श्रीलंकामा संकटकाल घोषणा

राष्ट्रपति गोटावाया राजापाक्षले देश छोडेर भागेपछि श्रीलंकामा संकटकाल घोषणा गरिएको छ। राष्ट्रपति राजापाक्षले बुधबार (आज) राजीनामा दिने अपेक्षा गरिएकोमा राजीनामा नदिई उनी देश छोडेर बाहिरिएपछि संकटकाल घोषणा गरिएको हो।

नेपालभ्युज

श्रीलंकामा संकटकाल घोषणा

काठमाडौं। राष्ट्रपति गोटावाया राजापाक्षले देश छोडेर भागेपछि श्रीलंकामा संकटकाल घोषणा गरिएको छ। राष्ट्रपति राजापाक्षले बुधबार (आज) राजीनामा दिने अपेक्षा गरिएकोमा राजीनामा नदिई उनी देश छोडेर बाहिरिएपछि संकटकाल घोषणा गरिएको हो।

२५ असारमा श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारीले राष्ट्रपति भवन घेर्न अघि बढेपछि राजापाक्ष राष्ट्रपति भवनबाट भागेका थिए। राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षले राजीनामा नदिएसम्म कब्जा गरिएको भवन नछोड्ने अडान राखेका थिए।

यसैबीच श्रीलंकाको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै राष्ट्रपति राजापाक्षले बुधबार पदबाट राजीनामा दिने बताइएको थियो। यद्यपि उनी राजीनामा बेगेर नै देश छाडेर भागेका हुन्। भागेर अमेरिका जान चाहे पनि अमेरिकाले शरण नदिने भएपछि राजापाक्ष माल्दिभ्यसको राजधानी माले पुगेका छन्। राजापाक्षले देश छोड्न भारतले सहयोग गरेको आशङ्का गरिएको छ।

यसअघि मंगलबार बिहान पनि राजापाक्षले देश छोड्ने प्रयास गरेका थिए। देश छोड्न विमानस्थल पुगेका उनलाई अध्यागमन विभागले फिर्ता पठाएको थियो। मंगलबार देश छोड्न नसकेका उनले बुधबार बिहान सेनाको हेलिकप्टर प्रयोग गरेर देश बाहिर गएका हुन्।

राजीनामा दिएपछि नयाँ प्रशासनले उनलाई कारबाही गर्नसक्ने भएपछि उनले राजीनामा नदिइकन नै देश छाडेर बाहिरिएका हुन्। श्रीलंकाको संविधान अनुसार राष्ट्रपतिले सभामुखसामु राजीनामा दिएपछि मात्रै नयाँ राष्ट्रपति चयन प्रक्रिया शुरु हुन्छ। राष्ट्रपतिले राजीनामा दिएसँगै नयाँ राष्ट्रपति नियुक्त नहुँदासम्म प्रधानमन्त्रीलाई नै कार्यावाहक राष्ट्रपतिको भूमिका दिने संवैधानिक व्यवस्था छ।

राष्ट्रपति राजापाक्षसँगै उनका भाइ बेसिल राजापाक्षले समेत देश छोडेका छन्। पूर्वअर्थमन्त्री रहेका उनको देश छोड्ने पहिलो प्रयास असफल भए पनि दोस्रो प्रयासमा उनी देश छोड्न सफल भएका हुन्। उनी अमेरिकातर्फ लागेको दाबी गरिएको छ।

देशको आर्थिक अवस्था कमजोर भएसँगै खाद्यान्न लगायत इन्धनमा आपूर्तिमा समस्या आएपछि गत अप्रिलमा पनि श्रीलंकामा ठूलो प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा सरकारी धनजनको क्षति भएको भन्दै सरकारले केही दिनका लागि संकटकाल घोषणा गरे पनि त्यो धेरै दिन टिक्न सकेको थिएन। उक्त समयमा बढेको प्रदर्शनसँगै प्रधानमन्त्री रहेका महिन्द्रा राजापाक्षले राजीनामा दिएका थिए। उनीसँगै महिन्द्राका भाइ बासिलले पनि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

राष्ट्रपति गोटावायाको राजीनामा आएसँगै आजै श्रीलंकाको संसदले नयाँ राष्ट्रपति चयनको प्रक्रिया थाल्ने भनिएको थियो। पदबाट राजीनामा नदिइ राष्ट्रपति राजापाक्षले देश छोडेपछि श्रीलंकाको राजनीतिक संकट के हुन्छ भन्ने थप अन्योल बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved