अर्थमन्त्री प्रकरण

संसदीय विशेष समितिले आज प्रतिवेदन बुझाउने

नेपालभ्युज

संसदीय विशेष समितिले आज प्रतिवेदन बुझाउने

काठमाडौं। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार (आज) प्रतिवेदन बुझाउने भएको छ।

चालु आर्थिक वर्षको बजेट निर्माणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति संलग्न गराएर करका दर हेरफेर गरेको भन्ने आरोप लागेपछि गठित समितिले आफ्नो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने भएको हो।

समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार अपरान्ह ३ बजे सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

तत्कालीन अर्थमन्त्री शर्मालगायत विभिन्न पक्षसँग छलफल गरेर समितिले प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनलाई अन्तिम रुप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो। प्रतिवेदनमा उल्लेखित विषय सार्वजनिक गर्न नमिल्ने सदस्यहरूले बताएका छन्।

गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय विशेष समिति गठन गरिने घोषणा गरेका थिए। समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव सदस्य छन्।

संसदीय छानबिन समिति गठन भएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए। समितिले पूर्वअर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो। समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । तोकिएको समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो । समितिको अन्तिम म्याद बिहीबार सकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved