मेरो चरित्रहत्या गर्नेविरुद्ध कानुनी कारबाही अघि बढाउँछु : महेश बस्नेत

नेपालभ्युज

मेरो चरित्रहत्या गर्नेविरुद्ध कानुनी कारबाही अघि बढाउँछु : महेश बस्नेत

काठमाडौं। नेकपा (एमाले)का सासंद महेश बस्नेतले आफ्नो चरित्र हत्या गरेको भन्दै कानुनी कारबाहीमा जाने बताएका छन्। सामाजिक सञ्जालमा महेश बस्नेतलाई माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले कुटेको भन्दै राखिएको भिडिओ भाइरल भइरहेको छ। उक्त भिडिओमा आफू नभएको भन्दै बस्नेतले गलत भिडिओ हालेर चरित्र हत्या गरिएको बताएका हुन्।

मंगलबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बस्नेत अफवाह फैलाएर आफ्नो चरित्र हत्या गर्नेहरूविरूद्ध कानुनी कारबाहीको प्रक्रियामा जाने जानकारी दिएका छन्।

अहिले फेसबुकमा सेयर भइरहेको भिडिओ गत स्थानीय चुनावका क्रममा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीबाट मेयरको टिकट कृष्णप्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै अमान सिंह तामाङ र सापकोटा पक्षका कार्यकर्ताबीच भएको विवादको भिडिओ भएको बस्नेतले उल्लेख गरेका छन्।उक्त विवादको भिडिओलाई माओवादी केन्द्रका केही व्यक्तिहरूले महेश बस्नेतलाई कुटपिट गरेको भन्दै गरेको झुटो प्रचार गरेको भन्दै बस्नेतले आपत्ति जनाएका छन्।

‘माओवादी केन्द्रका अराजक तत्वहरू केशव थुलुङ्ग, एसपी रेग्मी लगायतले सामाजिक सञ्जालको दुरूपयोग गरी झुटो प्रचार गरिएकोमा हाम्रो गम्भीर आपत्ति छ,’ उनले भनेका छन्,‘ आम हाम्रो सुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै, सामाजिक सञ्जालको दुरूपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरूलाई कानुनी कारबाही गर्नेछौं। तत्काल साइबर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु।’

बस्नेतले पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन शाहबारे दिएको अभिव्यक्ति विवादमा परेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved