विद्यार्थी बोक्ने चालक नै मापसे गरेर चलाउँछन् स्कुल बस

काठमाडौं उपत्यकाका स्कुल तथा कलेजका बस चालकलेनै विद्यार्थी समेतको ज्यान जोखिममा राख्दै मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको छ। आइतबार बिहान विभिन्न स्थानमा चेक गर्दा पाँच जना चालकहरूले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटिएको हो।

नेपालभ्युज

विद्यार्थी बोक्ने चालक नै मापसे गरेर चलाउँछन् स्कुल बस
फाइल तस्वीर

काठमाडौं। काठमाडौं उपत्यकाका स्कुल तथा कलेजका बस चालकलेनै विद्यार्थी समेतको ज्यान जोखिममा राख्दै मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको छ। आइतबार बिहान विभिन्न स्थानमा चेक गर्दा पाँच जना चालकहरूले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मापसे गरी चालकले आफ्नो मात्रै नभई विद्यार्थीहरू समेतको ज्यान जोखिममा राखेका पाइएको छ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा ५ जना मापसे गर्नेचालकसहित १६ जना स्कुल बस चालकलाई विभिन्न कसुरमा कारबाही गरेको छ।

ट्राफिक प्रहरी कार्यालयले गत साउन ८ गतेदेखि जारी गरेको अभियानको क्रमका ती सवारी चालकहरू कारबाहीमा परेका हुन्। स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनहरूलाई कारबाही तथा सचेत गराउन अभियान चलाइएको थियो।

यसअघि स्कुल तथा कलेजका बसमाथि चेकिङ हुँदैनथ्यो। यसकारण कतिपय स्कुल बस चालकले मदिरा पिएर सवारी चलाएका हुनसक्ने बताइएको छ। पढ्ने विद्यार्थी बोक्ने गाडीका चालकले यसरी मापसे गर्नु गम्भीर लापरबाही भएकाले नियमअनुसार कारबाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनहरूलाई कारबाही तथा सचेत गराउन अभियान चलाउने क्रममा खिचिएको तस्वीर

यी हुन् मापसे गरेर स्कुल बस चलाउने चालकहरू

मापसे गर्नेहरू चार वटा कलेजका विद्यार्थी बोक्ने बसका चालकहरू हुन् भने एउटा स्कुलका बसका चालक हुन्। कमलादीस्थित युनिग्लोब कलेजको बा २ ख ५२० नम्बरका चालक हरिकृष्ण बस्नेत, जोरपाटीस्थित त्रियुग पब्लिक स्कुलको बा १ ज ६५४७ नम्बरका चालक सन्तोष गुरुङले मापसे गरेका थिए।

बानेश्वरस्थित हिमालयन ह्वाइट हाउस कलेजको बा १ क ९०३१ नम्बरका चालक दिलबहादुर शाह, सिनामंगलस्थित ब्रिज वाटर कलेज प्रदेश ३ ०१०–२२– च ७५८१ नम्बरका चालक रामकुमार तिमिल्सिना र कोटेश्वरस्थित कस्मिट इन्टरनेशनल कलेजको बा २१ च ४६८ नम्बरका चालक चक्रबहादुर राना कारबाहीमा परेका हुन्।

उनीहरूलाई एक हजार रुपैयाँ जरिवाना र एक घन्टाको सचेतना कक्षा लिएपछि लाइसेन्स फिर्ता दिइने प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए।
स्कुल बसका चालकहरूले पनि ट्राफिक नियमको उल्लंघन गर्दै आएको भन्दै कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले केही समयअघि प्याब्सन, एनप्याब्सनका पदाधिकारीहरूलाई बोलाएर छलफल गरेकी थिइन्।

आगामी दिनहरूमा समेत निर्देशिका विपरीत सञ्चालन हुने स्कुलका सवारी साधनहरूलाई कानून बमोजिम कारबाही गर्ने कार्यलाई निरन्तरता दिइने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved