यहरू पनि थिए भन्ने कथन छ र उहिले यस ठाउँको नाम नै ‘चौबाटोको श्वेतचैत्य’ थियो।

यस प्रस्तरद्वारको निर्माणकाल सन् १३४५ मानिएको छ। साल मिति अनुसार यसको निर्माण अरनिकोको मृत्युपश्चात भएको देखिन्छ। तर, यसको नक्सा र ढाँचा अरनिकोबाटै भएको हुनसक्छ अथवा उनले आफ्नो कालमा यसको निर्माण कार्य पूरा गर्न नभ्याएको पनि हुन सक्छ। यसलाई उनका नाम चलेका चेला ल्युयुआन अथवा उनका एकसेएक कला प्रवीण छोराहरूले चाहिँ अवश्यमेव डिजाइन गरी बनाएको हुनुपर्छ। किनभने यो प्रस्तरद्वारको अग्र भागको तोरण हुबहू नेपाली परम्परा र नेपाली शैलीमा बनिएको छ। यसलाई जुनसकै नेपाली आँखाले पनि देख्नेबित्तिकै आफ्नै शैलीमा निर्मित भनेर पहिल्याउन सक्छ।

चुयोङक्वान ग्रेटवाल प्रवेशद्वारमा अङ्कित कलाकृतिहरू

यस प्रस्तरद्वारको गुमौज आकारको तोरणमा सिरानको मध्य भागमा पखेटा भएको गरुडको मूर्ति छ। यसका दायाँबायाँ नागकन्या र मकरका मूर्ति छन्। तोरणसँगै जोडिएका तल्ला भागमा दायाँबायाँ हात्ती र विश्व बज्रमण्डल छन्। भित्री भागका भित्तामा रञ्जना लिपिमा संस्कृतमा कुँदिएका सिताती पत्रोष्णीय धारणी (बौद्ध सूत्र)हरु छन्।

यिनीहरूको रुपान्तर चिनियाँ, मंगोलियाली, तिब्बती, उइगुर, सिस्या भाषाका लिपिमा पनि कुँदिएको छ। फेरि भित्री भागका सिलिङ र भित्तामा कुँदिएका नेपाली र चिनियाँ शैलीका पञ्चबुद्ध र चतुर महाराजका प्रस्तर मूर्तिहरू पनि छन्।

बेइजिङको केन्द्रभागदेखि लगभग ६० किलोमिटरको दुरीमा रहेको चुयोङक्वान ग्रेटवालमा झण्डै साडे ९ मिटर उचाइको प्रवेशद्वार छ। ढुङ्गाबाट निर्मित प्रवेश द्वारका भित्तामा बुद्धमूर्ति र सूत्र कुँदिएका छन्। चरा, ड्रागन, ह्वेल, कुमार किशोर, जनावर, अजङ्गको हात्तीलगायत कुँदिएको चित्रले उक्त प्रवेशद्वारले ऐतिहासिक कलालाई भण्डारण गरेको छ। अझ यसले नेपाली कलालाई पनि समेटेको छ।

चुयोङक्वान ग्रेटवालको प्रवेशद्वारमा कुँदिएका तस्वीर र लिपिले तत्कालीन राजाहरूको आध्यात्मिक जीवनशैलीलाई पनि झल्काउँछ। उक्त क्षेत्रमा त्यतिबेला विश्वको सबैभन्दा पूरानो र सबैभन्दा ठूलो टावर थियो। कुब्लाइ खाँले स्थापना गरेको युआन राजवंश कालमा बाटोमा यस्तो टावर बनाइएको थियो, जसले सर्वसाधारणले कल्याणका खातिर बुद्धको पूजा गर्न सकून् भन्ने मान्यता थियो रे।

धन्य हुन् अरनिको जसले नेपाली कला शैलीलाई चीनमा व्यापक बनाए। अनि उनका छोरा र शिष्यले अरनिकोको कलालाई ग्रेटवालमा सदाका लागि जिवित बनाए। विश्व सम्पदा सूचीमा अङ्कित ग्रेटवाल चीनको पहिचान हो। त्यो पहिचानभित्र अलिअलि नेपालीपन पनि मिसिएको छ।

4 thoughts on “कसरी पुग्यो चीनको ग्रेटवालमा नेपालको रञ्जना लिपि

  1. चिनमा जतातता कुंदिएका रन्जना लिपिको प्रचारमा नेपालका पहिला राजदूत काजी केशर वहादूर के सि ले पनि निकै योगदान गरेका थिए रे । चिनियां प्रधानमन्त्री चु एन्लाई लाई नीजले नै यसवारे प्रथम पटक अवगत गराएका हुन् रे ।

    1. जानकारीका लागि धन्यवाद चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई सर।

    2. चीनको ग्रेटवालमा कुंदिएका नेपाली कलाकृति र रंञ्जना लिपिलाइ फेरि जीवन्त गराउने यो पुन्यकर्ममा कलम चलाएर समाचार बनाउनु भएकोमा यस लेखका स्तम्बकार चेतनाथ आचार्य प्रति हामी सबै नेपालीले गर्वको महशुस गर्दौ धन्यवाद दिनु पर्छ ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved