काठमाडौैं । एनएमबि क्यापिटल लिमिटेडले आज (साउन २६ गते) देखि अर्को म्युचुअल फन्ड निष्कासन गर्दैछ। क्यापिटलले एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड २ नामक म्युचुअल फन्ड निष्कासन गर्न लागेको हो।
प्रतिइकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्कासन गर्न लागेको क्यापिटलले निष्कासन गरिने कुल इकाइमध्ये १४ प्रतिशत अर्थात् १ करोड ८६ लाख इकाइ कोष प्रवर्द्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाइ अर्थात् १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याएको छ।
लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। सो योजनाको इकाइका लागि साउन ३१ गतेसम्म आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भदौ ९ गतेसम्म लम्बिनेछ।
यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ।
एनएमबि सुभल इन्भेष्टमेन्ट फन्ड २ एक बन्दमुखी योजना हो। यस योजनाको अवधि इकाइ बाँडफाँट भएको मितिले १० वर्षको हुनेछ। क्यापिटलले यसअघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ निष्कासन गरिसकेको छ।
Facebook Comment
Comment