बानेश्वरका व्यापारी फकाउँदै बालेन, भन्छन्- साथ पाए काठमाडौंको मुहार फेर्छौं

नेपालभ्युज

बानेश्वरका व्यापारी फकाउँदै बालेन, भन्छन्- साथ पाए काठमाडौंको मुहार फेर्छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बानेश्वरका व्यापारीहरूले आफ्नो अभियानमा साथ दिएको भन्दै उनीहरूको प्रशंसा गरेका छन् ।

पार्किङ स्थलमा व्यवसाय गरेको भन्दै सोमबार बालेनले बानेश्वरको एक संरचना भत्काएका थिए । त्यहाँका व्यापारीहरूले पसलको सामान सार्न समय मागेका थिए । ती व्यापारीहरूले सहयोग गरेको भन्दै मंगलबार साँझ बालेनले सामाजिक सञ्जालमार्फत् उनीहरूको प्रशंसा गरेका हुन् ।

बानेश्वरका स्थानीय र व्यापारीहरूले फुटपाथ व्यवस्थित गर्न सघाएका तस्बिरहरू पनि उनले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

‘स-सानै भए पनि बानेश्वरमा देखिएका परिवर्तनहरुको मुख्य कारक बानेश्वरका स्थानीय, व्यापारीहरु नै हुन्,’ उनले लेखेका छन्, ‘उहाँको अग्रसरता र जिम्मेवारीबोधले मात्रै त्यति भए पनि परिवर्तन भएको छ ।’

सबैतिर स्थानीयहरुको साथ र सहयोग भए पक्कै पनि महानगरले सहजै परिवर्तनको अनुभव गर्न पाउने मेयर शाहको विश्वास छ । ‘जे सम्पदा, संरचना र बिषय जुन प्रयोजनका लागि हो, त्यसका लागि मात्रै उपयोग हुनु पर्छ भन्ने कुरामा महानगर दृढ छ,’ उनी भन्छन्, ‘यसले मात्रै महानगरको वास्तविक समस्या थाहा हुनेछ, भद्रगोल हराउनेछ र भविष्यका योजनाहरु लागू गर्न, त्यसबाट सबै तह, तप्काले लाभ लिन सक्ने अवस्था आउनेछ ।’

यसका लागि हामी सबै स्थानीयहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘विश्वास छ, महानगरले सबैको साथ पाउनेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved