काठमाडौं । साविक विजेता भारत हङकङलाई हराउँदै एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गरेको छ । भारतको यो लगातार दोस्रो जित हो ।
बुधबार राति उसले हङकङलाई ४० रनले हरायो । दुबईमा १९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन मात्रै बनाउन सक्यो ।
उसका लागि बाबर हायातले ३१ तथा किन्चित शाहले ३० रन बनाए । भारतका भुवनेश्वर कुमार, आभेस खान, रवीन्द्र जडेजा र अर्शदिप सिंहले एक/एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १९२ रन बनायो । सुर्यकुमार यादव र विराट कोहलीले अर्धशतकीय पारी खेलेपछि भारतले उच्च स्कोर बनाएको हो । यादवले ६८ र कोहलीले ५९ रन बनाए । केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रनको योगदान गरे । आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । ४ अंकसहित भारत समूह ‘ए’ को शीर्ष स्थानमा छ ।
Facebook Comment
Comment