काठमाडौं। रुस र युक्रेनबीच अन्न निर्यात खुलाउनेबारे महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। टर्कीको इस्तानुबलमा भएको लामो वार्तापछि दुवै पक्ष खाद्यान्नको निर्यात खुलाउन सहमत भएका हुन्।
सिधा युद्धमा रहेका रुस र युक्रेनले सम्झौतामा हस्ताक्षर गर्दा एउटै टेबलमा भने बसेनन्। सम्झौतामा पहिला रुसका रक्षामन्त्री सर्गेई सोयुगुले हस्ताक्षर गर्नुभयो। त्यसपछि अलग्गै टेबलमा युक्रेनका पूर्वाधारमन्त्री ओलेक्सान्दर कुब्राकोभले हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ।
सम्झौता अनुसार अब युक्रेनी बन्दरगाहमा रोकिएको हजारौँ टन खाद्यान्न कृष्ण सागर हुँदै विश्व बजारमा निर्यात हुनेछ।
यो सम्झौता १ सय २० दिनसम्म लागू हुनेछ। दुई देशको युद्धले विश्वमा भैरहेको खाद्यान्न अभाव र मूल्यवृद्धिमा कमी आउने अपेक्षा गरिएको छ। दुई पक्षले चाहेको अवस्थामा सम्झौता थप लम्बिन सक्नेछ।
सम्झौता कार्यान्वयनको सहजीकरण गर्न इस्तानबुलमा एउटा संयुक्त कार्यालय पनि स्थापना गरिनेछ। यो कार्यालयमा संयुक्त राष्ट्रसङ्घ, टर्की, रुस र युक्रेनका कर्मचारी रहनेछन् । गएको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेयता युक्रेनबाट विशेषगरी गहुँ, मकै र सूर्यमुखीको तेल निर्यात नहुँदा त्यसको असर विश्वभर परेको छ।
गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण थालेको थियो। आक्रमणको झन्डै ६ महिनापछि सम्झौता भएको हो। पछिल्लो सम्झौता युद्ध अन्त्यको बाटोमा एउटा महत्त्वपूर्ण सुरूवात हुनसक्ने ठानिएको छ।
Facebook Comment
Comment