नेपालमा यसकारण आवश्यक छ दोस्रो ‘स्टक एक्स्चेन्ज’

नेप्सेको नालिबेलीसहित नयाँ बजारका फाइदा जानौं

एकातिर अर्थतन्त्रको बृद्धि भएको छ भने अर्कोतिर नेप्सेले आफूलाई समयसापेक्ष आधुनिकीकरण गर्न सकेको छैन । यो सन्दर्भमा तत्काल नयाँ धितोपत्र बजार स्थापना गर्नु आवश्यक छ। नयाँ धितोपत्र बजारको प्रवेशले शेयर बजारको कारोबारमा बृद्धि हुनुका साथै देशकै अर्थतन्त्र विस्तारमा सहयोग पुग्नेछ ।

नेपालभ्युज

नेपालमा यसकारण आवश्यक छ दोस्रो ‘स्टक एक्स्चेन्ज’

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे बहस भइरहेको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी गरेसँगै यसबारे आम नागरिकमा पनि चासो देखिन्छ । निजी क्षेत्रबाट स्टक एक्सचेन्ज सञ्चालन गर्ने गरी नियमावली संशोधन गर्ने तयारी भइरहेको छ ।

यसका लागि बोर्डले विज्ञबाट राय सुझाव लिइरहेको छ । देशमा हाल नेपाल स्टक एक्स्चेन्ज नेप्से मात्रै सेयर कारोबार गर्ने प्लेटफर्म छ । नयाँ एक्सचेन्ज आएमा बजार प्रतिस्पर्धी हुने र लगानीकर्ता लाभान्वित हुनेछन् । नेप्सेको स्थापना सन् १९९३ मा भएको थियो । यसले धितोपत्र विनिमय बजारमा काम गर्न थालेको २८ वर्ष भएको छ । यो अवधिमा धितोपत्र बजारको पूर्वाधारमा कुनै महत्त्वपूर्ण परिवर्तन भएको छैन । नेप्सेले ७७ वटै जिल्लामा आफ्नो प्रारम्भिक बजार विस्तार गर्न सफलता त पाएको छ तर द्धितीय बजार भने अझै काठमाडौं केन्द्रीत छ ।

काठमाडौं उपत्यका बाहिरका नागरिकले सेकेन्डरी सेयर किनबेच गर्ने सुविधा पाएका छैनन् । जसका कारण ठुलो लगानीको अवसरबाट उनीहरू वञ्चित छन् । नेपालमा निजी क्षेत्रबाट स्टक एक्सचेन्ज ल्याउने चर्चा चलेको लामो समय भइसकेको छ । २०६६ सालमै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज खोल्न चाहनेका लागि आह्वानसमेत गरेको थियो। तर पछि यो यत्तिकै हरायो ।

नयाँ स्टक एक्सचेन्ज आउने तयारीसँगै लगानीकर्ता पनि उत्साहित छन् । नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले नयाँ एक्सचेन्ज भएमा प्रतिस्पर्धाका कारण सहज हुने धारणा राख्छन् । अहिले एउटा मात्रै हुँदा जे भए पनि लगानीकर्ताले चित्त बुझाउनु पर्ने अवस्था रहेको उनको भनाइ छ । प्रतिस्पर्धा नहुँदा कारोबार शुल्क पनि महँगो छ।

नेप्सेभन्दा पछि स्थापित भएका नेसनल स्टोक एक्सचेन्ज ( १९९६), पाकिस्तान स्टोक एक्सचेन्ज ( २०१६) र चटगाँव स्टोक एक्सचेन्ज ( १९९५ ) ले आफ्नो बजार पुँजीकरणलाई बढाउन, धितोपत्र कारोवारका लागि धेरै प्रकारका सुरक्षणका औजार प्रस्तावित गर्न सफल भएका छन् । यसले अर्थतन्त्र बृद्धिमा समेत योगदान पुगेको छ ।

धितोपत्र विनिमय बजारको आवश्यकतालाई लिएर क्रमशः २०६६, २०६७ र २०७४ मा तीन वटा अध्ययन भएका थिए । २०६७ को अध्ययन अर्थमन्त्रालयका सहसचिव लालमणी जोशी नेतृत्वको समितिले गरेको थियो । यसले राष्ट्रका लागि एक नयाँ स्टक एक्सचेन्ज गठन गर्न अत्यावश्यक भएको निष्कर्ष निकालेको थियो । यी सबै अध्ययनले ठीक यस्तै निष्कर्ष निकालेका थिए । सबैको सुझाव थियो, ‘चालु धितोपत्र विनिमय बजार नेप्सेले आफ्नो गुणस्तर सुधार गर्न सक्दैन भने नयाँ विनिमय बजार खोल्न आवश्यक छ।’

वि.स. २०७४ मा नै सम्बन्धित मन्त्रालयको अनुमोदनमा नेपाल धितोपत्र बोर्डले एक नयाँ धितोपत्र बजार स्वीकृत गर्ने नीतिगत निर्णय गरिसकेको छ । बोर्डको यही निर्णयमा आधारित भएर अहिले नयाँ स्टक एक्स्चेन्जको तयारी भइरहेको छ ।

नयाँ धितोपत्र बजार किन आवस्यक छ भने नेप्सेमा कमजोरीका चाङ छन् । जसलाई सुधार गर्न कुनै कदम चालिएको छैन । या त चालेर पनि असफल भएको छ ।

नेप्सेका केही कमजोरी हेरौं ।

  • काम थालेको २८ वर्षमा पनि यसले महत्त्वपूर्ण पूर्वाधार र सेवा थप्न सकेको छैन ।
  • प्रारम्भिक बजार देशैभरि विस्तार भएको छ तर द्वितीय बजारको सेवा काठमाडौंबाहिरका नागरिकको पहुँचमा छैन ।
  • धेरै नयाँ दलालहरू धितोपत्र बजारमा प्रवेश गर्न इच्छुक छन् तर पाएका छैनन् । जसले गर्दा बजार सञ्चालनमा पुराना दलाल नै बढी शक्तिशाली भएका छन्। नयाँ कम्पनीहरू यो सेवाबाट छुटेका छन्। आर्थिक बर्ष २०६३-६४ मा दलालको नयाँ इजाजत पत्रका लागि ३३४ निवेदन परेका थिए ती मध्ये २७ मात्र स्वीकृत भएका थिए ।
  • नेप्सेको संचरना र प्रविधिगत कमजोरीका कारण चालु बजार निकै अस्थिर छ ।
  • सुरक्षण बजारमा प्रतिस्पर्धाको अभावका कारणले बजारको व्यापार लागत दक्षिण एसियाकै सबैभन्दा धेरै छ ।
  • नेप्सेको बजार बैकिङ र जलविद्युत क्षेत्रमा भर पर्दै आएको छ । यसले साना तथा मझौला उद्योग र अन्य उद्योगलाई पुँजीबजारमा समावेश गर्न पहल गरेको छैन ।
  • नेप्से इक्विटी लगानी प्रारूपमा मात्र भर परेको छ । २८ वर्षमा पनि लगानीकर्तालाई फाइदा हुन सक्ने कुनै ‘नयाँ प्रोडक्ट’ थपिरहेको छैन ।

यी त भए नेप्सेका कमजोरी अब नयाँ धितोपत्र बजार किन आवस्यक छ भन्ने पनि बुँदागत रूपमा हेरौं ।

  •  विक्रम संवत २०५० मा नेप्से स्थापित हुँदा पुँजी बजारको आकार १ खर्ब ७९ अर्ब मात्र थियो । त्यो बढेर अहिले ४६ खर्ब पुगेको छ । नेप्से स्थापना भएयता हाम्रो अर्थतन्त्र २६ गुणाले वृद्धि भएको छ । नेप्सेको सुरुवात हुँदा बजार पुँजीकरण १४ अर्ब मात्र थियो, सन् २०२२ मा अर्थतन्त्रको वृद्धिको कारणले यो ३३ खर्ब पुगेको छ। नयाँ धितोपत्र बजारको स्थापना गर्दा हामी लगानीकर्ताका लागि अल्पकालिन तथा दीर्घकालीन प्रतिफल दिन सक्ने नयाँ लगानी वस्तु अपेक्षा गर्न सक्दछौँ । यसले अर्थतन्त्रलाई अझ बढी गतिशील र लगानीकर्तामैत्री बनाउँछ । एकातिर अर्थतन्त्रको वृद्धि भएको अर्कोतिर नेप्सेले आफूलाई समयसापेक्ष आधुनिकीकरण गर्न नसकेको सन्दर्भमा तत्काल नयाँ धितोपत्र बजार स्थापना गर्नु आवश्यक छ।
  • नयाँ धितोपत्र बजारको प्रवेशले सुरक्षण बजारको कारोबारमा वृद्धि हुन्छ । पूर्णस्वचालित इन्टरनेटमा आधारित व्यापार प्रणाली, स्वचालित क्लियरिङ र सेटलमेन्ट प्रणाली र उत्तिकै बलियो निगरानी प्रणाली भएको स्टक एक्सचेन्जले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नेछ ।
  • सुरक्षण आयोगको अन्तर्राष्ट्रिय संगठन (इस्को) को सदस्य हुने कारणले गर्दा धितोपत्र विनियममा हालका विद्यमान हेराफेरी तथा अनुचित व्यापारिक अभ्यासको पहिचान गरी स्वच्छ र प्रष्ट लेनदेनजस्ता नियम र कार्यविधि अबलम्बन गर्न सक्षम हुनु पर्नेछ । जसले सबैलाई फाइदा पुग्नेछ ।
  •  वैदेशिक धितोपत्र बजारसँगको सहकार्यले नयाँ र उन्नत प्रविधि प्रवेश गराउन सकिने छ।
  • नयाँ धितोपत्र विनियम बजारको संचालनले विद्यमान एकाधिकारपूर्ण बजारमा प्रतिस्पर्धा बढ्नेछ । लगानीकर्ताका लागि नयाँ विकल्प र अफर आउने छन् । उदाहरणको लागि भारतमा सन् १९९६ मा नयाँ नेशनल स्टक एक्सचेन्ज सुरु  गरियो । यो आधुनिक उन्नत प्रविधियुक्त १५ प्रकारका सुरक्षण प्रवेश गराउने मञ्च बन्यो । यदि हामीले सन् १९९६ यताको स्थिति हेर्ने हो भने बम्बै स्टाक एक्सचेन्जले आफ्नो सफ्टवेयर र व्यापार मञ्च अद्याबधिक गरी नेशनल स्टक एक्सचेन्जसंग प्रतिस्पर्धा गरिरहेको छ । त्यसयता पनि तेस्रो राष्ट्रियस्तरको धितोपत्र विनिमय बजारलाई अनुमति दिइएको छ ।
  • लगानीकर्ताको संख्या बढिरहेको छ । जबकि, लगानीका क्षेत्र भने सीमित छन् । यो अन्तर पूरा गर्न आवस्यक छ । सार्वजनिक क्षेत्रमा सूचीकरणका लागि नयाँ सदस्य थपिएका छन्। नयाँ धितोपत्र बजारले यी समस्या हल गर्नुको साथै लगानी बृद्धिका विकल्प बढाउनेछ । बहुक्षेत्रीय बजार संलग्नतालाई फराकिलो पार्ने छ ।

यो भयो नयाँ स्टक एक्सचेन्ज किन आवस्यक छ भन्ने उदाहरण । यसबाट तत्कालै हुने केही फाईदाहरू छन् । ती पनि बुँदागतरूपमै केलाऊँ ।

  • काठमाडौंमा मात्र भएको सुरक्षण बजार देशैभरि विस्तार हुनेछ । हाल, एसबीएम माध्यमद्धारा देशका ७७ वटै जिल्लामा धितोपत्र बजार क्रियाशील छ तर यसले लगानीकर्तालाई सेयर खरिद गर्न सीमित गरेको छ । द्वितीय बजारमा कारोबार गर्ने सुविधा उपलब्ध छैन । नयाँ, आधुनिक र उन्नत प्रविधिले सुसज्जित नयाँ स्टाक एक्सचेन्ज भएमा देशव्यापी जनपहुँच विस्तार हुनेछ ।
  • हाल, नेप्सेले सेयरको स्वचालित कारोवार मात्रै गर्दै आएको छ । जबकि, नयाँ स्टक एक्सचेन्जले इक्विटी, व्युत्पन्न, स्थिर आय, सूचकांक  डाटा, वस्तुबजार उत्पादन, लगानी डाटा, इटिपिएस, बन्ड, बहुसम्पति वर्ग–उत्पादन जस्ता कारोबार समेत गर्न सक्दछ ।
  • नयाँ धितोपत्र विनिमय बजारको प्रवेशले सुविधालाई अझ स्तरीकरण गरी उपलब्ध गराउन सकिन्छ। उदाहरणको लागि, भारतीय पुँजी बजारमा नेशनल स्टक एक्सचेन्जको प्रवेशले बम्बै स्टक एक्सचेन्जले उपलब्ध गराउँदै आएका सेवा, सुविधा विश्व स्तरमा सुधार गर्न सफल भएको थियो ।
  • अरु देशहरूकै उदाहरण लिँदा पनि सुरक्षण बजारमा सीमित दलालको प्रवेशले एकाधिकार बजार सृजना गरेको थियो । नयाँ स्टक एक्सचेन्जको प्रवेशले नयाँ दलालका लागि अवसर ल्याउनेछ ।
  • साना तथा मझौला उद्यमहरू अर्थतन्त्रलाई गति प्रदान गर्ने र जीवन्त राख्ने मेरुदण्ड हुन् । नेप्सेले यस क्षेत्रलाई सम्बोधन गर्न सकेको छैन । जसका कारण साना तथा मझौला उद्यम सेयर बजारको हिस्सा बन्नबाट वञ्चित भएका छन् ।
  • अहिले नेप्सेको सुरक्षण कारोबार दर समग्र दक्षिण एशियामै उच्च छ । नयाँ स्टक एक्सचेन्जको प्रवेशले कारोबारसँगसँगै प्रतिस्पर्धा पनि बढ्नेछ । यसले अर्कोतिर लागत घट्ने छ । जब प्रतिस्पर्धा भित्रिन्छ, त्यसको प्रत्यक्ष लाभ उपभोक्तालाई हुन्छ । लगानीकर्ताले व्यहोर्न पर्ने सेवा शुल्क लगायतका खर्च घट्ने छन्। जसका कारण बजारमा नयाँ लगानीकर्ता आकर्षित हुनेछन ।
  • सूचीकृत कम्पनी, दलाल, व्यापारी बैकर्सको बृद्धिसँगै रोजगारीको अवसर पनि बढ्ने छ ।
  • सरकारको तहमा राजस्व संकलन बढ्नेछ, त्यसले अन्तत्वगत्वा देशको अर्थतन्त्र सुधारमा मद्धत गर्ने छ ।
  •  दोस्रो स्टक एक्सचेन्जले नेप्सेको कार्यसंचालनलाई संकुचन गर्ने छैन । यसले नेप्सेको संचालन तथा प्राविधिक क्षमता बढाउन भने दबाब सिर्जना गर्नेछ । नेपालमा हामीले बैकिङ र दूरसञ्चारको क्षेत्रमा यस्तो उदाहरण देखि सकेका छौं । यो प्रतिस्पर्धाले सरकारी प्रतिष्ठानहरूको सेवाको गुणस्तर अझ राम्रो हुँदै गएको छ।
  • सन् २०१२ मा पाकिस्तान र नेपालको पुँजीकरण बजार करिब समान थियो। नेपालको करिब ३६ बिलियन डलर र पाकिस्तानको करिब ३४ बिलियन डलर थियो । जबकी पाकिस्तानमा धेरै लगानीका विकल्प थिए तर नेपालमा एक मात्र इक्विटी लगानी विकल्प मात्र थियो । सन् २०२१ मा नेपालको पुँजीकरण बजार पाकिस्तानको भन्दा ठूलो थियो । तर, पाकिस्तानमा दुई स्टक एक्सचेन्ज भइसकेका छन, जबकी आजका मितिसम्म हामी एउटैले काम चलाइरहेका छौँ ।  कराँची स्टक एक्सचेन्ज सन् १९४७ मा स्थापित भएको हो । अहिले त्यसको बजार पुँजीकरण ४० विलियन डलर बराबरको छ भने ५७६ कम्पनी सूचीकृत छन। पाकिस्तान स्टक एक्सचेन्ज सन् २०१६ मा स्थापित भएको हो । यसको पुँजीकरण ३४ विलियन डलर छ भने ५४० कम्पनी सूचीकृत छन । बंगलादेशको ढाका स्टक एक्सचेन्ज सन् १९५४ मा स्थापित भएको हो । त्यसको अहिले ४८.१७ विलियन डलर बराबरको पुँजीकरण बजार छ भने ७५० कम्पनी सूचीकृत छन । त्यसैगरी, सन् १९९५ मा स्थापित चिटगाँव स्टक एक्सचेन्जसँग ४५.५८ बिलियन डलरको पुँजीकरण बजार छ भने ३१५ कम्पनी सूचीकृत छन् ।

तुलना गर्दा हामीसँग भने एउटै स्टक एक्सचेन्ज छ– नेप्से । यसको पुँजीकरण बजार अहिले २६ विलियन डलरको मात्रै छ भने १९७ कम्पनी मात्र सूचीकृत छन् । माथिका यी उदाहरणले नै स्पष्ट पार्छन कि अब बहुमुखी लगानी विकल्पसहित अर्को स्टक एक्सचेन्ज स्थापना गर्नुपर्ने बेला भइसकेको छ। यसले केवल पुँजीकरण बजार वृद्धिका लागि हैन, लगानीकर्ताको छनोटको अवसर निर्माणका लागि समेत सहयोग गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved