काठमाडौं । निर्वाचन आयोगले तीन वटै तहको सरकारलाई योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरू सञ्चालन नगर्न निर्देशन दिएको छ ।
आयोगले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम र सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ योजना तथा कार्यक्रम सञ्चालन नगर्न संघ, प्रदेश र स्थानीय तहका सरकारलाई निर्देशन दिएको हो ।
निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकारको योजनामा नपरेका कार्यक्रमहरु सञ्चालन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पर्ने आयोगले जनाएको छ ।
आइतबार निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले पदावधि सकिन लागेका जनप्रतिनिधिले नयाँ काम गर्दा मतदातालाई प्रभाव पार्ने र निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने भएकाले निर्देशन जारी गरिएको उल्लेख गरे । उनले बजेटमा उल्लेख भएका योजनाहरू भने नरोकिने स्पष्ट पारे ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तय गरेको छ । निर्वाचन तयारीका लागि आवश्यक कामहरु अघि बढिरहेको आयोगले जनाएको छ ।
Facebook Comment
Comment