‘नेपालले एकदिवसीय मान्यता गुमाउँदैन’

तर टिमसँगै नेपाल फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै पुबुदले भने,“म अहिले पनि भन्छु, नेपालले एकदिवसीय मान्यता गुमाउने छैन। हामी अझै शीर्ष पाँचभित्र रहन सक्ने अवस्था छ।”

नेपालभ्युज

‘नेपालले एकदिवसीय मान्यता गुमाउँदैन’

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दसानायकेले नेपालले एकदिवसीय मान्यता नगुमाउने बताएका छन्।

मंगलबार आईसीसी विश्वकप लिग-२ अन्तर्गतको स्कटल्याण्ड भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

यो श्रृंखलाको खराब प्रदर्शनका कारण आईसीसीले नेपाललाई दिएको एकदिवसीय मान्यता पनि धरापमा पर्ने देखिएको छ।

तर टिमसँगै नेपाल फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै पुबुदले भने, “म अहिले पनि भन्छु, नेपालले एकदिवसीय मान्यता गुमाउने छैन। हामी अझै शीर्ष पाँचभित्र रहन सक्ने अवस्था छ।”

सात राष्ट्र सहभागि यो लिग-२ को शीर्ष पाँचभित्र रहन सके नेपालको एकदिवसीय मान्यता यथावत् रहन सक्छ। स्कटल्याण्डको श्रृंखलापछि नेपाल २० खेलमा १७ अंकसहित लिगको छैटौं स्थानमा छ।
लिगमा कुल ३६ खेल खेल्नुपर्नेमा नेपालले अझ १६ खेल खेल्न बाँकी छ। जसमध्येको ८ खेल नेपालले घरेलु मैदानमा खेल्नेछ।

विश्वकप लिग-२ अन्तर्गतको आयोजक स्कटल्याण्ड र नामिबियासँगको यस त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालको प्रदर्शन सन्तोषजनक हुन सकेन।

“यो टुर सोचेजस्तो भएन हाम्रो। तयारी धेरै थियो। बारम्बार क्रिकेट खेलिराख्नु हाम्रो लागि सकारात्मक पक्ष थियो। राम्रो अवस्थामा तयारी गर्न नपाए पनि धेरै राम्रो टिमहरूसँग लगातार क्रिकेट खेलिरहेका छौ। तर जे सोचेर गएको थियो, जुन किसिमको तयारी थियो, टिमको हिसाबले हामी असफल भयौँ,” नेपाली टिमका कप्तान सन्दीप लामिछानेले बताए।

नेपालले यस दुवै श्रृंखलामा टिमसँग दुई-दुई गरी कुल चार खेल खेलेको थियो। जसमध्ये नेपाल तीन खेलमा पराजित भयो। यस श्रृंखलामा स्कटल्याण्डलाई पहिलो पटक पराजित गरे पनि खराब ब्याटिङका कारण नेपालले अन्य तीन खेल गुमाएको थियो।

लिग-२ अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्ने बाटो पनि हो। यस लिगको अन्त्यसम्ममा शीर्ष तीनभित्र पर्ने टिम सीधै एकदिवसीय विश्वकप छनोटमा प्रवेश पाउनेछन्।
“अब शीर्ष तीनमा पर्न भने अलि गाह्रो छ, यसका लागि अब बाँकी खेलमा ९० प्रतिशत जित्नुपर्ने हुन्छ। तर त्यो पनि असम्भव भने छैन। अब घरेलु मैदानमा खेलिने खेलहरू आउँदै छन्।”

नेपालले अब नामिबिया र स्कटल्यान्डसँग चार/चार खेलको एक श्रृंखला घरेलु मैदानमा र एक श्रृंखला नामिबियामा खेल्न बाँकी छ। त्यसैगरी यूएई र पपुवा न्युगिनीसँगको एक श्रृंखला नेपालमा नै हुनेछ भने एक श्रृंखला पपुवा न्युगिनीमा खेलिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved