जाजरकोट: दुई कविता

घरहरू वर्षाले कमेरो पखालेर
अर्धबैँसे महिलाको बासी अनुहार भएका छन्
र, साँझमा बज्यूको थानबाट हेर्दा
शोक मनाइरहेका एक हूल मानिसझैँ लाग्छन्

नेपालभ्युज

जाजरकोट: दुई कविता

जाजरकोट खलङ्गा- २०४०

–अमर शाह

झारपात पलाएर स–साना बाटाहरू छेकिएका छन्
मूल बाटो सिकसिकाउँदो छ
घरहरू वर्षाले कमेरो पखालेर
अर्धबैँसे महिलाको बासी अनुहार भएका छन्
र, साँझमा बज्यूको थानबाट हेर्दा
शोक मनाइरहेका एक हूल मानिसझैँ लाग्छन्

बिँडी, चुरोट र साबुन, सलाई फिँजेर
दिनभरि व्यापारी च्याँखे थापेझैँ बस्छन्
चियापान र चुरोट सुपारी बल्झाउने आशमा
दिनभर कर्मचारी पासो थापेझैँ बस्छन्
दस बजे खलङ्गा अलि चल्मलाउँछ
पाँच बजे खलङ्गा फेरि चल्मलाउँछ
नत्र, प्रवेश र निकास नभएको तालझैँ
खलङ्गा दिनदिनै अझ बढी गन्ध आउँछ

भट्टीमा आफ्नो जात्रा भइसकेपछि
साँझमा जात्रा निकाल्नेहरू पनि छन्
घरमा भान्सा कुर्दै स्वास्नी निदाए पनि
पप्लु र किट्टीमा भुल्नेहरू छन्
निराशा, कुण्ठा छ मनहरूमा सायद
हरेक साँझ पिएर सडकमा भुल्नेहरू पनि छन्

दिनभर पेटीमा घाम तापेर महिलाहरू
दिनदिनै बढ्ने महँगीको कुरा गर्छन्
बिँडी, चुरोट र सुस्केरा उडाउँदै अफिसमा
कर्मचारीहरू कम तलबको गुनासो पूरा गर्छन्
जताबाट पनि उक्लिनु पर्ने खलङ्गा
उक्लिँदै जाँदा भासिँदै गएझैँ लाग्छ
इतिहासले सकेन थेग्न वर्तमान सायद
भविष्य झन् भासिँदै गएझैँ लाग्छ

एउटा अन्तरालपछि आएको छु म
केही पुराना सम्झना छन् सुमसुम्याइरहेछु
अपराह्न मित्रसँग चिया तान्दै
कसरी पिउँछन् यहाँका युवकहरू दिनदिनै
र, अचेल हुन्जेल दिन पिउँछन् रु
गफ चपाइरहेको हुन्छु
तर केही बेरपछि
आफू पस्न सक्ने कुनै अड्डाबारे सोच्नेछु
र, सोच्नेछु
कसरी बाँच्न सक्छन् नपिउनेहरू खै?

जाजरकोट

–मोमिला

प्रिय सम्बोधन
तिमी जहाँ उभिएर
मेरो पुर्खा सहिद भएको इतिहास सोधेथ्यौ भेरीलाई
म वारिबाट
तिमी उभिएको इतिहास सोधिरहेछु
यतिखेर
तिमी सहिद भएको इतिहाससँगै
आफैँ सहिद समय बगिरहेको भेरीले
आँसुका हजारौँ प्रश्नफूलहरू अर्पण गरेर
अग्ल्याएको पहाडजस्तो
आदिम प्रेमबस्ती ।

प्रिय जाजरकोट !
वारिबाट म तिमीलाई अँगालो हाल्न सक्दिन
केही छैन
मन फाटिएर हामीबीच भेरी बगे पनि
निर्वासनमै
घामको न्यानोमा म तिमीलाई अनुभूत गरिरहेछु
जूनको शीतलमा तिमी मलाई अनुभूत गर्नेछौ ।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved