काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन ।
राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना भएका सांसद गिरिको स्वास्थ्यबारे जानकारी लिँदै उनको स्वास्थ्यलाभको कामना गरे । बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । यसअघि आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए ।
नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन नौ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
Facebook Comment
Comment