बेलायतलाई उछिन्दै भारतको अर्थतन्त्र पाँचौं स्थानमा

बेलायतको प्रतिव्यक्ति आय भारतको भन्दा करिब २० गुणा बढी छ । बेलायतको प्रतिव्यक्ति आय बार्षिक करिब ४८ हजार डलर छ भने भारतको २५०० हाराहारी मात्रै । यस्तो अवस्थामा अर्थतन्त्रको आकार मात्रै ठूलो भएर त्यसले जनताको जीवनस्तरमा खासै फरक नल्याएको आर्थिक विश्लेषकको तर्क छ । 

बेलायतलाई उछिन्दै भारतको अर्थतन्त्र पाँचौं स्थानमा

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषको एक आर्थिक प्रक्षेपणअनुसार बेलायतलाई उछिन्दै भारत विश्वको पाँचौैं ठूलो अर्थतन्त्र बनेको छ । अब भारतभन्दा अगाडि अमेरिका, चीन, जापान र जर्मनी मात्र छन्।

यो तथ्यांक सार्वजनिक भएसँगै भारतमा भने ठूलो बहस सिर्जना भएको छ । भारत के साँच्चै विश्वको पाँचौैं ठूलो अर्थतन्त्र भएको हो ? के यो बद्लाव भारतीय जनताले आर्थिक जीवनका अनुभव गर्न पाएका छन् ? कि यो एक तथ्यांक मात्रै हो, जसको व्यवहारमा कुनै अर्थ छैन ?

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार र सत्तारुढ दल भाजपाले यसलाई ठूलो सफलताका रुपमा चर्चा गरेका छन्। सरकार पक्षमा एक प्रकारको उत्साह देखिन्छ । तर, आर्थिक विश्लेषक र विपक्षी दलले भने यसबारे गम्भीर आशंका व्यक्त गरेका छन् ।

बेलायतको प्रतिव्यक्ति आय भारतको भन्दा करिब २० गुणा बढी छ । बेलायतको प्रतिव्यक्ति आय वार्षिक करिब ४८ हजार डलर छ भने भारतको २५०० हाराहारी मात्रै । यस्तो अवस्थामा अर्थतन्त्रको आकार मात्रै ठूलो भएर त्यसले जनताको जीवनस्तरमा खासै फरक नल्याएको आर्थिक विश्लेषकको तर्क छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले उपयोग गरेको ब्लुमवर्ग डाटा बेसले सन् २०२२ को अप्रिल–जुन त्रैमासिक विश्लेषणमा यस्तो तथ्यांक सामुन्ने ल्याएको छ । ब्लुमबर्गले डलर विनिमय दरका आधारमा तथ्यांक तयार गरेको बताएको छ । तथ्यांकअनुसार भारतको अर्थतन्त्र ३.५ ट्रिलियन डलर छ भने बेलायतको अर्थतन्त्रको आकार ३.२ ट्रिलियनमा सीमित भएको छ।

भारतको महिन्द्रा बैंकका सिईओ उदय कोटाकले भने यसलाई खासै अर्थपूर्ण तथ्यांक मान्दैनन् । उनले एक ट्वीटमार्फत् भनेका छन्–‘अर्थतन्त्रको आकारमा भारतले बेलायतलाई उछिन्नु गौरवको कुरा हो तर, भारतको जनसंख्या करिब १ अर्ब ४० करोड हुँदा बेलायतको जनसंख्या ६ करोड ८० लाख मात्रै छ भन्ने वास्तविकता हो ।’

बेलायत र भारतको जनसंख्या र प्रतिव्यक्ति आय बीच ठीक उल्टो अनुपात देखिन्छ । भारतको भन्दा वेलायतको प्रतिव्यक्ति आए २० गुणा हुँदा जनसंख्या भने भारतको २० गुणा बढी छ । ठूलो जनसंख्या आकार भएको देशको अर्थतन्त्र स्वाभाविक रूपमा ठूलो हुनु पर्ने हो । तर, भारत र बेलायतको तुलना गर्दा अनुपातको संगति मिलेको छैन ।

करिब एक दशकदेखि बेलायत विश्व अर्थतन्त्रको पाँचौैं स्थानमा थियो भने करिब एक दशक अघि भारत ११औं स्थानमा थियो । भारतको अर्थतन्त्र वृद्धि भएर पाँचौैं स्थानमा उक्लिएको हो कि बेलायतको अर्थतन्त्रमा संकुचन भएको हो भन्ने प्रश्न पनि सँगसँगै उठेको छ ।

अर्थशास्त्रीका अनुसार कोभिड–१९ को महामारीयता दुवै देशको अर्थतन्त्रको वृद्धिदर राम्रो थिएन । कोरोनाको उत्कर्ष कालमा बेलायतको आर्थिक वृद्धिदर १ र भारतको २ प्रतिशतमा झरेको थियो । विश्व अर्थतन्त्रको आकारमा भारत एक स्थानमाथि उक्लिनु र बेलायत एक स्थान तल झर्नुमा कोरोनाको भने कुनै भूमिका नरहेको बताइएको छ । तर, कोरोनाकालपछिको अर्थतन्त्रकको पुनरोत्थान दरमा भने बेलायतभन्दा भारत अघि छ ।

गत अप्रिल–जुनको अवधिमा भारतको जीडीपी विस्तार दर १३.५ प्रतिशत थियो । यो सोही अवधिको चीनको भन्दा पनि यो ०.४ प्रतिशतले बढी हो । तर, यो गत आर्थिक वर्षमा भारतकै वार्षिक वृद्धि २०.१ प्रतिशतभन्दा कम हो । स्टेट बैंक अफ इन्डियाका अनुसार सन् २०२९ सम्म भारत अमेरिका र चीनपछि विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुन सक्ने छ।

अर्थशास्त्री अरुण कुमार भने यो घटना जनताका लागि खासै ठूलो कुरा नभएको बरु सत्तारुढ पार्टीलाई हल्ला मच्चाउने एक थप मसला भएको बताउँछन् । उनको विचारमा अर्थतन्त्रको आकारमा थोरै विस्तारले पनि भारतीय जनसंख्या आकारको कारण बेलायतजस्तो सानो जनसंख्याभन्दा माथि जान सक्दछ तर त्यसले जनताको आर्थिक जीवनस्तरमा भने खासै फरक पार्दैन ।

उनी भन्छन्–‘भारतले केही वर्षभित्र जर्मनी र जापानलाई पनि उछिन्दै तेस्रो ठुलो अर्थतन्त्र हुने संभावना छ । तर, ध्यान दिनुपर्ने कुरा जनसंख्या अनुपात र प्रतिव्यक्ति आए अनुपातको उल्टो स्थिति हो।’ भारतले विश्वको जीडीपीको ३.५ प्रतिशत अंश ओगट्न थालेको छ । गत वर्ष यो २.६ प्रतिशत थियो सन् २०२९ सम्म ४.२ प्रतिशत पुग्ने छ ।

विश्व अर्थतन्त्रको प्रथम स्थानमा रहेको अमेरिकाको अंश २४.५ प्रतिशत छ भने दोस्रो स्थानमा रहेको चीनको अंश १८.९ प्रतिशत छ । तेस्रो स्थानमा रहेको जापानको ३.८ र जर्मनीको ३.६ प्रतिशत छ । तर, विश्व अर्थतन्त्रको वद्धिदर वा हिस्सामा भारतको स्थान स्थिर हो वा यो आर्थिक वर्षको अन्त्यसम्म पुग्दा फेरि परिवर्तन हुन्छ भन्ने प्रश्न पनि छ । बेलायत अर्थतन्त्रमा सुधार गर्दै फेरि पाँचौैं स्थानमा आउन सक्ने सम्भावनालाई अर्थशास्त्रीले अस्वीकार गरेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved