मंकीपक्स प्रकोपका कारण विश्वव्यापी स्वास्थ्य आपतकाल

७५ देशमा १६ हजार मंकीपक्स संक्रमित

नेपालभ्युज

मंकीपक्स प्रकोपका कारण विश्वव्यापी स्वास्थ्य आपतकाल

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै आपतकाल घोषणा गरिएको हो। यो संक्रमणबाट ७५ देशमा १६ हजार मंकीपक्स संक्रमित भए पनि पाँच जनाको मात्र ज्यान गएको तथ्याङ्क छ।

विश्वव्यापी स्वास्थ्य संकटकाललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो चेतावनी मानिन्छ ।मंकीपक्सका बिरामी तीब्ररूपमा बढेपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।

डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ। उनका अनुसार संक्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकाहरूलाई बचाउन आवश्यक कदम चाल्न जरुरी रहेको बताए।
डा टेड्रोसले भने– ’’यो प्रकोप विश्वभर द्रुतगतिमा फैलिएको र यो वास्तवमै अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ।’’

जोखिममा परेकाहरूलाई बचाउन डब्लुएचओले आवश्यक तयारी र पहल गरिरहेको उनको भनाइ छ।

के हो मंकीपक्स ?

बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ। मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । संक्रमण भएको खण्डमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् र शरीरका अन्य भागमा फैलिन्छ । यसको संक्रमण भएका दसमध्ये एक जनाको ज्यान जान सक्ने वैज्ञानिकहरूको भनाइ छ ।

पश्चिम अफ्रिकामा मंकीपक्सका कारण मानिसको मृत्यु भएको तथ्यांक छ। हालसम्म मंकीपक्स भाइरस थोरै सङ्ख्यामा मात्र पुष्टि भएको छ। यो भाइरस एक मानिसबाट अर्को मानिसमा सहज रूपमा भने सर्दैन, जसका कारण मंकीपक्स कोरोना जस्तो आम रूपमा फैलने सम्भावना देखिन्न। तर पछिल्लो समय यो भाइरस असामान्य रूपमा देखा परेको भन्दै अनुसन्धान गरिरहेका वैज्ञानिकसमेत अचम्ममा परेका छन् ।

कसरी सर्छ मंकीपक्स ?

डब्लूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउ, हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिन्छ । त्यस्तो तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ ।

त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्ने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved