जनकपुरधाम। जनकपुरधाममा प्रहरीले स्वास्थ्य सामग्रीको अवैध कारोबार भइरहेको आशंकामा छापा मारेर स्वास्थ्य सामग्रीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
भारतबाट अवैध रुपमा भन्सार नतिरी मेडिकल सामग्री ल्याएर राखेको जनकपुरधामस्थित एक घरमा धनुषा प्रहरीले छापा मारेको हो।
डीएसपी दिपक राई नेतृत्वको टोलीले जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिर नजिकै रहेको शुक्रबार दिउँसो छापा मार्दा ठुलो परिमाणमा मेडिकल सामग्री फेला परेको हो।
प्रहरीले उक्त घरबाट ठूलो परिमाणमा स्वास्थ्य सामग्रीहरु, एउटा भारतीय नम्बर प्लेटको कार र तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुमा भारतको मधुवनी जिल्ला जयनगर थाना बस्ने ५२ वर्षीय विपिन कुमार सिंह, दाउदपुर थाना बस्ने ६० वर्षीय शंकर सिंह र पटनाको हरनोद सिरसिया बस्ने २३ वर्षीय सुरज सिंह रहेको धनुषा प्रहरी प्रवक्त डीएसपी जितेन्द्र बस्नेतले बताए।
तीनै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment
Comment