काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार ल्याउने तयारी गरेको छ। विवादमा मुछिएका गभर्नर महाप्रसाद अधिकारीले अघिल्लो बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिसकेका छन्। आउँदो शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो साताको मंगलबार नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम.अधिकारीको नाम आएपछि शंका गभर्नरमाथि सोझिएको छ।
उनै गभर्नर अधिकारीले मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ। अहिले राष्ट्र बैंकले मौद्रिक नीतिको ड्राफ्ट तयारी गरिसकेको र प्रधानमन्त्रीसँगको छलफलपछि मात्रै केही बुँदाहरू परिवर्तन हुन सक्ने बताइएको छ ।
यसबारे गभर्नर अधिकारीले अर्थसचिव मधु मरासिनी समेतसँग बिहीबार (भोलि) छलफल गर्दैछन्। भोलि नै राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्ने र शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी छलफल भइरहेको स्रोतले बताएको छ। मौद्रिक नीतिमा पुनरकर्जा सुविधा बन्द गर्ने र घरजग्गामा हुने लगानीलाई निरुत्साहन गर्ने गरी नीति आउन सक्ने बताइएको छ।
मौद्रिक नीतिको तयारी गरिरहँदा अर्थ मन्त्रालय नेतृत्व विहीन बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नै अर्थमन्त्रालयको जिम्मेवारी लिएका छन्।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि अर्थमन्त्री शर्माले राजीनामा दिइसकेका छन्। उनीमाथि छानबिनका लागि संसदीय छानबिन समिति समेत गठन भएको छ।
तत्कालीन मन्त्री शर्माले जेठ २२ गते ल्याएको बजेट भने प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पास भइसकेको छ। देउवाले अर्थमन्त्रीको जिम्मेवारी अरूलाई नदिँदै राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेको स्रोतले बताएको छ।
Facebook Comment
Comment