बढ्दै साउनमा मेहन्दी र हरिया चुरा लगाउने ‘क्रेज’

कतिपयले अनावश्यक तडकभडकका रूपमा पनि साउन मनाउन थालेकाले विकृति पनि बढिरहेका छन्।

बढ्दै साउनमा मेहन्दी र हरिया चुरा लगाउने ‘क्रेज’

धनुषा। आज साउन महीनाको पहिलो सोमबार। प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ। साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ। रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ।

पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ। ‘क्रेज’ बढ्नुलाई धार्मिक विश्वास तथा फेसनका रूपमा लिन सकिन्छ। विशेषगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन छ। यद्यपि यस महीनाका सबै दिन उत्तिकै महत्वका साथ लिइन्छ।

जनकपुरधामकी स्थानीयवासी तथा नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य रिङ्कु गायत्री मिश्र आफूले धार्मिक विश्वासका कारण चुरा लगाएको बताउँछिन्। “साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ”, मिश्रले भनिन्।

साउन महीना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले महीनाभरि आफू हरियो चुरा लगाउने मधेस प्रदेश चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डकी सदस्यसमेत रहेकी जनकपुरधामकी पुष्पा यादवको भनाइ छ। यादवले हरियो चुरासँगै मेहन्दीले हात सजाएकी छन्।

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी सपना गिरीले साउने सङ्क्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन विस्तारै हराउँदै गएको तर हरियो चुरा तथा मेहन्दी लगाउनेको सङ्ख्याचाहिँ वर्षैपिच्छे बढ्दै गएको बताइन्। “परिवारमा भएका सदस्यका हत्केला र पाखुरामा मेहन्दी तथा चुरा देखेपछि सबैले रहरले लगाउने गरेका छन्”, उनले भनिन्, “घरैभरि सबैले लगाएका छन्, कसैको हात खाली छैन।”

No description available.

कतिपयले हरियो चुरा लगाइसकेपछि फुटाउनु हुँदैन भनेर महीनाभर होसियारी अपनाउने गर्दछन्। साउनमा शृङ्गारका सामान अन्य महीनाको तुलनामा निकै बिक्री हुने व्यापारी बताउँछन्।

साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृङ्गार सामानका पसलमा चुरापोते, हरिया, राता, पहेँला वस्त्र खरिदकर्ताका भीड बढेसँगै व्यापार बढिरहेको व्यापारीको भनाइ छ। महेन्द्रनगरस्थित मीना शृङ्गार पसलकी प्रोप्राइटर मीनादेवी साहले मध्य असारदेखि नै हरियो चुराको बिक्री बढेको बताइन्।

यस महीनाको सोमबार शिवको मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो हुने गर्छ। विशेषगरी विवाहित महिला यसमा सहभागी हुने र व्रत पनि बस्ने गर्छन्। महिलाले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन्।

जनकपुर उपमहानगरपालिका भानुचोक बस्दै आएकी तुलसा भट्टराईले पनि साउन महीनाको पहिलो दिनदेखि नै हातमा हरियो चुुरा, मेहेन्दी र रातो कुर्था सलवारमा सजिएर हिँड्ने र सोमबार समेत बस्न थालेको बताइन्।

उनका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा साउदी अरेबियामा हुनुहुन्छ। श्रीमान्को दीर्घायुको कामना गर्दै साउने सोमबारमा व्रत बसेकी हुन्। उनले आफ्नी सानी छोरीलाई समेत हातभरि हरियो रङको चुरा र मेहेन्दी लगाइदिएकी छन्। साउन महीनामा घरायसी महिलादेखि अफिसमा काम गर्ने र ड्युटीमा खटिएका कतिपय महिला ट्राफिक प्रहरीसमेतले हरियो चुरा लगाएको देखिन्छ। हरियो चुरा, पोते लगाउने शास्त्रीय मान्यता नभए पनि यसको चलन बढ्दो छ।

No description available.

हातमा हरियो, रातो र पहेँलो चुरा लगाएर शिवजीको पूजा गर्दा खुसी बढ्ने कतिपय महिला बताउँछन्। महिला आफ्नो श्रीमान्को सुस्वास्थ्यका लागि सोमबारको व्रत बस्ने विश्वास गरिन्छ। यो एउटा आस्था पनि हो। सबै हिन्दू नारीको साउन महीना चाँड बन्न पुगेको छ।

कतिपयले यसलाई अनावश्यक तडकभडकका रूपमा पनि मनाउन थालेका छन्। नेपालमा मात्र नभएर विदेशमा पनि यो चलन फस्टाएको देखिन्छ। हिन्दू धर्म संस्कृति मान्ने महिलामा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको रोजाइमा पर्छ।

“पहिले गाउँघरमा मेहन्दी पाइँदैन थियो। मेहन्दी लगाउने चलन पनि थिएन। महिलाले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे। हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ”, बर्दिवासकी महिला अधिकारकर्मी उर्मिला कार्कीले भनिन्।

साउनमा हरियो चुरारमेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुने तथा सर्पदंशबाट जोगिइने विश्वास छ। तर पछिल्लो समय धार्मिक आस्थाका आधारमा मात्र नभई देखासिकीका रूपमा पनि चुरा/मेहन्दी लगाइएको कतिपयको बुझाइ छ।

के छ पौराणिक मान्यता ?

पौराणिक मान्यताअनुसार साउन महीना शिवको महीनाका रूपमा लिइन्छ। पार्वतीले साउन महीनाभरि निराहार रही कठोर व्रत बसेर ‘भगवान् शिव’लाई प्राप्त गरेको प्राचीन विश्वासका आधारमा महिलाले यसलाई बढी महत्वका रूपमा लिने गर्छन्। साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ। हरियो रङ प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जाको वृद्धिको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ।

हरियो उपचारको रङ पनि हो जो मुटसँग जोडिएको हुन्छ। उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ। विवाहित जोडीको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ।

यसकारण लगाइन्छ हरियो

शास्त्री नवीन प्रियदर्शीका अनुसार हरियो रङ सौभाग्यको प्रतीक हो। साउन महीना हरियालीको महीना पनि हो र यो महीना प्रकृतिसँग आफूलाई जोड्ने महीना पनि हो। यस महीनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो।

शास्त्रमा प्रकृतिलाई ईश्वरका रूपमा लिइन्छ। हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफू र पतिको आयुसमेत बढ्ने धार्मिक विश्वास छ। संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडी ‘भ्रमर’का अनुसार हरियोलाई प्रेमको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ। हरियो रङ बुध ग्रहको समेत प्रतीक रहेको बताइन्छ। बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिने धार्मिक मान्यता छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved