काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नहुने भएको छ। असारको अन्तिम साता अमेरिकाको औपचारिक भ्रमण गर्ने तयारी हुँदै गर्दा अन्तिम समयमा आएर प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण स्थगित भएको हो।
परराष्ट्र मन्त्रालयमा केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण ‘अपेक्षित’ रहेको बताएकी थिइन्। औपचारिक हिसाबमा घोषणा नहुँदै प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण गर्ने सम्भावना टरेको हो।
प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण हुने तय भए पनि औपचारिक रूपमा त्यसको जानकारी दिइएको थिएन। देउवाले अमेरिका भ्रमण गर्ने तयारी गर्दै गर्दा प्रतिनिधिसभा र प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको जानकारी दिनुपर्ने माग उठेको थियो। प्रधानमन्त्रीसँगै नेपाली सेनाको प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण गर्ने बताइएको थियो।
प्रधानसेनापति शर्माले अमेरिका भ्रमण गरेर स्वदेश फर्किसकेका छन् भने प्रधानमन्त्री देउवाको भ्रमण भने स्थगित भएको हो।
अमेरिकाको औपचारिक भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लीकेंनलाई भेट्ने बताइएको थियो। तर, अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री देउवाबीच एकल भेटवार्ताको सम्भावना कम भएपछि देउवाको अमेरिका भ्रमण स्थगित भएको जनाइएको छ। प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण स्थगित भएका विषयमा जानकार स्रोतका अनुसार अमेरिकी राष्ट्रपतिसँग एकल भेट हुने सम्भावना कम भएपछि देउवाको अमेरिका भ्रमण स्थगित भएको दाबी गरेको छ। यसअघि प्रधानमन्त्री देउवालाई अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रपति भवन ओवल हाउसमा भेट्ने बताइएको थियो।
स्रोतले अमेरिकी राष्ट्रपतिसँग भेट नहुने भएपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण नहुने बताए पनि नेपालले अमेरिकी स्टेट पाट्र्नरशीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने बताएसँग प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण स्थगित भएको हो।
देउवा नेतृत्वको सरकारले १७ फागुनमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गरेको थियो। एमसीसी संसदबाट पारित भएसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको चर्चा चलेको थियो। दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षको अवसरमा प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको औपचारिक भ्रमण गर्न जनाइएको थियो। सन् २००२ मा देउवा नै प्रधानमन्त्री हुँदा अमेरिकाको औपचारिक भ्रमण गरेसँगै नेपालका प्रधानमन्त्रीले अमेरिकाको औपचारिक भ्रमण गरेका छैनन्। दुई दशकपछि नेपालका प्रधानमन्त्रीले अमेरिकाको औपचारिक भ्रमण गर्ने बताइए पनि प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको हो।
नेपालले अमेरिकाको एक राज्यको सेनासँग गर्ने भनिएको एसपीपी सम्झौताबाट पछि हट्ने निर्णयले अमेरिका असन्तुष्ट रहेको छ। एसपीपीबाट पछि हट्दा अमेरिका असन्तुष्ट हुँदा नेपालको उत्तरी छिमेकी चीन भने नेपालसँग खुशी देखिएको छ। नेपालको चार दिने भ्रमणमा आइतबार काठमाडौं आएका चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका प्रमुख लिउ जियान्छाओले भने नेपालका कम्युनिष्ट पार्टीका नेताहरुसँगको भेटमा यस्तो खुशी व्यक्त गरेका हुन्।
सोमबार भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहितका अन्य नेतासँगको भेटमा लिउले यस्तो खुशी व्यक्त गरेका हुन्। यस्तै मंगलबार नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँगको भेटमा पनि उनले नेपालको एसपीपीमा सहभागी नहुने निर्णयप्रति उनले खुशी व्यक्त गरेका हुन्।
प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अनिश्चित बन्दा नेपालको चार दिने भ्रमणमा आएको चिनियाँ नेता लिउले देउवालाई चीन भ्रमणको निम्ता दिएका छन्। नोभेम्बरमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ कंग्रेसको अवसरमा सहभागी हुन प्रधानमन्त्री देउवालाई लिउले निमन्त्रणा दिएका हुन्।
Facebook Comment
Comment