स्मार्टच्वाइस, राष्ट्रिय सहकारी र ग्लोबल आइएमईद्वारा कोप कार्डको सेवा शुभारम्भ

नेपालभ्युज

स्मार्टच्वाइस, राष्ट्रिय सहकारी र ग्लोबल आइएमईद्वारा कोप कार्डको सेवा शुभारम्भ

काठमाडौं। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले विगत २० वर्ष देखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीहरुको लागि सहकारी पहिचानसहितको कोप कार्डको सेवा राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा समुद्घाटन गरी शुभारम्भ गरेको छ ।

नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरूप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोबाइल बैंकिङमार्फत आफनो सेवा दिँदै आएकोे छ । अहिले सम्म बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुबिधा पुर्‍याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भुमिका र कारोबार समेतलाई मध्यनजर गर्दै सहकारीहरूले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाईएकोे छ ।

विगत केही समय अगाडिदेखि एससीटीले १०० भन्दा बढी सहकारीहरूलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्‍याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरूलाई एउटै ब्राण्डको कोप कार्ड जारी गरी सञ्चालनमा ल्याउन लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेस प्रविधिमा आधारीत हुने र नेपाल तथा भारतका एटीएम-पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिनेछ । यस कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्नेछन ।

यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन । सहकारीहरूले आफनो सदस्यहरूलाई कोप कार्डको वितरण गरे पछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँवाट पनि एटीएम मार्फत रकम निकाल्न सक्नेछन् भने, पोसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन् । यो सुविधाका कारण सदस्यहरूको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रूपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोबारको लागि बैंक गइरहनुपर्ने बाध्यताबाट मुक्ति दिनेछ र सहकारीहरूको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

कार्ड शुभारम्भ कार्यक्रमलाई प्रमुख अतिथीको रूपमा सम्बोधन गर्दै, माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता एवम् विकासमार्फत उपलब्ध साधन श्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्दै शोषणरहित समाजको निर्माण गर्ने लक्ष्य सरकारले लिँदै आएको बताए ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले सहकारीमा प्रविधिको महत्त्व र उपयोगिताबारे प्रतिवेदन प्रस्तुत गर्दै यस सेवाद्वारा सहकारीहरूलाई विद्युतीय कारोबारका लागि थप प्रविधियुक्त सुविधाहरू दिँदै जाने र सहकारीहरूलाई अझ सबल बनाउँदै जाने विश्वास व्यक्त गरे ।

ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आफनो मन्तव्यमा ग्लोबल बैंकले यस सहकार्यमा सहभागी भई सहकारी क्षेत्रमा पनि केहि टेवा पुरयाउन पाएकोमा खुशि ब्यक्त गरे ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष सुमन पोखरेलले विद्युतीय भुक्तानी प्रणालीमा सहकारी क्षेत्र पनि जोडिन पाउँदा सहकारी क्षेत्रको समग्र सेवाको विविधिकरण हुने विश्वास व्यक्त गर्दै एससीटीले बैंक तथा वित्तीय संस्थासँग सधैँ सहकार्य गर्न इच्छुक रहेको धारणा राखे । सेवा क्षेत्रमा प्रबिधिको आवश्यकता रहँदै आएको सन्दर्भमा यस्ता सेवाहरू थपिँदै जाँदा संस्थाहरूको सेवा प्रविधियूक्त हुने धारणा समेत अध्यक्ष पोखरेलले व्यक्त गरे ।

कोप कार्ड सार्वजनिक कार्यक्रममा तारापुन्ज मल्टिप्रपोज कोअपरेटिभ लिमिटेड, मुनाल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र फ्रेन्डस सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड गरी तीन सहकारी पुरस्कृत भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved