गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक गौतम सम्पर्कमा

नेपालभ्युज

गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक गौतम सम्पर्कमा

काठमाडौं । बचतकर्ताहरुको रकम लिएर फरार भएका गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वरका अध्यक्ष रामबहादुर गौतम सम्पर्कमा आएका छन् । गौतमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफू नभागेको बताएका छन् । उनले  व्यक्तिगत काम विशेषले केही दिन नेपाल बाहिर गएको बताए ।

आफू नेपाल बाहिर रहेका बेला मोबाइल सम्पर्कबाहिर हुँदा बचतकर्ताहरूले रकम खाएर भागेको भन्ने हल्ला मच्चाएको गौतमले विज्ञप्तिमार्फत बताएका छन् । हाल आफू नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानमा लागिसकेको समेत गौतमले बताएका छन् ।

साउन १३ गते काठमाडौंको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीमा ताला लागेसँगै बचतकर्ताहरूले ठगी आरोपमा ठूलो संख्यामा सहकारी विभाग गएर सहकारीविरुद्ध उजुरी हालेका छन् । विभागका अनुसार गौतमश्रीविरुद्ध ११४५ उजुरी दर्ता भएको छ । करिब २५ हजार सेयर सदस्य तथा बचतकर्ता रहेको सहकारीले करिब ७ अर्ब रुपैयाँ संकलन गरेको उजुरीमा उल्लेख गरिएको छ ।

उजुरी परेलगत्तै विभागले तत्काल राष्ट्र बैंकलाई पत्र लेख्दै गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक सबैको बैंक खाता तथा सम्पूर्ण चल अचल सम्पत्ति रोक्का गर्न आग्रह गरेको छ । यस्तै, केन्द्रीय अनुसन्धान तथा प्रहरी अपराध महाशाखामा समेत पत्र लेख्दै विभागले गौतमश्रीको सम्पूर्ण सम्पतिको सुरक्षा गरी दोषी सञ्चालकहरुलाई पक्राउ गर्न अनुरोध गरी पठाएको विभागले भनिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved