गाईजात्रा बिशेष

बाइक सित्तैमा लैजाऊ (हास्यव्यंग्य कविता)

बाइक सित्तैमा लैजाऊ (हास्यव्यंग्य कविता)

न गुडाउन सक्छु
न उडाउन सक्छु
न लडाउन सक्छु
न हिडाउन सक्छु

सरकारले हप्तैपिच्छे मूल्य बढाइदिन्छ,
पेट्रोल पम्प गयो हावा भराइदिन्छ ।
साधनभन्दा महँगो भयो पेट्रोलको भाउ
लौन कोही आउ, मेरो बाइक लैजाउ ।

न भाडा लिन पाइन्छ,
न पार्किङ गर्न पाइन्छ
हतारमा त समयलाई जितिन्छ
तर, के गर्नु किस्ताले नै बाउको बिहे देखिन्छ ।
‘बाइक किन्’ भन्दै कराउँथे बाउ
अब बाउ न साउ, तिमी नै लैजाउ

आफू कर्कस आवाज सहन्नँ,
ऊ कराउँदै हिंड्छ ।
आफू ट्राफिकलाई छल्छु घरीघरी,
ऊ तिराउँदै हिँड्छ ।

न दाउरा बाल्न मिल्छ
न दाल पकाउन मिल्छ ।
न बोकेर हिँड्न मिल्नु कस्तो झ्याउ
ए…कोही त आउ मेरो बाइक लैजाउ ।

स्टार्ट गर्‍यो कि पेट्रोल निखृन्छ ।
एक ठाउँ बनायो दस दस ठाउँ बिगृन्छ ।

नयाँ किन्दा पो चढ्न सबै पछि लाग्छन्
थोत्रो भयो को आउथ्यो, सबै भाग्छन् ।
विज्ञापन गर अब, चोक चोकमा कराउ
ए आऊ न आऊ, मेरो बाइक लैजाऊ ।

परार पो नयाँ थ्यो घर सिँगार्‍यो
पोहोर त धूलोले सबै बिगार्‍यो ।
किनेको तिन वर्ष भो खै के लछार्‍यो,
यसपालि हिलोमा चार चोटि पछार्‍यो ।

पेट्रोल पम्प सहरमा, आफ्नो घर गाउँमै
2/4 लिटरले जाने कि आउने, न पुग्छ नै ठाउँमा ।
दायाँबायाँ केही भयो कि सरकारले कर डस्छ ।
हाल्दाहाल्दै निगमले भाउ बढाउन सक्छ ।

जामको टेन्सन ट्राफिकको टेन्सन,
करको भन्दा सरकारको टेन्सन ।
एक्सिडेन्टको त झन् महाटेन्सन
बाइक किनेर न आउँछ पेन्सन ।

बाइक बेच्न लाग्दा एउटाले सोध्छ,
म लिन पर्‍यो तेल कति दिन्छ ?
मैले भने, तेल दिने भए म किन बेच्थेँ,
फाइदामा त म आफैं किन्थेँ ।

बाइक लिएर पूजा गरुँ कि सजाउँ ?
भो पैसा लिन्न आऊ सित्तैमा लैजाऊ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved