काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिन अनुरोध गरेका छन् । बुधबार साँझ फेसबुकमा एक सन्देश लेख्दै मेयर शाहले सर्वोच्चको अन्तरिम फैसलाप्रति व्यंग्य गरेका हुन् ।
शाहले लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’
यसअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले बनाएका संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएसँगै अस्पतालले सर्वोच्चमा रिट दायर गरेको थियो । बुधबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले तत्काल संरचना नहटाउन अन्तरकालीन अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चको यस्तो आदेश आएपछि नै मेयर शाहले आक्रोशित हुँदै अब नक्सा पास नगरी बनाइएका संरचनालाई कारबाही गर्ने अधिकार सर्वोच्चलाई नै दिनुपर्ने तर्क गरेका हुन् ।
सर्वोच्चले दुवै पक्षलाई सोमबार छलफलमा समेत बोलाएको छ । महानगरपालिकाको समेत तर्क सुनेपछि बुधबारको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णय सर्वोच्चले सुनाउनेछ ।
Facebook Comment
Comment