प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाललाई लिएर सर्वोच्चमा रिट

नेपालभ्युज

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाललाई लिएर सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाललाई लिएर सर्वोच्चमा रिट परेको छ । निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने भनी अधिवक्ता मनिराम उपाध्याय लगायतले पेश गरेको निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ ।

उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए । उनले पेश गरेको निवेदनलाई कामू मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरिदिए । अदालतमा पेश भएको निवेदन प्रशासनिक रुपमा अस्वीकृत हुनुलाई दरपीठ गरेको भनिन्छ ।

दरपीठको आदेशविरुद्ध अधिवक्ता उपाध्याय लगायतका निवेदकहरुले सर्वोच्च अदालतमै निवेदन दिए । त्यस्तो निवेदन सर्वोच्च अदालतको एकल इजलासले सुनुवाई गर्छ ।

न्यायाधीश सुष्मलता माथेमाको इजलासले दरपीठ आदेश बदर गर्दै निवेदन दर्ता गर्नू भनी आदेश दियो । त्यही आदेशपछि विहीबार अधिवक्ता उपाध्याय लगायतले पेश गरेको निवेदन दर्ता भएको हो ।
रिट निवेदनमा निर्वाचनको घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिने भएकाले त्यसयता गरेका सबै निर्णय र कामकारवाहीहरु बदर हुनुपर्ने माग छ ।

उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा, सातवटै प्रदेश सभालाई विपक्षी बनाएका छन् । निवेदनमाथि आईतबार प्रारम्भिक सुनुवाई हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved