बर्दिवासका रेलवे मुआब्जा पीडितले विभागको कार्यालयमा धर्ना दिँदै

नेपालभ्युज

बर्दिवासका रेलवे मुआब्जा पीडितले विभागको कार्यालयमा धर्ना दिँदै

जनकपुरधाम। जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत अधिग्रहण गरिएको जग्गाको मुआब्जा निर्धारणमा बदमासी भएको भन्दै महोत्तरी बर्दिवासका स्थानीय आन्दोलनमा उत्रिएका छन्। रेलवेको लिक तथा भवन निर्माणअन्तर्गत परेको जग्गाको मुआब्जाको माग गर्दै उनीहरू आइतबार महोत्तरीको बर्दिवासबाट आएर जनकपुरधामस्थित कार्यालयमा धर्नामा बसेका छन् ।

यसअघि, बिहीबार पनि बर्दिबासका स्थानीयले जनकपुरस्थित नेपाल रेल्वेको केन्द्रीय कार्यालयअगाडि धर्ना दिएका थिए । ‘छलफलका लागि पटक–पटक समय दिने अनि निर्धारित समयमा हाकिम नै नबस्ने प्रवृत्ति देखियो । अब कडा आन्दोलन गर्नुको विकल्प नरहेकोले आज देखि आन्दोलनमा उत्रेको,’ बर्दिबासका शंकर फुँयालले भने ।

यसअघि, साउन १९ गते यी किसानहरू जनकपुर आई मुआब्जा विवाद सुल्झाउन रेलवेका कार्यालय प्रमुख विनोद ओझालाई लिखित ध्यानाकर्षण गराएका थिए । तर, ध्यानाकर्षण गराएको एक महिना बित्न लाग्दा पनि समस्या समाधान नभएको उनीहरूको आरोप छ । पीडितहरूले जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित वर्गीकरण अनुसारको दररेट कायम गर्नुपर्ने माग गर्दै धर्नामा बसेका हुन् । उनीहरूले जिल्ला प्रशासन कार्यालयले कायम गरेको वर्गीकरणको आधारमा मुआब्जा नदिई रेल्वेका कर्मचारीले मनमानी गरेर कम मुआब्जा दिन चाहिरहेको आरोप लगाएका छन् ।

स्थानीय जग्गाधनी र रेल्वे कम्पनी बीच भएको सम्झौतामा पुरानो खोल्सी पैनीदेखि पश्चिमको जग्गाको मूल्यांकन प्रतिकठ्ठा १५ लाखको दरले गरिएको थियो तर १० लाख प्रतिकठ्ठाको दरले मात्र भुक्तानी दिइएको स्थानीयले बताए ।

नेपाल रेल्वे कम्पनीका कर्मचारीले २०७५ साल भदौ २ गतेको जग्गा मूल्यांकन समितिको निर्णयअनुसार मुआब्जा वितरण हुँदै आएको बताउँदै आएका छन् ।मूल्यांकन समितिले बर्दिबास स्थित नापी कार्यालय तथा स्थानीय सरोकारवालाहरूसँग विस्तृत राय सल्लाह गरी भिन्दाभिन्दै ३२ सूचकको आधारमा जग्गाको मुआब्जा निर्धारण गरेको रेलवेको दाबी छ ।

पीडितहरूले आफ्नो मागको बारेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकसँग आफ्नो कुरा राख्दा महाप्रबन्धक निरञ्जन झाले जग्गा मुआब्जाको जिम्मा कम्नीमा नभई विभागअन्तर्गत रहेकाले यसमा आफूले केही गर्न नसक्ने जवाफ दिए । महाप्रबन्धक झाले पीडितहरूले राखेको धारणालाई विभागमा पुर्‍याइदिने तर यसमा आफू केही गर्न नसक्ने बताए ।

भारतको रेलवेको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्ममा तीन चरणमा काम हुँदैछ । पहिलो चरणअन्तर्गत जयनगरदेखि जनकपुरधामको कुर्थासम्म निर्माण पूरा भई रेल्वे सेवा सञ्चालनमा आइसकेको छ । दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको बिजलपुरा र तेस्रो चरणमा बर्दिवाससम्म निर्माण गर्ने योजना रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved