काठमाडौं। काठमाडौं महानगरपालिकाले नक्सापास विपरीत अन्डरग्राउन्ड पार्किङमा सञ्चालन गरिएका पसलहरू हटाउन सुरु गरेको छ ।
महानगरले नक्सापासमा अन्डरग्राउन्ड पार्किङ बनाउने भनिए पनि त्यसविपरीत पसल सञ्चालन गरिएपछि महानगरले पसलहरू हटाउन सुरु गरेको हो । पहिलो चरणमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले नै नयाँ बानेश्वर पुगेर पसल हटाउन सुरु गरेका थिए । भवन निर्माण गर्दा जमिन तल्ला, बेसमेन्टमा गाडी पार्किङ, गोदामजस्ता प्रयोजन गर्ने गरी नक्सा स्वीकृत गरिए पनि त्यसविपरित कार्य भएकोले हटाइएको महानगरले जनाएको छ ।
प्रयोजनविपरीतका पसल हटाउन ३५ दिने सूचना जारी गरे पनि अटेर गरेकाले महानगरले पसल हटाउन सुरु गरिएको महानगरपालिका नगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।
उनले अन्य स्थानमा पनि प्रयोजनविपरीत राखिएका पसलहरू हटाउने बताए । संरचना भत्काउन महानगरको टोली पुग्दा व्यापारीहरूले चाडपर्वपछि मात्र हटाउन आग्रह गरेका थिए, तर महानगरले यसअघि नै ३५ दिने सूचना जारी गरेकाले म्याद थप गर्न नसकिने स्पष्ट पारेको हो ।
Facebook Comment
Comment