एजेन्सी। जनताको प्रदर्शनका कारण राष्ट्रपति गोटावाय राजापाक्ष लखेटिएपछि नयाँ राष्ट्रपति चयनसँगै श्रीलंकामा संवैधानिक संकट टरेको छ । राष्ट्रपतिमा रनिल विक्रमासिंघेको चयनपछि तत्कालका लागि श्रीलंकाको संवैधानिक संकट त टरेको छ, तर आर्थिक र राजनीतिक संकट यथावत् छ ।
नयाँ राष्ट्रपतिका लागि संसद्मा बुधबार सम्पन्न मतदानमा एक सय ३४ मत प्राप्त गरेपछि विक्रमासिंघे राष्ट्रपति भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी दुल्लास अलाहपेरुमाले ८२ र अनुरा कुमारा दिसानायेकेले तीन मत प्राप्त गरेका छन् ।
श्रीलंकाको संवैधानिक व्यवस्थाअनुसार राजापाक्षको कार्यकालको बाँकी दुई वर्ष बिताउनै बाँकी थियो। सो कार्यकालको लागि अब विक्रमासिंघे राष्ट्रपति रहनेछन् । तर, संसद्ले विक्रमासिंघे नयाँ राष्ट्रपति बनाए पनि प्रदर्शनकारी उनको नेतृत्व स्वीकार गर्न तयार देखिएका छैनन् । प्रदर्शनकारीले विक्रमासिंघेलाई पनि सत्ताको नेतृत्वबाट बाहिरिनुपर्ने माग राखेका छन् ।
केही दिनअघि प्रदर्शनकारीले राष्ट्रपति निवास र कार्यालय कब्जा गरेपछि राष्ट्रपति गोटावाया राजापाक्ष भागेर अज्ञात स्थल पुगे र सभामुखमार्फत राजीनामाको सन्देश पठाएका थिए । राजापाक्षको राजीनामाको सन्देशसँगै प्रधानमन्त्री विक्रमासिंघेले पनि मुलुकलाई निकास दिन सर्वदलीय सरकारका लागि राजीनामा दिने बताएका थिए ।
तर, राजापाक्षको बहिर्गमन उनका लागि राष्ट्रपति बन्ने सुअवसर देखिएपछि भने उनी त्यो योजनाबाट पछि हटेका थिए। प्रदर्शनकारीको माग र आफ्नो वचनअनुसार राजीनामा दिनुको सट्टा उनले हातमा आएको कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्न पुगेका हुन्। सत्तारूढ दललाई फकाएर आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सफल भएर विक्रमासिंघे राष्ट्रपति नै निर्वाचित भएका छन् । उनले संसद्लाई नयाँ प्रधानमन्त्री दिन आग्रह गरेका छन्।
विक्रमासिंघेको जितप्रति धेरैले निराशा र बेखुसी व्यक्त गरेका छन् ।
आर्थिक संकटपछिको प्रदर्शनले पूर्ववर्ती सरकारका सम्पूर्ण मन्त्रीलाई राजीनामा दिन मात्रै बाध्य बनाएन, प्रदर्शनकै कारण राष्ट्रपतिले देशै छोडेर भाग्नुपर्यो ।
Facebook Comment
Comment