इरानी महिलाले मंगलबार राष्ट्रव्यापी हिजाबविरोधी अभियान शुरु गरेका छन्।
हिजाबबिनाको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै उनीहरूले इस्लामिक रिपब्लिक अफ इरानको कडा हिजाब नियम तोडेका हुन्। यसका लागि सामाजिक सञ्जालमा No2Hijab ह्यासट्याग पनि चलाइएको थियो।
इरानमा महिलाहरूका लागि इस्लामिक हिजाब लगाउन अनिवार्य गरिएको छ।
महत्वपूर्ण कुरा के हो भने यी महिलाले विरोधका लागि १२ जुलाइ रोजेका थिए। इरानले यस दिनलाई ‘हिजाब र शुद्धताको राष्ट्रिय दिवस’ को रूपमा मनाउने गर्दछ। यस अवधिमा सरकारी संस्था र निकायहरूलाई पूरै हप्ता हिजाब प्रवर्द्धन गर्न निर्देशन दिइन्छ।
इस्लामिक ड्रेस कोडमा कडाइ बढ्यो
पछिल्ला केही महिनाहरूमा यहाँ सुरक्षा बलहरूले ड्रेस कोड कडाइका साथ लागू गर्ने प्रयास गरेका छन्। प्रदर्शनको दिन, इरान टेलिभिजनले ‘हिजाब र शुद्धता’ समारोहको भिडिओ प्रसारण गरेको थियो, जसमा १३ महिलाहरूले हरियो हिजाब र लामो सेतो लुगा लगाएका थिए।
यी महिलाहरू कुरानमा आधारित गीतमा नाचिरहेका थिए। जहाँ महिलाहरूलाई विशेष हेरिएको थियो। तर, सामाजिक सञ्जालमा यो भिडिओको खिल्ली पनि उडाइएको छ।
९ वर्षभन्दा माथिका महिलाले टाउको छोप्नु अनिवार्य छ
इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिदेखि हिजाबको नियम लागू भएको हो। यहाँको कानूनअनुसार ९ वर्षभन्दा माथिका युवती र महिलाले सार्वजनिक रूपमा टाउको छोप्नु अनिवार्य छ। तर, देशमा विभिन्न राष्ट्रपतिको शासनकालमा उनीहरूको कडाइ बढ्दो वा घट्दै गएको थियो।
इरान राष्ट्रपति इब्राहिम रायसीले हिजाब कानूनको विरोधलाई इस्लामिक समाजमा नैतिक भ्रष्टाचार भएको बताएका छन्। त्यैपनि महिलाहरूले रंगीन स्कार्फ लगाएर र कपाल देखाएर कानूनबाट बच्ने उपाय खोजेका छन्।
यस महिनाको शुरुमा इरानको उत्तरपूर्वी क्षेत्रमा आदेश जारी गरिएको थियो, जसमा हिजाब नलगाई महिलालाई कार्यालय र बैंक जान वा मेट्रो सेवा प्रयोग गर्न प्रतिबन्ध लगाउन भनिएको थियो।

Facebook Comment
Comment