दुई लघुकथा

एकसाँझ उसले भन्यो– “काजु ! त्यो काफल पाक्यो चरीको आवाज हो, त्यो सुगाको आवाज हो, त्यो रुपीको आवाज हो, त्यो ढुकुरको कलरव हो, त्यो झ्याउँकिरीको झ्याउँझ्याउँ हो, त्यो कलकल गर्ने झरनाको धुन हो। त्यो भुनभुन मौरीको घारबाट निस्किएको हो। त्यो सुसाएको आवाज खोलाको संगीत हो ……………।”

दुई लघुकथा

युवा पुस्ता

“देशमा धेरै वाद र तन्त्र परिवर्तन भइरहेका छन् तर जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन भएको छैन। यी बुढा नेताले दोस्रो पुस्तालाई जिम्मेवारी सुम्पिने हो भने देशले छिट्टै समृद्धिको यात्रामा फड्को मार्ने छ,” हजुरबाले बुबासँग बरोबर भन्नुहुन्थ्यो।
समय अघि बढिरहेको थियो।

बुवाले भन्नुभयो– “यी दोस्रो पुस्ताका नेता बुढा भए। पैसा, शक्ति, भक्ति, आशक्तिमा यिनीहरू लिप्त भए। लुटतन्त्र र गुट राजनीतिले देश धेरै पछि पर्यो‍। युवालाई नेतृत्व, बुढालाई पितृत्व दिएपछि तेस्रो पुस्ताले नेपाललाई स्विट्जरल्यान्ड बनाउने छन्।’’
समय बेगवान छ।

मैले छोरालाई भनेँ– “बाबु ! अहिलेका बुढा नेताले देश र जनताको पक्षमा सिन्को भाँच्दैनन्, कमाउने र रमाउनेमै देशलाई कङ्गाल बनाए। अब चौथो पुस्ताले नेपाललाई सिङ्गापुर बनाउनेछ। युवा पुस्तामा सपना र दृष्टिकोण हुन्छ।”
समय बित्दै जाँदा म बुढ्यौलीले ओछ्यान परेँ।

छोराको कोठाबाट मेरो ओछ्यानमा आवाज आयो– “हेर बाबु ! चिन्ता नगर्नू ! चौथो पुस्ताका बुढाले केही गरेनन्। विकास गर्ने इच्छा र प्रयास नै छैन। भ्रष्टाचारले देश चुर्लुम्म डुब्यो। युवा पुस्तालाई नेतृत्व दिने हो भने नेपाललाई जापान बनाउनेछन्।”

आवाज

राजु बिहानै बसपार्क गयो। काठमाडौँ आएका दाइ र भतिजलाई ट्याक्सीमा राखेर बागबजारको भित्री गल्लीस्थित आफ्नो डेरामा सोझियो।
“कस्तो ठाउँ हो यो, आकाश छुने घरैघरले मलाइ त सास फेर्न पनि सकस भयो,” दाइको कुरा सुनेपछि राजुले थप्यो, “काठमाडौंमा यस्तै हो दाइ ! राज्यले प्लानिङ गरेको भए पो सहर राम्रो हुन्थ्यो ! दलालले प्लानिङ गरेको सहरको हविगत यस्तै हुन्छ।”
खाना खाएपछि राजु आफ्नो काममा गयो।

कोठाको झ्यालबाट थरीथरी आवाज प्रतिध्वनित भइरहेका थिए। उसले आफ्नो छोरा कृष्णलाई भन्यो– “बाबु ! टिङटिङ गर्ने आवाज साइकलको हो, भुटुटुटु गर्ने आवाज मोटरसाइकलको हो, कानै खाने चर्को आवाज बसको हो, सिठीजस्तो आवाज फोहोरको गाडीको हो, मान्छेको होहल्ला भएको आवाज भट्टीको हो ….।”

सञ्चयकोषको काम सकेपछि दाइले भन्यो– “कान्छा ! भोलि बिहानै म घर फर्किन्छु। तेरो छोरा काजुको पनि छुट्टी रहेछ। हामीसँगै गाउँ जान्छ, एक महिना उतै रमाउँछ।”

दाइले छोरा र भतिजलाई लिएर गाउँ फर्कियो। काजु पिँजडाबाट निस्केको चराजस्तै कहिले बारीमा, कहिले चौरमा त कहिले खोलामा खुब रत्तियो।

एकसाँझ उसले भन्यो– “काजु ! त्यो काफल पाक्यो चरीको आवाज हो, त्यो सुगाको आवाज हो, त्यो रुपीको आवाज हो, त्यो ढुकुरको कलरव हो, त्यो झ्याउँकिरीको झ्याउँझ्याउँ हो, त्यो कलकल गर्ने झरनाको धुन हो। त्यो भुनभुन मौरीको घारबाट निस्किएको हो। त्यो सुसाएको आवाज खोलाको संगीत हो ……………।”
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved