ओलीको फोन नलागेपछि एमालेसँगको सल्लाहबिनै चुनावको मिति घोषणा भयो- मन्त्री कार्की

प्रधानमन्त्रीले क्याबिनेट शुरु हुनुअघि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई फोन गर्न कोसिस गर्नुभएको थियो। त्यसमा म पनि उपस्थित छु। तर, त्यो बेला फोन संवाद हुन सकेन। त्यसपछि निर्णय भयो।

नेपाल भ्युज

ओलीको फोन नलागेपछि एमालेसँगको सल्लाहबिनै चुनावको मिति घोषणा भयो- मन्त्री कार्की

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमासँग परामर्शसमेत नगरी सरकारले चुनावको मिति घोषणा भएको भन्दै आलोचना भएपछि सरकारले भने ‘फोन नलागेको’ बताएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो स्पष्टीकरण दिएका हुन्।

४ मङ्सिरमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणा भइसकेको छ। शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलको बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री कार्कीले निर्वाचन आयोगको परामर्शअनुसार सरकारले चुनावको मिति घोषणा गरेको बताए।

अघिल्लो चुनावमा सबैभन्दा बढी मत र सिट पाएको एमालेले आगामी चुनावको तिथि तोक्ने महाछलफलमा आफ्नो राय राख्ने मौकै नपाएपछि राजनीति वृत्तमा सत्तागठबन्धनको आलोचना भइरहेको छ।

छिटो चुनावी तिथि तोक्न माग गर्दै आएको एमालेलाई शेरबहादुर देउवा नेतृत्वको सरकारलाई चुनावको मिति तोक्ने छलफलमा नबोलाएपछि एमालेका नेताहरूले समेत असन्तोष जनाएका थिए।

मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुने कुरा अपेक्षित रहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसका लागि प्रमुख प्रतिपक्षसँग परामर्श गर्नैपर्ने भन्ने कुरामा सत्यमा नरहेको दाबीसमेत गरे।

उनले भने ‘‘चुनावको मिति घोषणा गर्ने कुरा निर्वाचन आयोगले धेरै अगाडि प्रस्ताव गरेको हो। आयोगको परामर्शअनुसार सरकारले गर्ने कुरा यो नियमित अभ्यासकै कुरा हो। प्रतिपक्षसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने भन्ने कुरामा सत्यता छैन। प्रधानमन्त्रीले क्याबिनेट शुरु हुनुअघि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई फोन गर्न कोसिस गर्नुभएको थियो। त्यसमा म पनि उपस्थित छु। तर, त्यो बेला फोन संवाद हुन सकेन। त्यसपछि निर्णय भयो। मङ्सिर ४ गते चुनाव हुने कुरा अपेक्षित कुरा हो।’’

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved